पाल्पामा पुग्यो सलह
तानसेन : नेपालको तराई क्षेत्र हुँदै पाल्पाका विभिन्न क्षेत्रमा सलह किरा प्रवेश गरेको छ। प्रदेश २ हुँदै रुपन्देहीको बुटवल, सैनामैना र तिलोत्तमा क्षेत्रमा शनिबार दिउँसो आइपुगेको सलह किरा साझ पख पाल्पाका विभिन्न क्षेत्रमा पुगेको हो।
पाल्पाको माडीफाँट, सराई, पोखराथोक, तिनाउँ गाउँपालिकाको दोभान, झ्याङ्ला क्षेत्रमा सलह किरा आएर बास बसेको कृषि ज्ञान केन्द्र पाल्पाले पुष्टि गरेको छ।
बगनासकालीको वडा नम्बर १ चिरतुङ्गधारा, वडा नम्बर २ पोखराथोक, वडा नम्बर ३ नायर, माथागढी गाउँपालिकाको वडा नम्बर ३ कसेनी, तानसेन नगरपालिकाको वडा नम्बर ८ मदनपोखरा, वडा नम्बरं ९ दमकडा, रैनादेवी छहरा गाउँपालिकाको वडा नम्बर ४ छहरा, वडा नम्बर ५ मझुङ्ग, वडा नम्बर ३ भुवनपोखरी क्षेत्रमा सलह किरा प्रवेश गरेको रैनादेवी छहरा वडा नम्बर ४ का भुवन रायमाझीले बताए।
किसानहरुले थाल ठटाउने, आगो बाली धुवाँ गराउने, जस्ता कृयाकलाप गरी बाली नालीमा बस्न नदिएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव प्रसाद अर्यालले बताए। पाल्पामा बास बसेको सलह किरा किसानको खेतवारीमा रहेका ठुला ठुला रुखमा बास बसेकोले आ आफ्नो वाली नाली जोगाउन सावधानी अपनाउन सार्वजनिक सूचना समेत संचार माध्यम बाट जारी गरेको कार्यालय प्रमुख अर्यालले बताए।
प्रतिक्रिया दिनुहोस !