छोरीलाई संक्रमण, बाबुआमा पनि आइसोलेसनमा
दमौली : सत्यवती मावि दमौलीको क्वारेन्टाइनमा बसेकी व्यास नगरपालिकाकी १४ वर्षीया किशोरीमा शनिबार कोभिड पोजिटिभ देखियो । भारतबाट आए यता दुई सातादेखि बाबुआमासँगै क्वारेन्टाइनमा बसिरहेकी उनमा पोजिटिभ देखिए पनि बाबुआमा दुवैमा कोभिड नेगेटिभ देखिएको छ ।
नियमअनुसार किशोरी क्वारेन्टाइनमा जानुपर्ने हो । उनले त्यसै गरिन् । तर उनी मात्र नभइ बाबु आमा पनि छोरीसँगै गए । ‘छोरीलाई एक्लै नछाड्ने भनेर बाबुआमाले नै जाने इच्छा गरेपछि अनुमति दिएका छौं,’ व्यास नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले भने ।
स्वास्थ्य अधिकारीले बाबु वा आमामध्ये एक मात्र जान सुझाए पनि दुवैले छोरीसँगै रहने निर्णय गरेपछि तीनै जनालाई व्यास १ को आदिकवि भानुभक्त क्याम्पसस्थित क्वारेन्टाइनमा राख्नका लागि अनुमति दिइएको हो । ‘एक जना मात्र बस्नु भने पनि सानी उमेरकी छोरीलाई छाड्न बाबुआमै तयार नभएपछि दुवैजनासँगै बस्ने प्रबन्ध मिलाइएको छ,’ उनले भने ।
सोतीका अनुसार कोठा एउटै भए पनि संक्रमित र गैर संक्रमितलाई अलग्गै बस्न र एक अर्कालाई नछुनका लागि सचेत गराइएको छ । ‘छोरीको सुरक्षा र स्याहारका लागि आमाबाबुसँगै रहने कुरालाई हामीले सकारात्मक नै लिएका छौं,’ उनले भने,‘तर संक्रमण नफैलन सचेत रहन भनेका छौं ।’
क्याम्पसको आइसोलेसनमा महिला नभएकाले पनि अभिभावकले छोरीको सुरक्षामा विशेष चासो राखेर सँगै जाने निधो गरेका हुन् । हाल आदिकविको आइसोलसनमा ३५ जना पुरुष छन् । ‘छोरीको सुरक्षाका लागि पनि हामी सँगै जाने निर्णय गरेका हौं,’ बाबुले भने,‘उनलाई निको भएपछि सँगै घर फर्कन्छौं ।’