फर्केका नेपाली भन्छन्, ‘नेपालमै रोजगार चाहियो’

फर्केका नेपाली भन्छन्, ‘नेपालमै रोजगार चाहियो’

 धनगढी : हातमा एउटा सानो झोला, मुखमा कालो कपडाको मास्क, अलिअलि मैला लुगा तर मुहार हँसिलो पार्दै आए बैतडीको पुर्चौंडी नगरपालिका–८ पिलाडीका २७ वर्षीय विनोद कुँवर। 

कैलालीसँग सीमा जोडिएको गौरीफन्टा बर्डरमा एसएसबीले ‘इन्ट्री’ गरेपछि नेपाल भूमि टेकेका उनले लामो सास लिँदै भने, ‘अब त जति दिन क्वारेन्टाइन राखे पनि केही छैन।  जन्मभूमिमा मर्न पाएपछि आनन्द। ’

भारतको हरियाणा राज्यको सोनीपतमा मार्केटिङको काम गर्ने उनी, सात दिनको गाडी र पैदल गरी भारतको पलिया पुगेका हुन्।  शुक्रबार ४० दिन भयो, उनी पलियाको बलदेव इन्टर कलेजमा क्वारेन्टाइन बसेको।  भन्छन्, ‘नेपालमा रोजगार पाउने भए किन जान्थ्यौं, अर्काको देशमा ? ’

जन्मभूमि टेकेकोमा खुसी हुँदै उनले भने, ‘हामीजस्ता लाखौं मानिसले आफ्नो राज्य खोजिरहेका छन्।  हाम्रो मुलुक आउन नपाए कहाँ जाने ? अरू सबैलाई सरकारले यस्तै चेकजाँच गरेर देश फिर्ता ल्याउनुपर्छ। ’

कुँवरसहित बैतडीका १७ जना युवक एकै ठाउँबाट सँगसँगै पलिया पुगेका हुन्।  सँगैका २४ वर्षका युवक करन बम भन्छन्, ‘नेपालमा काम पाएको भए, भारत को जान्थ्यो र ? ’ उनले अब आफ्नै भूमिमा केही न केही गर्ने बताए। भारतबाट शुक्रबार स्वदेश फर्किने बैतडी, डडेलधुरा, कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिमका विभिन्न जिल्लाका ४७२ जनाको नाम ठेगाना कैलाली प्रशासनसँग आइसकेको छ।  १६५ जना सीमा क्षेत्र नजिकै पलिया क्वारेन्टाइनमा बस्दै आएका थिए भने बीचबाटोमा पनि भारतले क्वारेन्टाइनमा बसाएका र अलपत्र परेकाहरू पनि नेपाल फर्किरहेका छन्। 

परिवारसहित कैलालीको मसुरियाबाट भारतको बरेलीमा उखु पेल्ने काममा गएकी मायादेवी चौधरी भन्छिन्, ‘हाम्रो देशमा उखु पेल्नेजस्तो मजदुरी गर्न पनि पाइँदैन, अनि भारत नगई कहाँ गएर पेट पाल्नु ? ’ मायादेवीले नेपाल टेकेपछि साह्रै खुसी लागेको बताइन्।  ‘म त आउन पाइने हो कि नाइँ भनेर चिन्तामा थिए, अहिले धेरै खुसी लागेको छ, परिवारका मान्छेसँग भेट हुन्छ, नेपालमा कोरोना कम छ, अब बाँचिने आशा आएको छ’, मुस्कुराउँदै उनले भनिन्। भारतबाट फर्किनेमा अधिकांश ३५ वर्षमुनिका युवा छन्।  डडेलधुराको अजयमेरु गाउँपालिकाका २३ वर्षकै रतन ऐरले पनि नेपाल पुगेपछि साह्रै खुसी लागेको बताए।  उनले भने, ‘नेपाल सरकारलाई धन्यवाद छ। ’ रतन पनि भारतको बरेलीमा काम गर्छन्।  ‘सामान्य मजदुरी गर्छु, त्यस्तो मजदुरी नेपालमा त पाइँदैन’, उनले भने, ‘अब सरकारले नेपालमै रोजगारीको व्यवस्था गर्नुपर्छ। ’

भारतको पलियामा ५३ दिनदेखि क्वारेन्टाइन बसेका सयभन्दा बढी व्यक्ति नेपाल आएका छन्।  उनीहरू भन्छन्, ‘खानाको व्यवस्था त ठिकठाकै थियो तर राति लामखुट्टेले हैरान बनाउँथ्यो। ’कैलालीको गोदावरी नगरपालिका–४ का टेकेन्द्र रानालाई त कैलालीको फूलबारीबाट समातेर सशस्त्र प्रहरीले क्वारेन्टाइनमा पुर्‍याएको हो।  उनी, त्यसपछि भारतको पलियामा रहेको बलदेव इन्टर कलेजमा ४६ दिन क्वारेन्टाइन बसे। 

भारतको शाहजहाँपुरमा काम गर्ने उनी भन्छन्, ‘कोरोनाका कारण कम्पनी बन्द भएपछि अब देश फर्किनेको संख्या ह्वात्तै बढ्छ।  तर लाखौंको रोजगार खोसिएपछि, नेपालमा के गर्ने भन्ने चिन्ता छ।  त्यसैले सरकारले नेपालमा रोजगार सिर्जना र उत्पादनमुखी योजना बनाउनुपर्छ। ’भारतबाट फर्केका नेपालीको सीमा क्षेत्रमै नेपालपट्टि आरडीटी टेस्ट गरिएको छ।  कैलाली र कञ्चनपुरका व्यक्तिलाई शुक्रबार नै स्थानीय तहसँग समन्वय गरेर पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जोशीले बताए। 

‘कैलाली बहुमुखी क्याम्पस र भन्सार छेउमै रहेको नवदुर्गा माविमा क्वारेन्टाइन बनाइएको छ।  कैलाली, कञ्चनपुरबाहेक पहाडी जिल्लाका व्यक्तिलाई शनिबार स्थानीय तहसँग समन्वय गरेर पठाइनेछ।  गाडी पाइयो भने शुक्रबार रातिसम्म पनि पठाउन सकिन्छ’, प्रवक्ता जोशीले भने। 

दुवै देशका स्थानीय प्रशासनको समन्वयमा एकअर्का देशमा रहेका नागरिकलाई स्वदेश लैजाने सहमतिअनुसार शुक्रबार दिनभरि गौरीफन्टा नाका खुलेको हो।  नेपालबाट पनि ५ सयभन्दा बढी भारतीय नागरिक भारत पसेका छन्।  तस्बिर – शिवराज भट्ट


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.