डोटीमा किट अभावमा कोरोना परिक्षण न्यून

डोटीमा किट अभावमा कोरोना परिक्षण न्यून

डोटी : डोटीमा भारतबाट घर फर्कनेको संख्यामा दिनानुदिन बढ्दै गए पनि उनीहरुको कोरोना परिक्षण भने हुन सकिरहेको छैन्। जिल्लामा किट अभावका कारण अहिले स्वास्थ्य परिक्षण हुन नसकिरहेको जिल्ला स्वास्थ्यले जनाएको छ। केही व्यक्तिहरू क्वारेन्टाइनमा बसेको समयावधि पुग्न लागे पनि उनीहरुको कोरोना परिक्षणका लागि लागि आवश्यक किट अभावका कारण समयमै चेक गर्न नसकिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासीले बताए। ‘हामी सँग जम्मा आरटीपिसीआर भिटीएम दुई सय ९७ थान, आरडीटी किट दुई सय ४६ थान मात्र मौज्दात रहेको छ’ मलासीले भने, ‘आवश्यक कीटका लागि प्रदेश सरकार सँग माग गरिसकेको तर हाल सम्म उपलब्ध हुन नसकेकाले हजारौंको संख्यामा क्वारेन्टाइनमा रहेकाको कोरोना परिक्षण गर्न चुनौती रहेको छ।’

हामीहरुसँग रहेका किटले स्वास्थ्यमा तत्काल समस्या देखिएका व्यक्तिहरुको कोरोना परिक्षण गरिरहेका मलासीले बताए। उनले भने, ‘यदि माग अनुसारको किट तत्काल उपलब्ध नभए मौजुदा भिटीएम, किटले समय पुगेका क्वारेन्टाइनका व्यक्तिहरुको नमुना परिक्षण लिएर सोही अनुसार घर पठाउनु पर्ने बाध्यता आउने छ।’ जिल्लामा करिब १० दिनयता भारतबाट जिल्ला भित्रिनेको संख्या पाँच हजार आठ सय १७ पुगेको छ।

सिमानाकाबाट बिना परिक्षण जिल्ला प्रवेश गरी क्वारेन्टाइनमा राखिएको र हालसम्म कुनै पनि व्यक्तिहरूको परिक्षण हुन नसक्दा कोरोना संक्रमण बढ्न सक्ने अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। ‘जिल्लामा भारतबाट आउनेको संख्या दिनानुदिन बढिरहेको छ, उनीहरुको स्वास्थ्य परिक्षण गर्न जिल्लामा आवश्यक किटको अभाव छ’, प्रजिअ पौडेलले भने, ‘अहिले सम्म जसो–तसो गरेर पनि स्थानीय तहले तयार गरेका क्‍वारेन्टाइनमा व्यवस्थापन गरेर राखिरहेका छन् यदि क्‍वारेन्टाइनमा बसेकाहरूको तत्काल स्वास्थ्य परिक्षण गर्न नसके लामो समयसम्म क्वारेन्टाइनमै राख्न नसकिने र बिना परिक्षण घर पठाउनु पर्ने बाध्यता सृजना हुन सक्ने छ।’

यदि उनीहरुलाई बिना परिक्षण क्वारेनटाइनबाट आआफ्नो घरमा पठाउँदा संक्रमण समुदाय स्तरसम्म फैलिन सक्ने र यसबाट सृजित परिस्थिति भयावह हुन गई नियन्त्रण भन्दा बाहिर जान सक्ने समेत प्रजिअ पौडेलले बताए। जिल्ला प्रशासन कार्यालय डोटीले गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, संघीय मामिला मन्त्रालय, प्रदेश सरकारलगायत सम्बन्धित निकायहरुमा पीसीआर भिटीएम तथा आरडिटी कीट दश दश हजार थान आवश्यक रहेको भन्दै माग गरिसकेको समेत प्रजिअ पौडेलले जानकारी दिए।

डोटी जिल्लामा हाल सम्म तीन सय ९१ जनाको पीसीआर परिक्षण गरिएको छ जसमा तीन सय ७६ जनाको रिपोर्ट नेगेटिभ आएको १५ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। हाल सम्म दुई हजार ८८ जनाको आरडीटी परिक्षण गरिएकोमा २ हजार ८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

क्षमता भन्दा बढी भएर क्वारेन्टाइन व्यवस्थापनमा समस्या
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण भारतबाट घर फर्कनेको संख्या बढेसँगै डोटीमा क्वारेन्टाइनको व्यवस्थापनमा समस्या देखिएको छ। जिल्लामा क्षमता भन्दा बढी भित्रिएपछि क्वारेन्टाइनको व्यवस्थापनमा समस्या आएको हो। करिब १० दिनयता भारतबाट जिल्ला भित्रिनेको संख्या पाँच हजार आठ सय १७ पुगेको छ। जिल्लामा रहेका सबै सामुदायक विद्यालयहरु भरिभराउ भइसकेका छन्। स्थानीय तहहरुले क्षमताभन्दा बढी भएका कारण व्यवस्थापनमा कठिनाई भइसकेको बताइरहेका छन्। जिल्लाभरी क्वारेन्टाइनको संख्यामा समेत बृद्धि भएका कारण सुरक्षा व्यवस्थापनमा समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

