दानको विज्ञापन

दानको विज्ञापन

आफ्नो अभीष्ट हासिल गर्नेभन्दा असजिलोमा परेकालाई सहयोग पुर्‍याउने आदर्शबाट प्रेरित भई गर्ने दान नै सच्चा दान हुनेछ


दृश्य १ चैत १० देखि बन्दाबन्दी पछिको सरकारको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले कसैले भोकै बस्न नपरोस् भनेर राहत (सार्वजनिक दान) वितरणका लागि स्थानीय तहलाई रकम निकासा गरेको जानकारी।

दृश्य २ स्थानीय तह राहत पाउन योग्यको पहिचान गर्न परिचालन। राहत सूचीमा पर्न वडा कार्यालयमा मानिसको भीड।

दृश्य ३ वडा तहले लाम लगाएर राहत वितरण। व्यक्ति र स्वयंसेवी संस्था ठाउँठाउँमा राहत र खाना वितरण।

दृश्य ४ सञ्चारमाध्यम र सामाजिक सन्जालको अग्रभागमा वितरण गर्नेलाई राख्दै दान वितरणको समाचार प्रसारण।

दृश्य ५ दान पाउनेले जताततै पुगेर दान लिई बेचबिखन र दुरूपयोग गरेको।

यी दृश्यले दान वितरण कसरी सुरु हुन्छ र कुन हदसम्म मगाएर अन्त्य हुन्छ भन्ने देखाउँछन्। यीमध्ये सबैभन्दा धेरैपटक दोहोर्‍याइएको, देखाइएको वा पोस्ट गरिएको दृश्य ४ हो। यसमा पनि दाता व्यक्त वा समूह वा संस्थालाई केन्द्रविन्दु बनाएर प्रसारण गरिएका समाचारको बाहुल्य छ।

यस सन्दर्भमा एक मानिसले अर्को मानिसलाई दान किन गर्छ ? यस्तो दानबाट दाताले के प्राप्त गर्छ वा अपेक्षा राखेको हुन्छ भन्ने विषयमा चर्चा गर्नु सान्दर्भिक हुन्छ।

चाल्र्स डार्विनको विकासवादको सिद्धान्तमा विश्वास गर्नेहरू मानिसको आस्तित्व प्रतिस्पर्धाबाट मात्र सम्भव हुन्छ सहयोगबाट होइन भन्छन्। यिनीहरू अध्यात्मवादीविपरीत दया, करुणा, मानवीय स्नायु प्रणालीको चरित्र नै होइन भन्छन्। तर वंशाणु विज्ञानले निर्धारण गर्नेबाहेक पनि मानिसका व्यवहार, बानी, वातावरण र संस्कृतिले पनि निर्धारण गर्छ। पछिल्ला अवयवको प्रभाव व्यक्तिगतभन्दा सामाजिक हुन्छ।

सामान्यतः आफ्नो अस्तित्वमा जोखिम नभए मानिसले बढी सामाजिक व्यवहार देखाउँछ। दान सामाजिकताको परिणति हो। अपवादमा बाहेक मानिस आफू सजिलो अवस्थामा भएका बेला मात्र कमजोरलाई दान गर्न उद्यत् हुन्छ। केही मानिस भने सदाबहार दान गर्न तत्पर हुन्छन्। तर केही मानिस कुनै अवस्थामा पनि दानका लागि अग्र्रसर नै हुँदैनन्।

मानिस विभिन्न कारणले दान गर्न अग्रसर हुन्छ। एकथरी कमजोरलाई दान गर्नु नैतिक कर्तव्य ठान्छन्, मानव हुनुको आधारभूत चरित्र मान्छन्। यी नैतिकतावादी सबै मानव एकै हुन्। कसैले पनि दुःख पाउनु हुँदैन भन्ने धारणा राख्छन्। अर्काथरी अरू मानिसको दयनीय अवस्था देखेर द्रवीभूत हुन्छन् र दानका लागि बैचैन बन्छन्। यो वर्ग मानवीयताका आधारमा दान गर्न रुचाउँछन्। यिनीहरू आँखाले नदेखेसम्म दानका लागि तयार हँुदैनन्। अर्काथरी दानलाई धार्मिक आस्था वा कसैको नाम वा इच्छासँग जोड्छन्। यिनीहरू धार्मिक मूल्य वा कसैको इच्छालाई पछ्याएर दान गर्छन्। केही आफूलाई राम्रो वा बढी तागत देखाउन दान गर्छन्। एकथरी आफ्नो सुरक्षाका लागि पनि वरपरका कमजोरलाई दान गर्छन्। उनीहरू अभाव अपराधको जननी हो भन्ठान्छन्। छवि शुद्धीकरणका लागि पनि दान गर्ने पनि हुन्छन्। दानले मानिसलाई बेचैन बनाउँछ। त्यसकारण केही मानिस आफूलाई दान गर्नेप्रति वा प्रेरणाको कारण सहायता गर्छन्। दान भनेको भौतिक मात्र पनि हुँदैन अनुभव गर्ने विषय पनि हो। त्यसकारण दानको महत्तव अनुभूति गरेकाहरू दान फिर्ता गर्न आतुर हुन्छन्। आफ्नो लक्ष्यप्रति समर्पित दानलाई लक्ष्यपूर्तिको साधन बनाउँछन्।

हाल प्रचारमा आएको वर्ग दानलाई आफूलाई श्रेष्ठ देखाउने, दानबाट छवि निर्मलीकरण गर्ने, सामाजिक प्रतिष्ठा आर्जन गर्ने र दानलाई व्यापारको वस्तु बनाउन खोज्नेहरू हुन्।

वस्तुतः सरकार समाजको सिर्जना हो। प्रजातान्त्रिक सरकार त जनमतकै आधारमा निर्माण हुन्छ। सिद्धान्ततः समाजका सदस्यको धारणाले नै सार्वजनिक दानको परिमाण र सघनता निर्धारण हुन्छ। मानकुर ओस्लान कुनै पनि संगठनको व्यवहार त्यहाँ काम गर्ने मानिसको चरित्रसँग कहिल्यै मिल्दैन भन्छन्। सरकार एक बृहत् संगठन हो। त्यसकारण सार्वजनिक दान नागरिकको भावनासँग हुबहु मिल्दैन। सरकार मुख्यतः मानवता, सुरक्षा र राष्ट्रिय स्वार्थका लागि दान गर्छन्।

कुनै पनि कर्मबाट प्रतिफल प्राप्त हुन्छ चाहे त्यो अपेक्षित होस् वा नहोस्। मनसायमा विविधता भएजस्तै दानको अपेक्षित प्रतिफलमा पनि विविधता हुन्छ। एकथरी खालि आत्मसन्तुष्टिका लागि दान गर्छन्, अरू कुनै स्वार्थ हँुदैन। यिनीहरू दान दिन्छन् मात्र प्रत्युत्तरमा केही चाहँदैनन्। अधिकांश यस्ता दाता आफूलाई गुमनाम राख्न चाहन्छन्। अर्काथरी दानलाई रबाफ बढाउन प्रयोग गर्छन्। दान गर्न सकेकै कारण आफूलाई श्रेष्ठ ठान्छन्। दान करुणालाई सबै धर्म र आचारले उत्तम मानेको छ। त्यसो भएर एकथरी आफूलाई असल देखाउन दान गर्छन्।

यिनीहरू प्रत्युत्तरमा केही चाहँदैनन् खालि आफूलाई असल ठान्दिए हुन्छ भन्छन्। बाह्य इच्छा वा पे्ररणाबाट परिचालितहरू कसैलाई अनुग्रहित बनाउन खोज्छन्। तिनीहरूको खुसी नै यिनको लक्ष्य हुन्छ। निश्चित नतिजासँग दानलाई जोड्नेहरूलाई प्राप्त नतिजा महत्तवपूर्ण हुन्छ। केही त दानलाई पनि व्यापारको वस्तु बनाउँछन्, दानवापत अरू भौतिक फाइदाको अपेक्षा गर्छन्। ठूलो परिमाणको दान गर्ने व्यवसायी सरकारबाट सहानुभूति प्राप्त होस् भन्ने अपेक्षा राख्छन्।

माथिको दृश्य ४ कादाता आत्मसन्तुष्टिका लागि दान गर्ने वर्ग होइन। प्रचारमा आएका यी घटनाले मात्र सबै दानको प्रतिनिधित्व गर्दैन पनि। भएनभएका सक्ने–नसक्ने मानिसले सानो वा ठूलो दान कमजोर वर्गलाई गरिरहेकै हुन्छन्। समष्टिमा यो वर्ग सानो हुँदैन, खालि गुमनाम हुँदा चर्चा नभएको मात्र हो। हाल प्रचारमा आएको वर्ग दानलाई आफूलाई श्रेष्ठ देखाउने, दानबाट छवि निर्मलीकरण गर्ने, सामाजिक प्रतिष्ठा आर्जन गर्ने र दानलाई व्यापारको वस्तु बनाउन खोज्नेहरू हुन्।

