सीआईबीले थाल्यो रुकुम घटनाको अनुसन्धान
![सीआईबीले थाल्यो रुकुम घटनाको अनुसन्धान](https://annapurnapost.prixacdn.net/media/albums/dig-rukum-ghatana_20200604065314_eV32LslLVO.jpg)
जाजरकोट : ६ जनाको ज्यान जाने गरी पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ। अन्तर्जातीय प्रेमको विषयलाई लिएर भएको घटनाको सूक्ष्म अनुसन्धान गर्न प्राविधिक टोली घटनास्थल रुकुम पुगेको हो।
भेरी नगरपालिका ४ का नवराज विक र चौरजहारी ८ सोतीकी मल्ल थरकी किशोरीबीच तीन वर्षदेखि प्रेमसम्बन्ध भएको र परिवारले स्वीकार नगर्दा घटना भएको हो। प्रेमीप्रेमीकाका फोन सम्वाद, फेसबुक कुराकानी, घटनाको दिन किशोरीका आमाबुबा र दाइले गरेको संवाद, वडाध्यक्ष डम्बरबहादुर मल्लसँग किशोरीका परिवारले गरेको फोन संवादबारे टोलीले अनुसन्धान गर्ने प्रहरी नायव उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए। संघीय प्रहरी इकाई कार्यालय कर्णाली प्रदेश प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल नेतृत्वमा अनुसन्धान भइरहेको छ।
कसैको दवाब र प्रभावमा नपरी सत्यतथ्य अनुसन्धानका लागि प्रहरीको केन्द्रीय नेतृत्वले समेत निर्देशन दिइसकेको छ।
कर्णाली प्रहरी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त पन्तले घटनास्थलमै पुगेर सत्यतथ्य अनुसन्धानका लागि जाजरकोट र रुकुम प्रहरीलाई निर्देशन दिएर फर्किएका छन्। घटनामा संलग्न भनिएका आरोपित सबैको पोलिग्राफ टेष्टसमेत गरिने भएको छ। सोका लागि पनि एक टोली रुकुममा प्रस्थान गरेको छ। बिहीबारदेखि आरोपितको पोलिग्राफ टेष्ट गरिने भएको हो। पोलिग्राफले बयानको क्रममा झुटो बोलेको पाइए संकेत दिने र सोही आधारमा अनुसन्धान अघि बढाउन सहयोग मिल्ने प्रहरीको भनाइ छ।
घटनाको सत्यतथ्य छानबिनका लागि सरकारद्धारा गठित उच्चस्तरीय समिति रुकुममै छ। गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत नेतृत्वको टोलीले सरोकारवालासँग भेटघाट र अनुसन्धान गरिरहेको जनाएको छ। राष्ट्रिय मानव अधिकार आयोगको टोली पनि रुकुममै बसेर घटनाको अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)