गण्डकीका मुख्यमन्त्रीलाई पत्र : दुर्घटनामा अपांगता भएकी स्वास्थ्यकर्मीमाथि अन्याय किन?
माननीय मुख्यमन्त्री ज्यू,
गण्डकी प्रदेश, पोखरा
हुन त तपाई कहाँ दैनिक दर्जनौँ यस्ता पत्रहरु आउलान् । ती पत्रहको अनुक्रममा यस्ता पत्रहरु पढ्ने फुर्सद सायदै होला ? या यसले अर्थ राख्छ राख्दैन ? यसको मर्म र सन्देश तपाईकहाँ पुग्छ पुग्दैन ? त्यो पनि थाहा छैन । तर, अप्रिय दुर्घटनापछि तपाईकै प्रदेश मातहतमा रहेको अस्पतालमा एक स्वास्थ्यकर्मीले खेपिरहेको दुखान्त दृश्यले अचाक्ली पीडा भएपछि तपाईसमक्ष केही प्रश्न र सूचनासहित यो पत्र प्रेषित गरेको छु।
धौलागिरी अञ्चल अस्पताल बागलुङमा सिनियर अहेवको रुपमा कार्यरत कविता शाक्य, जसले २० वर्ष नागरिकको स्वास्थ्य सेवा गरेर विताइन्। जब दुर्घटनामा परिन् त्यसपछि निकै सकसपूर्ण जीवन बिताइरहेकी छिन् ।
दुर्घटना पछिको शारीरिक पीडा छँदैछ तर त्यो भन्दा भयानक पीडा त एक सकुशल स्वास्थ्यकर्मी दुर्घटनाबाट अपांग भएपछि आफू कार्यरत अस्पताल व्यवस्थापन समिति र उच्च पदस्थ व्यक्तिहरुले गरेको अपमान र अन्यायबाट भोगिरहेकी छिन्।
घटना यस्तो थियो
२०७१ साल असार १९ गत कार्यालयको कामकै शिलशिलामा काठमाडौं गएर बागलुङ फर्कँदै थिइन् । फर्किने क्रममा उनी चढेको माइक्रोबस तनहुँको दमौलीनजिकै दुर्घटना भयो।
दुर्घटनामा कविता, उनका श्रीमान तीर्थराज श्रेष्ठ र नाबालक छोरा दुर्घटनामा परे । उनीहरुले छोरा गुमाए। दुर्घटनाको चार महिनामा उपचारपछि कविता जिल्ला फर्किएर अस्पतालमै काम गर्न थालिन् । शारिरिक जटिलता बढ्दै गएपछि २०७४ साल भदौ २० गते उपचारका लागि काठमाडौं गइन् । मंसिरमा फर्किँदा हिँड्डुलमा समस्या भो।
त्यसपछि पुस २४ गते अपांगमैत्री कामकाज गरिपाउँ भनेर अस्पतालमा निवेदन दिइन् । अस्पतालले निवेदनका आधारमा अस्पतालको बिमा क्लेमको इन्ट्रि गर्ने काम गर्न निर्देशन दियो।
उनले अस्पताल परिसरबाहिर रहेको क्वाटरको दोस्रो तलाको कोठाबाटै काम गरिरहिन् । अस्पतालमा नयाँ व्यवस्थापन समिति आयो । समितिले कोठामै आएर उनको अवस्था बुझ्दै विशेष व्यवस्था र सहयोग गर्ने आश्वासन दिए । समिति मात्रै होइन, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री, निर्देशकदेखि अन्य उच्च पदस्थमार्फत अस्पतालमा अपांगमैत्री वातावरण तयार गर्ने बचन पाइरहिन् । तर, २०७६ भाद्र २७ गतेदेखि अस्पताल समितिको वचन उल्टियो । उनलाई हाजिरी गर्न रोकियो । खाइपाइ आएको तलब बन्द भयो । उनले २० वर्षदेखि दिन रात नभनी कार्यालय समय भन्दाबाहेकमा पनि सेवामा खटिन्थिन् । ती सबैलाई वेवास्था गरियो । संविधानको मर्म र स्वास्थ्य सेवा ऐन, नियम र निर्देशिकामा उल्लेख गरिएको अपांगमैत्री विशेष व्यवस्था सबैलाई धज्जी उडाइयो।
मुख्यमन्त्री ज्यू,
कविता निश्चय पनि सपांग अवस्थामा जस्तो अहिले सक्रिय हुने अवस्था छैन । तर, नेपालको संविधानले अपांगता भएकालाई विशेष अवसरसहितको व्यवस्था गर्ने परिकल्पना गरेको छ । निजामति सेवा ऐनमा पनि अपांगता भएको कर्मचारीका लागि बिशेष व्यवस्था गरिएको छ।