संकटका बेला सानो सहयोग गरेर ठूलो फाइदा लिन खोज्ने वर्गको प्रचार झन् बढी हुन्छ। यिनीहरू प्रत्येक दानको प्रचार होस् भन्छन्, सानो र पटके दानलाई समेत ठूलो बनाएर प्रचार गर्छन्। प्रचारको व्यवस्था मिलाएर मात्र दान गर्छन्। प्रचार नहुने भए दान पनि गर्दैनन्। शक्तिमा भएकाका वरिपरि बसेर फोटो सेसन गर्ने, लिनेभन्दा दिने धेरै भएर फोटो खिचाउने काम यिनीहरू गर्छन्। कतिपय सहायता दिने व्यक्ति वा संस्थाले अरूबाट संकलन गरेर वितरण गरेका हुन्छन्। यिनीहरूलाई वितरण भएको प्रमाण चाहिने हुनाले पनि प्रचार गर्छन्। यस्तालाई प्रचारले थप दान गर्ने मार्गप्रशस्त पनि गर्छ।

बन्दाबन्दीमा संघीय र प्रादेशिक सरकारले ठूलो परिमाणको रकम स्थानीय तहबाट दानस्वरूप पठाएका थिए। लगत्तै जनप्रतिनिधिको नेतृत्वमा रहेका स्थानीय तहले यसअघि आफ्नो क्षेत्रभित्र स्थायी वा अस्थायी रूपमा रहेका मानिसको विवरण देखिने तथ्यांक व्यवस्थित नगरेका कारण यो दानको वितरण राजनीतिक निर्णयमा आधारित हुन पुग्यो, प्रमाणमा होइन। सरकारलाई ठग्नु पुरुषार्थ ठहर्ने हाम्रो संस्कृतिमा दान पाउने सूचीमा पर्न प्रतिस्पर्धा भयो, सबै परे चाहिने–नचाहिने।

राजनीतिक निर्णयमा जहिले पनि राजनीतिक स्वार्थ निहित हुन्छ, मतदाता रिझाउने, आफूलाई कर्मठ र इमानदार देखाउने र स्वार्थ समूहको पक्षपोषण गर्ने। अधिकांश जनप्रतिनिधिबाट यही काम भयो चाहिनेलाई मात्र दिनेभन्दा पनि। ठाउँठाउँमा तनाव भयो धाँधली भयो भनेर। यस प्रकार विशुद्ध स्वविवेकी आधारमा ठूलो दान वितरण गर्ने अवसर पाएका जनप्रतिनिधिले यसलाई बढाइचढाई प्रचार गरे। जनताका पैसामा आफ्नो स्वार्थ पूरा गर्न पाएकोमा पनि बढी उत्तेजक भए। हिसाबकिताबमा प्रचारले सहयोग गर्ने भन्दै प्रचारको औचित्य पुष्टि गरे। त्यस्तै व्यवसायीले उच्च कार्यकारीसँग बसेर दानको फोटो खिचाए। ससाना र पटके वा कसैको सहयोग वा प्रेरणामा दान गर्नेले रमाउन तथा अरूलाई प्रभावित गर्न प्रचार गराए। केही नपाउनेले सामाजिक सन्जालमार्फत आफूलाई बलिराजाका रूपमा प्रस्तुत गरे गराए।

बन्दाबन्दीको नितान्त भिन्न अवस्था हो। आफ्नो खुट्टामा उभिनेलाई पनि यसले दान लिन बाध्य बनायो। सरकारले नै बन्द गराएकाले अहिलको सार्वजनिक दान, दान होइन, अधिकार हो पीडितको। यस अवस्थाको दानलाई पहिलेको जस्तै सहायताका रूपमा प्रचार–प्रसार गर्दा लिनेको स्वाभिमानमा चोट पुग्छ। उनीहरूले अपमानित हुनुपर्छ। सनातन दानमा निर्भर भएर आत्मसम्मान गुमाएकालाई मात्र प्रचारको यस्तो गतिविधिले फरक पर्दैन।

यस अवस्थामा वर्तमानमा दान गर्ने सार्वजनिक र गैरसार्वजनिक निकाय, संस्था वा व्यक्ति सबैले लिनेको संवेदशीलता बुझेर प्रचार–प्रसार गर्ने र आफ्नो अभीष्ट हासिल गर्नेभन्दा असजिलोमा परेकालाई सहयोग पुर्‍याउने आदर्शबाट प्ररित भई दान गर्नुपर्छ। यो नै सच्चा दान हुने छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.