हाईअल्टिच्युड शैलुङ रंगशालालाई बागमती प्रदेशले दियो एक करोड
दोलखा : दोलखाको शैलुङ गाउँपालिकामा हाईअल्टिच्युड शैलुङ रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको छ। शैलुङ गाउँपालिकाले २ सय मिटर लम्बाई र १५० मिटर चौंडाईको मैदान तयार गरी प्रस्ताव पेश गरेपछि आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत हाईअल्टिच्युड शैलुङ रंगशाला निर्माणका लागि बागमती सरकारले सो रकम विनियोजन गरेको हो। समुन्द्री सतहबाट २०१० मिटरको उचाईमा रहेको शैलुङ गाउँपालिका–५, काटाकुटीस्थित फोक्टेमा करिब ५ हजार जना अट्न सक्ने हाईअल्टिच्युड रंगशाला निर्माणाधीन छ।
विभिन्न अन्तराष्ट्रिय मापदण्डअनुसार २००० मिटरभन्दा माथिल्लो भूभागमा बनेका रंगशालालाई हाईअल्टिच्युड हुने प्रावधानअनुसार तत्कालीन काटाकुटी गाउँ विकास समिति हालको शैलुङ गाउँपालिकाले २०७० सालमा स्थानीय खेल मैदानको रुपमा सुरु गरेको थियो। खेल मैदान निर्माणका लागि तत्कालीन गाविसले ५० हजार रकम विनियोजन गरेर काम सुरु गरेको स्थानीयको भनाई छ।
गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने खेलमैदानलाई हाईअल्टिच्युड रंगशालाको रुपमा विकास गर्ने गरी कामले गति लिएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दूलालले जानकारी दिए। उनले भने, 'रंगशाला निर्माणका लागि जमिन सम्याउने, टेवा पर्खाल लगाउने लगायतका कार्यहरुमा हालसम्म करिब दुई करोड रकम खर्च भइसकेको छ।'

बागमती सरकारबाट प्राप्त हुने आगामी आर्थिक वर्षमा प्राप्त हुने एक करोडबाट खेल मैदानको प्याराफिट बनाउने तथा अन्य आवश्यक भौतिक पूर्वाधारहरुको निर्माण सुरु गरिने अध्यक्ष दुलालले बताए।
हाईअल्टिच्युड रंगशालाको रुपमा निर्माण गर्नका लागि डिपीआरको आधारमा आवश्यक अन्य कामहरु क्रमश अगाडि बढाइने अध्यक्ष दुलालको भनाई छ। हाईअल्टिच्युड रंगशालाको निर्माणपछि शैलुङ गाउँपालिका खेल पर्यटनका दृष्टिले पनि नेपालमै आकर्षक गन्तव्य बन्ने अध्यक्ष दुलालले दाबी गरे।
प्रतिक्रिया दिनुहोस !