नदीले बगाएर गोरखामा दुई बेपत्ता
गोरखा : नदीले बगाएर गोरखामा दुई जना बेपत्ता भएका छन्। त्रिशूली नदीले बगाएर १४ वर्षीय बालक र मस्र्याङ्दी नदीले बगाएर १९ वर्षीय किशोर बेपत्ता भएको डिएसपी बासुदेव खतिवडाले जानकारी दिए।
गण्डकी गाउँपालिका-१ पाङखोलाका १४ वर्षीय विकास चेपाङ आइतबार दिउँसो एक बजेतिर त्रिशूलीले बगाएर बेपत्ता भएका हुन्। बुबा रुद्रबहादुर चेपाङसँग नदीमा माछा मार्ने क्रममा उनलाई बगाएर बेपत्ता बनाएको डिएसपी खतिवडाले जानकारी दिए।
बाग्लुङ जिल्लाको बरेनडाँडा गाउँपालिका १ का १९ वर्षीय कृष्णबहादुर पुन मगरलाई मस्र्याङ्दी नदीले बगाएर बेपत्ता बनाएको हो। गोरखाको सहिद लखन गाउँपालिका ३ भुवनटारस्थित मस्र्याङ्दी नदीको छेउमा पौडी खेल्ने क्रममा नदीले बेपत्ता बनाएको डिएसपी खतिवडाले जानकारी दिए।
उनीहरु दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !