रोल्पामा पहिलोपटक तीन जनामा कोराना संक्रमण
![रोल्पामा पहिलोपटक तीन जनामा कोराना संक्रमण](https://annapurnapost.prixacdn.net/media/albums/corona-virus-covid-19-test_20200527054749_12aeNSmzEH.jpg)
रोल्पा : रोल्पामा पहिलोपटक तीन पुरुष कोरोना संक्रमित भेटिएका छन् । पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिकाका तीन पुरुषमा आइतबार कोरोना संक्रमणको पुष्टि भएको हो । ५ नं. प्रदेशको १२ वटा जिल्लामध्ये ११ वटा जिल्लामा कोरोना संक्रमित फेला परेका थिए । रोल्पा जिल्लामा मात्र संक्रमित देखिएका थिएनन् । तीनजनामा संक्रमण देखिएसँगै ५ नं. प्रदेशका सबै जिल्लामा कोरोना संक्रमित भएका छन् ।
सुनिल स्मृति गाउँपालिका–५ का २० र २७ वर्षका पुरुष र वडा नं. ६ का २० वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो । जिल्ला जनस्वास्थ्य प्रमुख अनिल केसीका अनुसार तीनैजना भारतबाट फर्किएका हुन् । संक्रमित तीनजना जेठ १२ गते भारतबाट गाउँ फर्किएका हुन् । एकै समयमा गाउँ फर्किए पनि अलग अलग वडाका भएकाले उनीहरुलाई दुई फरक ठाउँको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमै रहेका बेला स्वाब संकलन गरेर जाँचका लागि पठाइएको सुनिल स्मृति गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख सावित्रा थापाले जानकारी दिइन् ।
वडा नं. ५ को सूर्योदय आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका १० जनाको स्वाब भेरी अञ्चल अस्पताल नेपालगञ्ज पठाइएको थियो । करिव एक हप्ताअघि स्वाब पठाइए पनि आइतबार मात्र नतिजा आएको हो । क्वारेन्टाइनमा रहेका दशजनाको आरडिटी गर्दा तीन जनामा कोराना पोजिटीभ आएको भए पनि पिसीआरमा २ जनाको मात्र पोजिटिभ देखिएको हो । क्वोन्टाइनमा रहेकाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरकी डा. प्रकृति भट्टराईसहितको स्वास्थ्यकर्मीको टोलीले स्वाब संकलन गरेको थियो ।
वडा नं. ६ को जनज्योती माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेका आठ जनामध्ये १ पुरुषमा कोरोना संक्रमण देखिएको हो । आठजनामा आरडिटी गर्दा तीनजनामा पोजेटिभ देखिएको थियो । स्वाब भने आठजनाकै संकलन गरेर दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भएको हो । पिसीआर गरिएका आठ जनामध्ये एक जनामा कोरोना संक्रमण फेला परेको हो । कोरोना संक्रमण देखिएका सबैको स्वास्थ्य अवस्थामा सामान्य रहेको छ । उनीहरुमा कोरानाको कुनै लक्षणसमेत नदेखिएको बताइएको छ ।
सुनिल स्मृति गाउँपालिकाको पहलमा क्वारेन्टाइनमा राखिएकाको आरडिटी जाँच र स्वाब संकलमा तीव्रता दिइएको छ । हालसम्म ३ सय ८४ जनाको जाँचका लागि स्वाब संकलन गरिसकिएको छ । स्वाब पठाइए पनि जाँचमा ढिलाइ भइरहेको छ ।
जिल्लाभर २ हजार १ सय २६ क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये १ हजार ४ सय ७६ भारतबाट फर्किएका हुन् । भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेकामा रोल्पा नगरपालिकामा १ सय ३२, गाउँपालिकाहरुमा सुनिलस्मृतिमा ३ सय ७७, त्रिवेणीमा ४ सय ३, परिवर्तनमा २५, रुन्टीगढीमा १ सय १६, माडीमा ४८, लुंग्रीमा ६४, थबाङमा १७, सुनछहरीमा ७ र गंगादेव गाउँपालिकामा २ सय ८७ छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)