‘नेसनल स्वीटहार्ट’को बिदाइ

‘नेसनल स्वीटहार्ट’को बिदाइ

पृथ्वीराज कपूर को नाति। राजकपूर को छोरा। नितु कपूर को श्रीमान्। रणवीर कपूर को बुबा। अनि म ऋषि कपूर। म जन्मँदा पनि भाग्यमानी थिएँ र जीवनभर भाग्यमानी नै रहेँ। 

ऋषि कपूर ले मीना ऐयरसँग मिलेर लेखेको आत्मकथा ‘खुल्लम खुल्ला’मा आफूले आफैंलाई यसरी परिचित गराएका छन्। तर, ऋषि कपूर को भाग्य स्टारहरूको घरमा जन्म लिएर मात्र सार्थक भएको थिएन, उनी आफैं पनि स्टार थिए। र यो स्टारडम उनले न राजकपूर को छोरा भएर पाएका थिए, न रणवीर कपूर को बुबा भएर। जे पाएका थिए, मेहनत र लगनले पाएका थिए।

ऋषि कपूरका हजुरबा पृथ्वीराज कपूर बलिउडको पहिलो पुस्ताका अब्बल अभिनेता थिए। आफ्नो समयमा पृथ्वीराज कपूर ले मुगल आजम, आलम आरा, द्रौपदी, विद्यापति, आवारा जस्ता सुपरहिट फिल्ममा अभिनय गरेका थिए भने उनले स्थापना गरेको पृथ्वी थिएटर मुम्बईमा थिएटरको जग बसाउने थिएटर कम्पनी मानिन्छ। भनिन्छ, यहाँ मञ्चन भएका केही नाटकमा दूधे बालक ऋषि कपूर चरित्रको रूपमा कुनामा कतै सुतिरहेका हुन्थे। 

उनको अभिनयको लगावको अर्को किस्सा पनि कपूर परिवारमा चर्चित थियो। एक साँझ राज कपूरले आफूले पिइरहेको ह्विस्किीको केही थोपा ऋषि कपूरलाई चटाइदिए। ऋषि कपूर ऐना अगाडि गएर रक्सी लागेको अभिनय गर्न थाले। 

तीन वर्षको हुँदा त उनले क्यामरामै अभिनय थालिसकेका थिए। पिता राज कपूर र नरगिस अभिनित ‘श्री ४२०’को ‘प्यार हुआ एकरार हुआ’ बोलको गीतमा ऋषि अरु दुई बच्चासँगै केही सेकेन्डका लागि पर्दामा देखिन्छन्। यसपछि उनले १८ वर्षको उमेरमा ‘मेरा नाम जोकर’मा राज कपूरको बाल्यकालको भूमिका गरेका थिए जसबाट उनले बालकलाकारकारूपमा राष्ट्रिय पुरस्कार पनि जितेका थिए। सन् २०७३ मा रिलिज भएको ‘बबी’ मुख्य अभिनेताकारूपमा ऋषिको पहिलो फिल्म थियो। 

लताले ६ महिनाका ऋषि कपूर लाई काखमा लिएको फोटो सार्वजनिक गर्दैै गरेको ट्वीट यतिबेला बलिउडमा चर्चामा छ।

ऋषि कपूरले जतिबेला करिअर सुरु गरे, त्यतिबेला बलिउडमा अमिताभ बच्चन नामक आँधीको दबदबा थियो। अमिताभपछि बचेका खुचेका फिल्ममा धर्मेन्द्र,शत्रुघ्न सिन्हा र विनोद खन्ना अटाउँथे। यस्तो समयमा ऋषि कपूर भने लभरब्वाईको इमेजसाथ मैदानमा आएका थिए। ‘बबी’ रिलिजपछि उनको इमेज ‘नेसनल स्वीटहार्ट’को बनेको थियोजसबाट उनले सन् २००० पछि मात्र छुटकारा पाए। सन् २००० पछि भने उनले सहायक अभिनेताकारूपमा आफूलाई श्रीमान्देखि डन हुँदै हजुरबासम्ममा प्रस्तुत गरेका थिए। 

पछिल्लो समय शाहरूख खानलाई ‘रोमान्स किङ’ भन्ने गरे पनि ऋषि शाहरूखले रोमान्स सिकेको स्कुलका हेडमास्टर थिए। अझ रमाइलो त के थियो भने शाहरुखले ऋषिकै फिल्म ‘दिवाना’बाट बलिउडमा इन्ट्री मारेका थिए। त्यो समयमा ऋषि अधिकांश फिल्ममा एक हातमा गितार र एक हातमा हिरोइन च्यापेर सुमधुर गीत गुनगुनाउँदै गरेका भेटिन्थे। गितार र कलरफूल स्वेटर ७० र ८० को दशकमा ऋषि कपूर को फेसनका पर्याय बनेका थिए। 