अपांगता भएको कर्मचारीको पदस्थापन वा सरुवा गर्दा निजको अपांगताको अवस्थालाई ध्यान दिई सम्भव भएसम्म उपर्युक्त स्थानमा गरिनेछ भनिएको छ।
अपांगता भएको कर्मचारीको सहजताका लागि कार्यालयको भौतिक संरचना अपांगमैत्री बनाउन तथा निजको कामलाई सहजीकरण गर्न कार्यालय प्रमुखले आवश्यक व्यवस्था गर्नुपर्नेछ।

तर,गण्डकी प्रदेशकै उपप्रादेशिक अस्पतालमा बनाउन लागिएको धौलागिरी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले दुर्घटनापछिको अपांगता जीवन र त्यही कारणले भोग्नुपरेको अन्याय र पीडामा मुख्यमन्त्री ज्यू बेखबर बन्न मिल्दैन। म विश्वस्त छु कि विगतका तपाईका काम र कदमबाट यो संवेदनशिल विषयमा तत्काल चासो र पहल कदमी लिनु हुनेछ । र यदी स्वास्थ्यकर्मी शाक्यले दुर्घटना पछिको अपांगताका कारण पहिले जस्तो काम गर्न नसक्नुको सजाय बिदाइ, सरुवा वा अरु केही हो भने तपाईबाट स्पष्ट निर्देशन होस्।
नत्र तपाई मातहतका निकायलाई संविधान, ऐन, कानुनमा भएका व्यवस्थाको कार्यान्वयन गराएर न्यायोचित निर्देशन दिन जरुरी छ । यो पत्र यसर्थ तपाइलाई नै सम्बोधन गरेर लेख्नु परेको छ कि प्रदेश स्वास्थ्यमन्त्री ज्यू यो घटना र गुनासाका अनेक कालक्रमसँग अपडेट हुनुहुन्छ । उहाँबाट यो सम्बोधन हुन सकेन।
अपांगमैत्री संरचना र वातावरण भए ह्वीलचियरको सहारामा बिरामी जाँच गर्ने, निशुल्क औषधि वितरण, बिमा क्लेम, डट्सको औषधि वितरण लगायतको काम नियमित गर्न सक्नेमा शाक्य ढुक्क छिन् । यसमा अस्पताल प्रशासन पनि कन्भिस छ । तर अस्पताल व्यवस्थापन समिति शाक्यले अपांगता भएकै कारण काम गर्न नसक्ने दलिल पेश गर्छ।
व्यवस्थापन समिति शाक्यको आत्मविश्वासमा पत्याउन तयार नै छैन । अस्पताल व्यवस्थापन समिति शाक्यलाई बिदा दिएर उनको दरबन्दीमा अर्को अहेव राख्ने अडानमा छ । अस्पताल प्रशासन दोहोरो चपेटामा परेको आभाष हुन्छ । शाक्य यस बारेमा पनि आफ्नो पीडा सहितको तर्क पेश गर्छिन्–‘दुर्घटनाले अपांग भएको छु, अपांग हुनु भनेको केही गर्नै नसक्ने हो र ? यो कुनै अपराध हो र ? काम नगरी तलब खान मेरो स्वाभिमानले पनि दिँदैन, म खाँदिन ।’
संविधान, कानुन अनुसार अपांगता भएका व्यक्तिलाई विशेष व्यवस्था अनुसारको काम, अवसर र सुविधा दिँदा समितिका कुनै अध्यक्ष, सदस्यको केहि जाने हो र ? एक अपांग महिलालाई एकोहोरो खेद्नुको कारण के? दुर्घटनाका काणर ठूलो पीडाबोध गरिरहेकी स्वास्थ्यकर्मीलाई यसरी थप पीडा दिनु अपराध होइन र ?
मुख्यमन्त्री ज्यू,
यो सवाल एक अपांग, एक स्वास्थ्यकर्मीको मात्र रहनु हुन्न। अपांगता भएका रसबैको साझा सरोकारको विषय बनोस् । मुख्यमन्त्री ज्यूले तत्काल पहलकदमी लिएर यसको शुरुवातदेखि वर्तमानसम्मको घटनाक्रम अध्ययन गरी निकास र न्याय दिन सक्नुहोस्।
अपांगता भएका र भवितव्यका कारण यस्तो नियती भोग्नेहरुलाई राज्यका निकायले थप पीडा दिने होइन, राज्य हुनुको अपनत्व र आभाष गराओस्।
-दिल शिरिष, काठेखाेला-३ धम्जा बागलुङ
प्रतिक्रिया दिनुहोस !