लकडाउनमा मेलुङ गाउँपालिकाको निशुल्क एम्बुलेन्स सेवा
चरिकोट : दक्षिणी दोलखाको मेलुङ गाउँपालिकाले ३३ बिरामीलाई ३३ पटक निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । लकडाउन अवधिभर गाउँपालिकाको विभिन्न स्वास्थ्य संस्थामा पुगेका बिरामीको उपचार सम्भव नभएर रिफर गरिएका ३३ जनालाई ३३ पटक गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । मेलुङ गाउँपालिकाबाट राजधानी काठमाडौंसम्मका सबै दूरीमा रिफर गरिएका बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकरका अनुसार बिहीबारसम्ममा ३३ जना बिरामीलाई किर्नेटार, सदरमुकाम चरिकोट तथा राजधानीसम्म निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । पालिकामा रहेका स्वास्थ्य चौकीमा उपचार हुन नसकेर रिफर गरिएका ३३ जना बिरामी तथा गर्भवतीले निशुल्क एम्बुलेन्स सेवा पाएका छन् ।
गाउँपालिकाद्वारा लकडाउन अवधिभरका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता थोकरले जानकारी दिए । गाउँपालिमा भित्रका स्वास्थ्यचौकीबाट रिफर गरी किर्नेटारमा ६, चरिकोटमा ९ र काठमाण्डौंमा १८ बिरामीलाई पुर्याउन निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको प्रवक्ता थोकरले जानकारी दिए ।
उनकाअनुसार प्रसूतिका लागि रिफर गरिएका ८ महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको थियो । नियमानुसार गाउँपालिकाभित्रका स्वास्थ्यचौकीमा उपचार हुन नसकेको खण्डमा स्वास्थ्यकर्मीले रिफर लेटर लेख्छन् । त्यसरी रिफर लेटर लेखिएको आधारमा सो स्थानसम्म एम्बुलेन्सलाई निशुल्क रुपमा पठाउने व्यवस्था गाउँपालिकाले गरेको हो ।
'एक स्वास्थ्य संस्थादेखि अर्को स्वास्थ्य संस्थासम्म वा स्वास्थ्य संस्थाबाट बिरामीको घरसम्म लैजान-ल्याउन बन्दाबन्दीमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । निशुल्क सेवा दिन गाउँपालिकाले २वटा एम्बुलेन्स तैनाथ गरेको उनले जनाए । त्यसैगरी चालकलाई सुरक्षाको प्रत्याभूति दिन पीपीईलगायतका सुरक्षा सामग्री उपलब्ध गराइएको उनले बताए ।
गाउँपालिकाले एम्बुलेन्स पुग्नु पर्ने विभिन्न स्थानका लागि निर्धारण गरेको भाडादरअनुसार किर्नेटारसम्मको एकहजार, चरिकोटसम्मको लागि २५ सयदेखि तीनहजारसम्म र काठमाडौंसम्मको ९ देखि १० हजारसम्म लाग्ने गरेको छ ।
गाउँपालिकाले ती सबै स्थानमा लकडाउन अवधिभर निशुल्क एम्बुलेन्स उपलब्ध गराएको छ । पालिकामा ५ वटा स्वास्थ्य चौकी र ४ वटा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !