विवाहका लागि यस वर्ष १८ मात्र मुहूर्त, कुन-कुन महिनामा छ लगन ?

विवाहका लागि यस वर्ष १८ मात्र मुहूर्त, कुन-कुन महिनामा छ लगन ?

काठमाडौं : वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि वि.सं. २०७७ मा जम्मा १८ वटा मात्र लग्न निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी अर्थात् सातवटा लग्न निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। वैशाखको १३, १४, १९, २०, २२, २३ र २५ गते लग्न जुरेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा पनि उल्लेख छ। 

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका क्रममा यी सबै लग्न सकिनेछन्। गत चैत ११ गतेदेखि कोभिड–१९ को सङ्क्रमणबाट बच्न सरकारले बन्दाबन्दी गरेको छ। वैशाख २५ गतेपछि पनि बन्दाबन्दी बढ्ने सम्भावना हुनसक्छ। पहिलो महिनामा दिइएको वर्षकै सबैभन्दा बढी विवाहको लग्न बन्दाबन्दीमै सकिने भएपछि यो वर्ष लगनगाँठो कस्ने योजना बनाइरहेका युवायुवती प्रभावित हुने भएका छन्।

यसैगरी जेठको ४, ५, १० र ३१ गते गरी चारवटा लग्न छ। असारमा ११, १३ र १४ गते तीनवटा मात्र लग्न छ। मङ्सिरको १६, २१, २२ र २६ गते गरी चारवटा मात्र लग्न निस्किएको समितिले जनाएको छ। यस वर्ष मङ्सिरपछि विवाहको लग्न छैन। माघ र फागुनमा बृहस्पति एवं शुक्र ग्रह अस्त हुने भएकाले विवाहको लग्न ननिस्किएको अध्यक्ष गौतमले सुनाए।

 
यस वर्ष जेठ १७ गते शनिबार पश्चिममा शुक्र अस्त भई २६ गते सोमबार पूर्वमा उदय हुन्छ। यसैगरी माघ ४ गते आइतबार बृहस्पति पश्चिममा अस्त भई फागुन २ गते आइतबार नै पूर्वमा उदाउने छ। माघ ३० गते शुक्रबार शुक्र पूर्वमा अस्त भएपछि वि.सं. २०७८ लागेपछि मात्र उदाउने भएकाले यस वर्ष माघ र फागुनमा विवाह एवं व्रतबन्धका साइत ननिस्किएको समितिले जनाएको छ। यसैकारण चैतमा व्रतबन्धको साइत पनि छैन। 

बृहस्पति (गुरु), शुक्र अस्त भएका बेला गृहप्रवेश, घर निर्माण आरम्भ (गृहआरम्भ), सप्ताह श्रवण, यज्ञयागादिलगायत शुभकर्म पनि गर्नुहुँदैन। 'गुरु, शुक्र अस्तका बेला नित्यरूपमा गरिने पूजा, पाठ, जप आदि गर्नुहुन्छ, यसैगरी नैमित्तिक रूपमा गरिने श्राद्ध, काजक्रिया, बालक जन्मँदा जातकर्म गर्नुहुन्छ, कुनै फलको कामना राखेर गरिने काम्य कर्म गर्नु हुँदैन, यसैले विवाह, व्रतबन्ध, गृहप्रवेश, गृहारम्भको साइत नदिइएको हो', उनले भने।

विगत वर्षमा माघ र फागुनमा समेत विवाहको मुहूर्त हुन्थ्यो। महिनाका हिसाबले माघ र फागुन विवाह गर्न हुने नै महिना हुन्। गत वर्ष विसं २०७६ मा भने विवाहका ६६ लग्न थिए। 

व्रतबन्धका चार मुहूर्त

यसैगरी यस वर्ष व्रतबन्धको मुहूर्त पनि चार वटा मात्र छ। वैशाख २१ र २२ गते, जेठ १२ एवं असार ११ गतेमा मात्र व्रतबन्धको लग्न जुरेको समितिका सदस्य सचिव एवं पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए। गत वर्ष भने व्रतबन्धका साइत १२ वटा थिए। गत वर्षहरुमा माघ, फागुन र चैतमा पनि व्रतबन्धका मुहूर्त दिइएको हुन्थ्यो।
 
वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया, आश्विन शुक्ल पक्षको नवरात्र, मार्गशीर्ष पञ्चमी अर्थात् विवाह पञ्चमी र माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीका दिन साइत नभए पनि विवाह गर्न हुने भन्ने धारणा शास्त्रीय नरहेको पञ्चाङ्गकार सूर्यनाथ पन्तले बताए। यी दिनमा पनि विवाह, व्रतबन्धजस्ता शुभकर्मको साइत जुर्ने भए पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिने गरेको जानकारी पनि उनले दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.