‘भारतबाट आउने व्यक्तिहरु क्षमता भन्दा बढी भएका कारण व्यवस्थापन गर्नमा नगरपालिकालाई समस्या भइरहेको छ’ दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले भनिन्, ‘नगर भित्रका सबै सामुदायिक बिद्यालय तथा केही निजी बिद्यालयहरु भरिभराउ भइसके अब त राख्नलाई ठाउँ समेत छैन्। क्षमता भन्दा दोब्बरको संख्यामा भएकाले खान, बस्न तथा खानेपानको समेत समस्या भईरहेको छ’ मलासीले भनिन्, ‘अब सिमानाका बन्द गरेर भारतबाट आउनेहरुलाई रोक्नुपर्छ।’ उनले भनिन्, ‘क्वारेन्टाइनमा भएकाहरुको चेकजाँच गरेर घर पठाउनु पर्छ र अनि मात्रै फेरी सिमानाका खोलेर घर आउनेलाई बोलाउनु पर्छ। यदि यस्तै अवस्थामा आइराख्ने हो भने क्वारेन्टाइनमा नरादिकनै सिधै घर पठाउनुको बिकल्प रहँदैन।’
उता शिखर नगरपालिकाका सबै वडाका विद्यालयहरुमा राख्दासमेत नअटाएर अस्थायी टहरा निर्माण भइरहेका छन्। ‘क्षमता भन्दा बढी व्यक्तिहरु भारतबाट आएका कारण व्यवस्थापनमा समस्या देखिएकाले बाँस र त्रिपालको अस्थायी घर बनाएर राख्ने गरेका छौं’, व्यवस्थापनमा खटिएका शिखर नगरपालिकाका कर्मचारी यज्ञराज भट्टले भने, ‘अब आउने सबैलाई प्रदेश सरकारले तराईका जिल्लाहरुमै व्यवस्थापन गर्नुपर्ने देखिन्छ।’

जिल्लाका केआईसिंह गाउँपालिका, आदर्श गाउँपालिका, सायल गाउँपालिका लगायतका पालिकाहरुमा क्षमता भन्दा बढी व्यक्तिहरु भारतबाट आइरहेका कारण व्यवस्थापनमा समस्या देखिएको स्थानीय तहहरुले जनाएका छन्। दिनैपिच्छे सयौंको संख्यामा जिल्ला भित्रिरहेका कारण उनीहरुको उचित व्यवस्थापन गर्न कठिन भईरहेको उद्धारमा खटिरहेका पत्रकार मोहन शाहीले बताए। जिल्लामा क्वारेन्टाइनको संख्यासमेत धेरै भएपछि सुरक्षा चुनौती थपिएको जिल्ला प्रहरीले जनाएको छ। ‘जिल्लामा प्रहरीको जम्मा दरबन्दीको आधा संख्या जतिमा मात्रै प्रहरी रहेकाले सबै क्वारेन्टाइनमा पर्याप्त संख्यामा खटाउन सकेका छैनौं’जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक कर्ण बहादुर बोहराले भने, ‘धेरै संख्यामा मान्छेहरु रहेको कुनै क्वारेन्टाइनमा दुई जना प्रहरी खटाइएको भएपनि अधिकांशमा एक जना मात्रै रहेका छन्।’ एक जना प्रहरीको घरमा क्वारेन्टाइन संचालनमा रहेका छन्।

भारतबाट घर फर्कनेको संख्यामा एक्कासी बृद्धि भएपछि स्थानीय तहहरुलेनै धान्न नसक्ने र व्यवस्थापनमा चुनौती भएको प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताए। ‘आउने क्रम रोकिएको छैन, सामुदायिक विद्यालयहरुमा खाली ठाउँ नभएकाले अब केही निजी विद्यालय, सरकारी संरचनामा राख्नुपर्ने देखिन्छ’ प्रजिअ पौडेलले भने, ‘तिनीहरुमा पनि नभ्याए होम क्वारेन्टाइनमा बस्नु भन्दै आ–आफ्नो घर पठाउनु पर्ने देखिन्छ।’

सोही बिषयमा छलफल गर्न आइतबार सर्बदलिय बैठक राखिएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए। ‘स्थानीय तहहरुले व्यवस्थापन गर्न नसक्ने भएपछि बैकल्पिक व्यवस्था खोज्न सर्बदलिय बैठक बोलाएका हौं’, संयोजक ऐरले भने, ‘यसमा अब प्रदेश तथा संघीय सरकारले समेत केही सोच्नु पर्ने देखिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.