संसदमा सरकारको पक्षमा प्रस्तुत हुन नेकपाका सांसदलाई प्रधानमन्त्रीको लिखित निर्देशन
काठमाडौं : संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा सरकारको पक्षमा प्रस्तुत हुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदलाई लिखित निर्देशन दिएका छन् ।
शुक्रबार प्रधानमन्त्री ओलीले सांसदहरुलाई सरकारको पक्षमा उभिन लिखित निर्देशन दिएका हुन्। शुक्रबार बिहान प्रधानमन्त्री ओली आफू निकट नेताहरुसँग छलफलमा जुटेका थिए।
'संसदका दुवै सदनका बैठकहरु छोटा छरिता र मर्यादित एवम विषय केन्द्रित हुनुपर्ने र संसदमा हाम्रो दलको एकता र विषयगत एकरुपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरुले बुझ्नु नै भएको छ। अन्य साना भेटघाट छलफल औचित्य आवश्यकता र संभावना हेरी आयोजना गरिने नै छ,' प्रधानमन्त्री ओलीले भनेका छन्,' विगतमा जस्तै य संसद अधिवेसनमा पनि सक्रिय,समझदारीपूर्ण र एकतावद्ध प्रयासका साथ अघि बढ्न म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका सबै माननीयज्यूहरुमा अनुरोधका साथ निर्देशन गर्दछु।'
संघीय संसदको बजेट अधिवेशन आज प्रारम्भ हुँदैछ। दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आजै अपरान्ह बस्दैछ। कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न दुवै सदनको बैठक कक्षमा स्वास्थ्य सुरक्षाका सबै माफदण्ड अपनाइएको छ।