अन्तरजातीय बिहेले विस्थापित

अन्तरजातीय बिहेले विस्थापित

जाजरकोट : अन्तरजातीय विवाह गरेका जाजरकोट जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योतिशाह पाँच वर्षदेखि जिल्ला सदरमुकाम खलंगामा विस्थापित जीवन बिताइरहेका छन्। उनीहरूले प्रेम त सफल पारे, तर बिहेपछि उनीहरू आफ्नो घरमा जान पाएका छैनन्।

सदरमुकामस्थित भाडाको कोठामा उनीहरूले गुजारा चलाइरहेका छन्। कथित माथिल्लो जातका भनिने माइती पक्षको धम्कीका कारण उनीहरू विस्थापित भएका हुन्। जातीय विभेदकै कारण मारिएका भेरी नगरपालिका-४ का नवराज विकको घर नजिकै बस्छ यो जोडी। गाउँ गएको भए आफूहरूको हालत पनि नवराजको जस्तै हुने गणेश बताउँछन्।

‘नवराज दलित नभएको भए उनी मारिने थिएनन्, कथित माथिल्लो जातकाले जातीय विभेद कति निर्मम र निर्दयी तरिकाले गर्छन् त्यो भोग्नेलाई मात्र थाह हुन्छ,’ उनले भने, ‘कानुन बनाएर मात्र हुँदैन, मन र व्यवहारदेखि नै सामाजिक परिवर्तन नहुँदासम्म सयौं नवराजहरू मारिरहन्छन्।’ गहिरो मायाप्रेम बसेपछि गणेशले २०६७ साल असार २९ गते ज्योतीलाई भगाएर घर ल्याए। तल्लो जातको केटासँग बिहे गरेको भन्दै तत्काल माइती पक्षले ज्योतीलाई खोसेर लगे। गणेशलाई कुटपिट गरे। परिवारलाई धम्क्याए।

फेरी फर्केर हेरे बालविवाहको मुद्दा लगाउने र ज्यानै लिने धम्की दिएपछि प्रेम केही समय पछि हटे। वास्ता गर्न छोडे। तर उनीहरूबीचको प्रेमलाई न त जातले रोक्न सक्यो, न ज्योतिका आमाबुवाको धम्कीले नै। उनीहरू उमेर पुगेपछि पुनः २०७२ कार्तिक ९ गते सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै गाउँबाट भागे। उनीहरू भागेर कैलालीको धनगढी गएर केही समय बसे। यता माइती पक्षले गणेश र उनका बुवा कमारा चदाराविरुद्ध ८ लाख ५० हजार चोरी गरेको आरोपसहित इलाका प्रहरी कार्यालय गर्खाकोटमा मुद्दा नै दर्ता गराए।

गाउँ गए सम्बन्ध-विच्छेद गराउने र जतिखेर पनि आक्रमण हुनसक्ने डरले आफूहरू गाउँ जान नसकेको गणेशले बताए। सदरमुकाममा खान बस्न समस्या भएपछि गणेशले ज्याला मजदुरी गर्छन् भने ज्योतिले सदरमुकाममै सानो घुम्तिमा खुद्रा पसल खोलेकी छिन्। ‘जेनतेन गुजारा चलेको छ,’ गणेशले भने, ‘गाँउमा जान पाएको भए खेतीकिसानी गरेर जहान केटाकेटी पाल्थें, अहिले म साह्रै समस्यामा छु।’ यस अवधिमा उनीहरूका दुई छोरी जन्मिएका छन्। तर, अझै पनि माइती पक्षको मन पग्लिएको छैन।

ज्योतिले भनिन्, ‘अहिलेको एक्काइसौं शताब्दीमा पनि जातभातको कुरा गरेर मलाई सामाजिक बहिष्कार गरेका छन्।’ उनीहरूलाई गाउँमै पुनःस्थापित गराउन पहल नभएको पनि होइन। इलाका प्रहरी कार्यालयमा माइती पक्षलाई बोलाएर यो जोडीलाई गाउँमा पुनःस्थापनाको लागि पहल गर्नेक्रममा उल्टै प्रहरी कार्यालयमै आक्रमण भयो। तर, सहमति हुन सकेन। कथित माथिल्लो जातका भनिने त्यहाँका ठकुरीले कुनै हालतमा यो विवाहलाई नस्वीकार्ने बताएपछि आफूहरू फर्केर आएको राष्ट्रिय दलित नेटवर्कका जिल्ला अध्यक्ष गोपाल नेपालीले बताए। उनले अझै पनि जातीय विभेद कायमै रहेको बताउँदै यो समस्या राज्यले सुल्झाउनु पर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.