२ सय ७४ कोरोना संक्रमित क्वारेन्टाइनमै
जनकपुरधाम : गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतको विवादमा अल्झिएको महोत्तरीको एक गाउँपालिकामा कूल ५०९ जना कोरोना संक्रमित भेटिएका छन् । महोत्तरी स्थित सिमावर्ती क्षेत्र सम्सी गाउँपालिकामा कूल ५ सय ९ कोरोना संक्रमित भेटिएको हो ।
एकै गाउँपालिकामा धेरै संख्यामा कोरोना संक्रमण भेटिएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयनमा बसेको आकस्मिक बैठकबाट नियन्त्रात्मक तथा उपचारात्मक रणनीति अपनाएको छ । संक्रमित भेटिएको गाउँपालकालाई सिल गरी तत्काल सबैलाई आइसोलेशन पठाउनुपर्ने भए पनि आइसोलेशन अभावमा संक्रमितलाई क्वारेन्टाइनमै राखिएको गाउँपालिका अध्यक्ष मो. शेष फारुखले जानकारी दिए ।
छिमेकी मुलुक भारतबाट कूल १२ सय जना क्वारेन्टाइनमा बसेकाहरु मध्ये ७ सय ५० जनाको रिपोर्टमध्ये २ सय ७४ जनामा कोरोना संक्रमण भेट्टिएको र ४ सय ५० जनाको रिपोर्ट आउन अझै बाँकी रहेको अध्यक्ष शेखले बताए । उनले भने, ‘केही क्वारेन्टाइन अव्यवस्थित भएको कारण संक्रमण बढेको म आफैँ स्विकार्छु, मलाई सहयोग गर्ने कोही पनि भएन, म एक्लै कहाँ कहाँ कसरी गर्नु ?’
अध्यक्ष फारुख शेखले क्वारेन्टाइनमा बसेकाको लागि पिसिआर किटसमेत आफैँ किनेर परीक्षण गराएको दुःखेसो पोख्दै भने, ‘हामीलाई प्रदेश सरकारबाट हालसम्म कुनै सहयोग प्राप्त भएको छैन, आइसोलेशनसमेत नेपाली सेनाको सहयोगमा गाउँपालिकाले नै बनाउन लागेको छ । काम गर्ने बेलामा अधिकृत, कर्मचारीमा गुट–उपगुट विभाजन भएर म एक्लो भएँ अहिले काम गर्न धौ–धौ परेको छ ।’
संक्रमण फैलिएको क्षेत्रलाई सिल गरेर परीक्षणको गति बढाउने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताए । ‘संक्रमित क्षेत्रलाई पूर्ण रुपमा सिल गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छौं’, उनले भने, ‘सम्सीका सबै क्वारेन्टाइनलाई स्वायब संकलन गरी परीक्षण अघि बढाउँदैछौं ।’ स्वाब संकलनका लागि उपलब्ध भएजति भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) दिएर जनशक्ति परिचालन गरेको उनले बताए ।
कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिनु चिन्ताजनक तथा कमजोरी भएको तथा एउटै गाउँपालिकामा धेरै संख्यामा कोरोना संक्रमित भेटिनुले हटस्पोट घोषणा गरेर स्वाब संकलन कार्य अघि बढाउने तयारी गरेको जनाए । उनले भने, ‘संघीय सरकारले आवश्यक सहयोग समयमै उपलब्ध नगराउँदा नियन्त्रणात्मक कार्यलाई गति दिन सकिएन । संघीय सरकारले सुरुमै पिसिआर मेसिन पठायो, त्यसले सही रिपोर्ट दिएन । अर्को रियल टाइम पिसिआर मेसिन पठायो, त्यसलाई चलाउन आवश्यक उपकरण नै पठाइदिएन।’त्यस्तै भिटिएम र अन्य किट आवश्यकता अनुसार नपठाइदिँदा नियन्त्रणात्मक कार्य पर्याप्त हुनेगरी अघि बढाउन नसकिएको उनले बताए । ‘संख्या अझै बढ्न सक्ने देखिएको छ,’ उनले भने, ‘परीक्षणको आयतन बढाएपछि समुदायका कति मानिस संक्रमित छन्, यकिन हुनेछ ।’
क्वारेन्टाइन, आइसोलेन र कोभिड विशेष उपचार अस्पताल थप्न लागेको मन्त्री यादवले बताए । उनले भने, ‘सघन जनसंख्या भएको यस प्रदेशमा संक्रमण दू्रत गतिमा फैलिए अकल्पनीय परिस्थिति उत्पन्न हुन सक्नेमा हामी सचेत छौं, पहिचान, परीक्षण र उपचारको गति तीव्र गरिए पनि प्रदेश सरकारले मात्र गरेर सम्भव छैन् ।’
प्रादेशिक अस्पताल कोभिड–१९ बिरामीको उपचारको नेतृत्व गरिरहेका डा. विजय झाले भने, ‘श्रोत, साधनको अभावमा क्वारेन्टाइनमै भएका सम्भावित संक्रमितहरुको समेत स्वायब संकलन गर्न नसकिएको स्विकारे । उनले भने, ‘कतिपय ठाउँमा समयमै नचेत्दा समुदायमा संक्रमण फैलिसक्यो, जसको डर थियो, आखिर त्यही भयो, तर चाहेर पनि परीक्षणको दायर बढाउन सकिएको छैन् । प्रदेश २ को घना बस्ती छ, बस्तीमा सघन परीक्षण आवश्यक छ तर स्वायब परीक्षण नगरेसम्म समुदायमा कति संक्रमित छन्, अनुमान गर्न गाह्रो छ ।’
उनले भने,‘संक्रमणको अवस्था हेर्दा तत्काल पाँचदेखि सात हजार भिटिएम आवश्यक छ। मुस्लिम बस्तीमा घरघर स्वाब संकलन गर्नुपर्छ। समुदायका कति मान्छेमा संक्रमण छ, त्यो यकिन गर्न जति ढिला भयो अवस्था उति गम्भीर हुँदै जान्छ।’ संक्रमित यकिन गर्न सकिए उनीहरुलाई एकल्याएर राख्न सकिने र अर्को मानिसमा संक्रमण नफैलिने उनले बताए ।
केहीदिन अघि सम्सी गाउँपालिकाका अध्यक्ष मो. शेख फारुखले प्रशासकिय अधिकृत रामजी जोशी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरी स्थित बर्दिबास कार्यालयमा उजूरी दर्ता गराएका थिए । उनले गाउँपालिका सभा सम्पन्नपछि सार्वजनिक खरिद नियमावली २०६४ लाई वेवास्ता गरी माग फारम, खरिद आदेश तथा दाखिला प्रतिवेदनमा एकल हस्ताक्षरका लागि दवाव दिएको आरोप सहित अख्तियारमा उजुरी दिएको थियो । सोही समयदेखि गाउँपालिका अध्यक्ष फारुख शेखलाई उपाध्यक्ष नगिना देवी र वडाअध्यक्षहरुले असहयोग गर्दै आएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !