बजार सुनसान, गाउँमा खेतीको तामझाम
भोजपुर : भोजपुर नगरपालिका बोखिमकी प्रतिमा राई र उनको परिवार गत चैत अन्तिमतिरै गाउँ फर्के । लकडाउनले बजार ठप्प भएपछि होटल बन्द गरेर गाउँ फर्केका हुन् । व्यापार चौपट बनेपछि गाउँ फर्केर आफ्नो पाखोबारी खनजोत गरे । उनीहरु यतिबेला बर्खे खेती लगाउन व्यस्त छन् । पसल बन्द गरेर बजार बस्नुभन्दा गाउँमा खेती लगाउँदा समयको उत्तम सदुपयोग भएको उनी सुनाउँछिन् ।
‘लकडाउन खुल्ने कुनै छाँटकाँट छैन, बजार पुरै बन्द, होटल पनि बन्द, अनि के गर्दै बस्नु’, प्रतिमाले भनिन्, ‘बरु गाउँमै मेलापात गर्यो, पाखोबारीमा बाली लगायो, काम पनि माम पनि हुने, गाउँ नै उत्तम विकल्प बनेको छ।’ कोभिड १९ को सावधानी अपनाउँदै सरकारले लगाएको लकडाउनका कारण शहर, बजार सुनसान बनेका छन् । बजारका मानिसहरु धमाधम गाउँ फर्किएपछि शहरबजारको तुलनामा गाउँ निकै चहलपहल देखिन्छ । खेतीको सिजन पनि सुरु भएकाले अधिकांश सदरमुकाम र बजारबासीहरु गाउँ फर्किएकाले गाउँमा खेती र जमघटको निकै तामझाम बढेको छ ।
बजारमा व्यापारव्यवसाय गर्ने कुनै सिप नचलेपछि गाउँ नै अन्तिम विकल्प बनेको छ । रोगभन्दा पनि दुई छाकको जोहो गर्न खेतीतर्फ उनीहरु उत्साहित देखिन्छन् । शहर, बजारभन्दा गाउँ नै सुरक्षित भएको भन्दै सर्वसाधरण घर फर्केको भोजपुर नगरपालिका ४, सिद्देश्वरका तारा चौहानले बताइन् । भनिन्, ‘लकडाउनमा किनेर मात्रै कतिदिन सक्नु, गाउँमा धेरै काम पनि छ, मेलापातको काम र परिवार, छरछिमकेमा राम्रो भलाकुसारी हुन्छ।’ सदरमुकाम बसोबास गर्ने करिब ३ हजार संख्याका सर्वसाधरणहरु गाउँ फर्केका छन् ।
सदरमुकाममा भाडामा बस्नेहरु व्यापारी, कर्मचारी, विद्यार्थी, गृहिणी सबै गाउँ हिँडेपछि केहि स्थानीयबाहेक बस्ती खाली जस्तै छ । ‘लकडाउनले बजारमा पहिले जस्तो मान्छे भेटिंदैनन्, भाडा गरेर बस्नेहरु सबै गाउँ हिँडिसके, हामी पनि घरमा ताला लगाएर गाउँ जाने सोच छ’, स्थानीय दालामु शेर्पाले सुनाइन् । घरमा बस्ने कोहि नभएपछि लकडाउन नसिद्दिएसम्म गाउँतिर बरालिने विकल्प बनेको उनले बताइन् ।
सम्भाव्य सक्रमणबाट जोगिनकै लागि शहरमा विभिन्न सेवा, पेशा र व्यवसाय गर्दै आएका गाउँ फर्किएपछि बजार सुनसान बनेको स्थानीय चरण श्रेष्ठको भनाइ छ । लकडाउनका कारण व्यापारव्यवसाय पनि धराशायी बनेको छ । खाद्यान्न किराना र केहि हार्डवेयरका पसलबाहेक सबैजसो व्यवासाय ठप्प छ । विगतका तुलनामा ६० प्रतिशतसम्म व्यापार घटेको सुनाउँदै सल्मा उदासले सामान किन्न आउने ग्राहकमा कोरोनाको मनोवैज्ञानिक त्रास पाइएको बताइन् । उपभोग्य समान नियमित आपूर्ति भए पनि बढ्दो मनोवैज्ञानिक त्रासले आवश्यकताभन्दा बढी सामान खरिद गरेर राखिदिने क्रमले मागअनुसारको आपूर्तिमा असहज भएको उनले बताइन् । भनिन्, ‘मनोवैज्ञानिक त्राससँगै ग्राहकले दैनिक उपभोग्य खाना पकाउने ग्यास, दाल, चामल, चिनी, नून जस्ता चिजबिज आवश्यकताभन्दा बढी नै किनेर लैजाने गरेका छन्।’
प्रतिक्रिया दिनुहोस !