बलिउडमा ऋषिको करिअरलाई समीक्षकहरूले दुई भागमा बाँडेर हेर्ने गरेका छन्। पहिलो भाग सन् १९७३ देखि २००० सम्म र दोस्रो भाग २००० देखि २०२० को अप्रिल ३० सम्म। बिहीबार मुम्बईको अस्पतालमा अन्तिम सास लिनुअघि उनले गरिरहेको एउटा फिल्मको सुटिङ बाँकी थियो भने चाँडै नै एउटा हलिउड फिल्मको रिमेकमा काम गर्ने तय भएको थियो। जीवनकालमा लगभग १ सय ३५ फिल्ममा अभिनय गरेका उनले एउटा फिल्म निर्देशन गरेका थिए। ‘अग्निपथ’, ‘डिडे’, ‘दो दुनी चार’ ‘कपूर  एन्ड सन्स’ उनले अभिनय गरेका राम्रा फिल्म मानिन्छिन्। 
लता मंगेसकरले ६ महिनाका ऋषि कपूर लाई काखमा लिएको फोटो सार्वजनिक गर्दैै गरेको ट्वीट यतिबेला बलिउडमा चर्चामा छ। तर, लता मंगेसकरले धेरै वर्ष पहिले नै ऋषि कपूर लाई कपूर खानदानमा सबैभन्दा ‘होनहार’ कलाकार भएको बताएकी थिइन्। नभन्दै ऋषि कपूर ले अभिनयमा जुन विविधता देखाए त्यो कपूर खानदानमा ‘भूतो न भविष्यति’ थियो।

ऋषि कपूर लाई पछिल्लो समय दर्शकले स्वाभाविक कलाकारसँगै स्पष्टवक्ता अभिनेताकारूपमा पनि स्मरण गर्ने गरेका थिए। प्रेससँग साक्षात्कार हुँदा होस् वा सामाजिक सञ्जालमा उनले तिखो टिप्पणी गर्ने गरेका थिए। उनले रक्सी पिउने कुरा खुल्लम खुल्ला स्वीकार गरेका थिए भने छोरा रणवीरसँग आफ्नो कुरा नमिल्ने पनि हाक्काहाक्की भन्ने गरेका थिए। एक पटक त उनले रणवीरको अफेयरबारे प्रश्न सोध्ने पत्रकारलाई मुखभरिको जवाफ दिएका थिए ‘म रणवीरको बाउ हुँ। खबर भन्नलाई उसको सेक्रेटरी होइन।’ तर, ऋषिको आत्मकथाको प्राक्कथन लेखेका रणवीरले ऋषि कपूर लाई बाहिर देखिने जस्तो मुखाले र घमण्डी नभई रिजर्भप्रकृतिको मानिसकारूपमा टिप्पणी गर्ने गरेका छन्। 

सन् २०१७ मा प्रकाशित ऋषिको ‘खुल्लम खुल्ला’ले त्यो समय बलिउडमा तरंग ल्याएको थियो। उनले पुस्तकमा आफ्नै बुबा राजकपूर को विवाहित हुँदाहुँदै पनि वैजयन्ती माला र नरगिससँग अफेयर रहेको कुराको खुलासा गरेका छन्। पुस्तकमा उनले राजेश खन्नादेखि अमिताभ बच्चनसँग मनमुटाव भएको कुरा पनि उल्लेख गरेका छन्। ‘बबी’की हिरोइन डिम्पल कपाडियासँग अफेयरको शंकामा राजेश खन्नाले आफूलाई मननपराउने र ‘बबी’कै लागि फिल्म फेयरको पुरस्कार किनेका कारण अमिताभ आफूसँग रिसाएको पुस्तकमा चर्चा गरेका छन्। ऋषिको बबी र अमिताभको दिवार एकै साल रिलिज भएका थिए। ऋषि कपूरका अनुसार अमिताभ बच्चन आशमा थिए कि बेस्ट एक्टरको अवार्ड आफूले पाउँछु तर पाए उनले। उनले पुस्तकमा लेखेका छन्, ‘यो बताउँदा मलाई लाज लागेको छ कि यो अवार्ड मैले किनेको थिएँ। एकजना पिआरले ३० हजार दिनुभयो भने अवार्ड दिलाइदिन्छु भनेको थियो। मैले दायाँबायाँ नसोची पैसा दिएँ।’ उनले ‘अमर अकबर एन्थोनी’ गर्दासम्म पनि अमिताभ आफूसँग नबोल्ने तर यो फिल्मपछि गहिरो दोस्ती रहेको बताएका थिए। पछि त ऋषिका साख्खै भान्जा निखिल नन्दाले अमिताभकी छोरी श्वेता बच्चनसँग बिहे गरेका थिए। अघिल्लो साल मात्र ऋषि र अमिताभले एकसाथ खेलेको फिल्म ‘१०२ नटआउट’ शीर्षकको फिल्म रिलिज भएको थियो।यो फिल्ममा अमिताभ ७६ वर्षे ऋषिकापिता बनेका छन्। 

ऋषि कपूर सन् १९८९ मा खिचिएको फिल्म ‘खोज’को सुटिङका लागि नेपाल आएका थिए। नसीरुद्धिन शाह, डेनी, किमिकाटकर कलाकार अभिनित फिल्म धुलिखेलमा सुटिङ गरिएको थियो। केही वर्ष पहिले उनले ट्वीटरमा फिल्मको पोस्टर सेयर गर्दै फिल्म नेपालका लागि समर्पण गरेको उल्लेख गरेका थिए।
यो साँच्चो हो, उनले जीवनकालमा हल्काफुल्का रोमान्टिक फिल्ममा ज्यादा काम गरे। तर, जे गरे स्वभाविताका साथ गरे, सहजताका साथ गरे। त्यसैले ‘नेसनल स्वीटहार्ट’कारूपमा सुरु भएको उनको करिअर ‘इन्टरनेसनल स्वीटहार्ट’का रूपमा टुंगियो। उनको अभाव आज बलिउडले मात्र महसुस गरेको छैन, दक्षिण एसियाका धेरै दर्शकले गरिरहेका छन्।
@samipya13


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.