स्वास्थ्यकर्मीको सरुवाविरुद्धमा स्थानीयले गाउँपालिका घेरे

स्वास्थ्यकर्मीको सरुवाविरुद्धमा स्थानीयले गाउँपालिका घेरे

धादिङ : विगत लामो समयदेखि काम गरिरहेका स्वास्थ्यकर्मीको अन्यायपूर्ण ढंगले सरुवा गरेको भन्दै धादिङको सिद्धलेक गाउँपालिका ६ कुम्पुरका स्थानीय विरोधमा उत्रिएका छन् । जनचाहना विपरित जनप्रतिनिधिले कदम चालेको भन्दै आइतबा र स्थानीयले गाउँपालिका घेराउ गरेका हुन् ।

सिद्धलेक गाउँपालिकालको कुम्पुर स्वास्थ्य चौकीमा काम गरिरहेका स्वास्थ्य चौकी प्रमुख रकिम अन्सारीलाई प्रतिसोध साँधेर अन्यायपूर्ण तवरबाट अन्यत्र सरुवा गरिएको भन्दै स्थानीयबासीले विरोध जनाएका हुन् । 

लामो समयदेखि सेवा दिइरहेका अन्सारीलाई स्थानीयको चाहानाविपरित अन्यत्रै पठाएर स्वास्थ्य चौकीमा अन्योलता सिर्जना गरेको भन्दै सेवाग्राही गाउँपालिका पुगेका हुन् । स्थानीय पदम श्रेष्ठले भने, 'हामीकहाँ बर्षौ सेवा दिएको मान्छेलाई व्यक्तिगतरुपमा प्रतिसोध साँधेर जनचाहनाविपरित अन्तै पठाइने निर्णय गाउँपालिकाले गरेको छ, जनताको सेवाको लागि भनेर चुनाव जितेका जनप्रतिनिधिको यो निर्णय जनचाहना विपरीत छ, त्यसैले विरोध स्वरुप गाउँपालिकामा धर्ना दिएका हौँ ।'

अन्सारी विगत २४ वर्षअघिदेखि कम्पुर भन्ज्याङस्थित स्वास्थ्य चौकीमा सेवारत थिए । उनी उक्त स्वास्थ्य चौकीका इन्चार्ज समेत हुन् । गत वर्षको कर्मचारी समायोजनमा उनले सिद्धलेक गाउँपालिका नै रोजेका थिए । मन्त्रालयबाट सिद्धलेक गाउँपालिकामा समायोजन भएको पत्र ल्याएर बुझाएपछि आफूलाई प्रतिसोध साँधेर काम गरिरहेको ठाउँ भन्दा अन्यत्रै पठाएको भन्दै उनी गएका छैनन् । 

'स्वास्थ्य चौकी प्रमुखले भ्रष्टाचार गरेकाले सरुवा गरेको भनेर गाउँपालिकाले भनेका छन्,' अर्का स्थानीय सोम बहादुर मगरले भने, 'भ्रष्टाचार गरेको भए कारवाही गर्ने पो हो त, झन अन्त सरुवा गरेर उन्मुक्ती दिन मिल्छ ? यसै त स्वास्थ्यकर्मी कम छन्, त्यही पनि अर्को ब्यवस्था नगरि एकैपटक हटाउन पाइदैन भनेर गाउँपालिका घेराउ गरेका हौँ ।'

गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले भने लामो समयसम्म एकठाउँमा काम गरेर स्वास्थ्य चौकी र व्यवस्थापन भद्रगोल बनाएका कारण अन्यत्रै खटाएको बताएका छन् । केही स्थानीयसँगको मिलेमतोमा कार्यालय समेत नजाने, आर्थिक हिसाब किताब अस्तव्यस्त राखेको र व्यवस्थापन समिति अध्यक्ष (वडाअध्यक्ष) सँग कुनै सरसल्लाह नै नगरी स्वास्थ्य चौकी संचालन गरेकाले उनलाई पालिका भित्रकै अर्को स्वास्थ्य संस्थामा पठाइएको अध्यक्ष सिलवालले बताए । 

अध्यक्ष सिलवालले भने, 'गाउँपालिका घेर्न आउने भीड प्रायोजीत हो, स्थानीयबासीको आवरणमा घुसपैठ गरेर गाउँपालिका विरोधीहरु आन्दोलन गर्न आएका हुन्, स्वास्थ्यकर्मी हटाइएको बहाना मात्रै हो ।'

विगत ४÷५ वर्षअघिदेखि लेखापरीक्षण नगराएको, आर्थिक हिसाब किताब अपारदर्शी भएकाले प्रश्न उठाउँदा गाउँपालिकाको विरोध गर्न घटनालाई अन्तै मोड्न अन्सारीले स्थानीयबासी उचालेको आरोप सिलवालले लगाएका छन् । 'गाउँपालिकाले उनलाई गत माघमा नलाङ स्वास्थ्य चौकीमा खटाएको हो, सिलवालले भने, 'गाउँपालिकालाइ नटेरेर यत्तिका समय बस्ने, अहिले जनता उचालेर आन्दोलन गर्नुमा पक्‍कै पनि बाहिरी तत्वहरुको केही स्वार्थ छ ।'

यता स्वास्थ्यकर्मी रकिम अन्सारीले भने वडा अध्यक्षले प्रतिसोध साँधेर आफूलाई अन्याय गरिएको दावी गरेका छन् । व्यवस्थापन समितिको अध्यक्षसमेत रहने वडा अध्यक्षलाई स्वास्थ्य चौकीमा बैठक बस्न बोलाउँदा समेत स्वास्थ्य चौकीमा नआएको, विगत ३ वर्षअघिदेखि स्वास्थ्य चौकीको खाता संचालन समेत नभएको अवस्थामा अहिले आफूलाई भ्रष्टाचार गरेको आरोप लगाएर अन्यत्र सरुवा गरिएको बताए।

अन्सारीले भने, 'मैले भ्रष्टाचार गरेको भए छानविन गर्नुपर्‍यो नी, अन्त पठाएपछि चै मैले भ्रष्टाचार गरेकै भएपनि माफ हुने हो ? कर्मचारीले भ्रष्टाचार गरको पुष्टि भएमा कारवाही गर्ने निकाय होला, त्यही बहाना बनाएर प्रतिसोधपूर्ण ढङ्गले सरुवा गरिएकाले म गाउँपालिकाले खटाएको ठाउँमा नगएको हुँ ।'
 
स्वास्थ्य चौकीको खाता संचालन हुन नसक्दा विगत ३ वर्षदेखि स्वास्थ्यकर्मीहरुको प्रोत्साहन भत्ता समेत उपलब्ध गराउन नसकेको अन्सारीले बताएका छन् ।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.