हजुरआमाको हत्या आरोपमा एक पक्राउ
डडेल्धुरा : घरायसी विवाद हुँदा डडेलधुरामा एक नातीमाथि हजुरआमाको हत्या गरेको आरोप लागेको छ। आफ्नै नातीले विवाद हुँदा घरायसी प्रयोजनमा प्रयोग हुने मुसलले हानेर हजुरआमाको हत्या गरेको आरोप लागेको हो।
जिल्लाको गन्यापधुरा-२ कुवरगाउँ बस्ने २४ वर्षीय रोशनराज गिरीले आफ्नै ७३ वर्षीया हजुरआमा राधादेवी गिरीको हत्या गरेको आरोप लागेको हो।
रोशनराजले धान कुट्ने काठ (मुसल)ले टाउकोमा हिर्काएर हजुरआमालाई घाइते बनाएका थिए। घाइते भएकी वृद्ध गिरीलाई उपचारको लागि डडेलधुरा लैजाने क्रममा घटनास्थलबाट करिब ५० मिटरको दुरीमा पुर्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताउ।
घटनामा संलग्न मृतकका नाती रोशन राज गिरीलाई अमरगढी नगरपालिका-११ फिन्नेकोटलस्थित लिटिरगाउँको जंगलबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए।
‘प्रारम्भिक जानकारी अनुसार घरायसी विवाद हुँदा नातीले हजुरआमालाई हिर्काएको भन्ने खुलेको छ’, प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। घटनामा संलग्न व्यक्तिलाई हिरासतमा लिएको छ। आवश्यक अनुसन्धान गरेर कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !