लकडाउन कार्यान्वयनमा प्रहरीको थप सक्रियता

लकडाउन कार्यान्वयनमा प्रहरीको थप सक्रियता

विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को संक्रमण रोक्न नेपाल प्रहरीले मुलुकभर थप सक्रियता बढाएको छ । सरकारले जारी गरेको लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि प्रहरीले गाउँगाउँसम्म सक्रियता बढाएको हो । गृहको निर्देशनअनुसार पछिल्लो समयमा प्रहरीले लकडाउनलाई थप कडाइसमेत गरेको छ ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले लकडाउनका बेला व्यक्तिलाई घरबाट बाहिर निस्कन नदिन र पासबिनाका सवारी आवागमनमा रोक लगाउन मातहतका प्रहरीलाई आवश्यक निर्देशन दिएको बताए । कालोबजारी नियन्त्रण गर्ने, लकडाउन पालना गराउने तथा अनुगमन गर्ने एवं उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिने काममा प्रहरी सक्रिय रहेको प्रहरी महानिरीक्षक ज्ञवालीको भनाई छ ।

प्रहरीले करिब ३५ हजारपटक माइकिङ गरेर सचेतनामूलक कार्यक्रम गरेको जानकारी दिँदै उनले अपराध अनुसन्धान, अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका साथै विपद् र विषम परिस्थितिबाट सिर्जित घटना रोक्न योजनाबद्धरूपले काम अघि बढाइएको बताए । 

लकडाउनको कार्यान्वयन अनुगमनका लागि आधुनिक प्रविधि (ड्रोन) को समेत प्रयोग गरी प्रहरीले गतिविधिको निगरानी गरिरहेको छ । पहिलोपटक घरबाट बाहिर निस्केका व्यक्तिलाई लकडाउनको जानकारी गराएर जहाँबाट आएको हो त्यहीँ फिर्ता पठाउने र पुनः दोहोर्याएर आएमा आवश्यक कारवाही गर्ने गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी महानिरीक्षक ज्ञवालीले भने, 'लकडाउन आदेशलाई अन्य निकायसँग समन्वय गरी नेपाल प्रहरीले पूर्णरूपमा समन्वयात्मक भूमिका र कार्यान्वयन गरिरहेको छ ।' कोरोनाको सङ्क्रमणलाई रोक्न सामाजिक दूरी कायम गर्नु महत्वपूर्ण हुन्छ । 

लकडाउन कार्यान्वयनमा खटिने प्रहरीसमेत उच्च जोखिममा छ । यस अवस्थामा सुरक्षित हुनका लागि मास्क, स्यानिटाइजरको प्रयोग गर्न सकिन्छ । आवश्यक औषधि उपचारका लागि नेपाल प्रहरी अस्पतालले विशेष व्यवस्था गरेको समेत प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले प्रहरीका लागि नेपाल प्रहरी अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरेका बताए । लकडाउनको अवस्थामा अधिकतम जनशक्ति खटाउने उद्देश्यअनुरुप विभिन्न प्रशिक्षणमा रहेका प्रहरी जनशक्तिलाई जुनसुकै अवस्थामा पनि आवश्यक स्थानमा खटाउन सकिने गरी तयारी अवस्थामा राखिएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्सालले हाल तालिम स्थगन गरी प्रहरी कर्मचारीलाई लकडाउनको कार्यान्वयनका लागि खटाइएको जानकारी दिए । सम्भावित अवाञ्छित गतिविधिबारे चनाखो हुँदै स्वास्थ्यकर्मी, अस्पताल, भीडभाड व्यवस्थापनमा प्रहरीले सक्रियता बढाएको जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.