कार्यालयको माग गर्दे अनसन
![कार्यालयको माग गर्दे अनसन](https://annapurnapost.prixacdn.net/media/albums/Dharnan_20200609075240_dPSQ2NROKc.jpg)
स्याङजा : चापाकोट नगरपालिका ८ क्वामीमा रहेको कार्यालय अन्यत्र नसार्न माग गर्दै स्थानीयबासी आन्दोलित भएका छन् । स्थानीयबासीले इलाका प्रहरी कार्यालय संरक्षण समिति गठन गरेर एक सातादेखि रिले अनसन जारी राखेको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।
चापाकोट नगरपालिका ८ क्वामीमा रहेको इलाका प्रहरी कार्यालय (क) यथास्थानमा मै राख्न दवाव स्वरुप स्थानीयको रिले अनसन हो । अनसनमा वडा अध्यक्ष नवराज श्रेष्ठसहित स्थानीयबासीको सहभागिता छ । वडा कार्यालय भवनमा बसेर रिले अनशन गरेका छन् । इलाका प्रहरी कार्यालय र वडा कार्यालय आमने सामने पर्छ ।
२०७६ असोज ७ को मन्त्रीपरिषद बैठकले क्वामी स्थित ईलाका प्रहरी कार्यालयलाई वडा कार्यालय बनाउँदै वडा नं. ९ सुन्तलीटारमा सार्ने निर्णय गरेको थियो । स्तरोन्नतीसँगै, सुन्तलीटारमा भौतिक निर्माणका प्रक्रिया सुरु भएपछि यहाँका स्थानीयबासीले यथास्थानमै कार्यालय स्थापनाको माग गर्दै आन्दोलनमा उत्रेको समितिका संयोजक हरि भट्टराइले जानकारी दिए ।
सर्वपक्षीय भेलाले हरि भट्टराईको संयोजकत्वमा २३ सदस्यीय इलाका प्रहरी कार्यालय संरक्षण समिति गठन गरी दवावमुलक कार्यक्रम गर्दै आएको छ । जेठ २१ देखि सुरु रिले अनशनका बारेमा सुनुवाई नभएको भन्दै सोमबार साँझ स्थानीयले मशाल जुलुस गरे । 'चौकी सार्न पाइँदैन' भन्ने नारा लगाउँदै मसाल जुलुस गरेका हुन् । शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरे चरणबद्ध कठोर आन्दोलन गर्न बाध्य हुने समितिका उपसंयोजक गौरब भट्टराईले चेतावनी दिए ।
‘सम्बन्धित निकायमा पत्राचार, ज्ञापन पत्र बुझाउँदासमेत केही सुनुवाइ नभएपछि अनशन र मसाल जुलुस गर्न बस्न बाध्य भएका हौं ’, संयोजक भट्टराईले भने, ‘क्वामीबाट सहजै चापाकोट नगरपालिका पूरै क्षेत्रलाई सुरक्षा प्रदान गर्ने अवस्था हुँदाहुँदै पनि साँघुरो ठाँउमा प्रहरी कार्यालय सार्न खोजेकोमा दु:खी छौं । ’
सरकारका काम संघीयता विरोधी भयो । नगरबासी सबैलाई समानरुपले सेवा प्रवाह गर्नुपर्ने सरकार नै केन्द्रीकृत हुन चाहेको वडा अध्यक्ष नवराज श्रेष्ठको भनाइ छ ।
'कार्यालय क्वामीबाट स्थानान्तरण गराई ३-४ किलोमिटर पर सुन्तलीटारमा लान खोजिएको हो । बरु, सडक संजालले जोडौं । पक्की सडक बनाउन स्थानीय, प्रदेश र संघ सरकारलाई आब्हान गरौं, तर यहाँ रहेको प्रहरी कार्यालय स्थानान्तरण नगरौं', संघर्ष समितिका सहसचिव गोकर्ण भट्टराईले भने ।
इलाका प्रहरी कार्यालयको स्तरोन्नतिसँगै यहाँको कमाण्ड प्रहरी नायब उपरीक्षकले सम्हाल्नेछन् । यसअघि प्रहरी निरीक्षक प्रमुख रहनेगरी दरवन्दी थियो ।
चापाकोट नगरपालिकाले पनि २०७६ पुस १४ गते यथास्थानमै निर्माण कार्य अघि बढाउनुपर्ने सिफारिस गरि पठाएको सिफारिसलाई वेवास्ता गर्दै निर्माण कार्य अघि बढाउने कामले स्थानीयबासीलाई दुई भागमा विभाजन गर्ने काम गरेको नेकपा जिल्ला सदस्य तिर्थराज बरालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)