कोरोनाले खोस्यो सहारा

कोरोनाले खोस्यो सहारा

दैलेख : दुल्लु नगरपालिका-३ का ४५ वर्षीय लक्ष्मण बुढा मजदुरीका लागि भारत जान्थे। गाउँघरमा परिवारको छाक टार्ने उपाय नहुँदा उनलाई भारत पस्ने बाध्यता थियो। केही समय अघि घर आएका उनी बिरामी भए।

रोगले च्यापेपछि पत्नी विष्णु बुढाले असार २ गते प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिन्। तर, उपचारकै क्रममा लक्ष्मणको अस्पतालमै मृत्यु भयो। उनको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा कोरोना देखियो। आईसीयूमा राखेर उपचार भइरहेका बेला बुढाको निधन भएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए। अन्तिम पटक श्रीमान्को मुखसमेत हेर्न नपाएकी ४० वर्षीया विष्णु भने रित्तौ घर फर्किइन्।

मृत्तकको शवलाई नेपाली सेनाले सुर्खेतमै अन्त्येष्टि गरेको थियो। अहिले यो परिवार शोकमा छ। ‘अस्पतालमा उपचार भएपछि निको होलान् भन्ने सोचेकी थिएँ’, बिष्णुले भनिन्, ‘ श्रीमान्को अन्तिम पटक मुख हेर्न पनि पाइँन, पापी कोरोनाले हाम्रो सहारा नै खोस्यो। घरमुली नै नरहेपछि अब घरखर्च कसरी चलाउने ? परिवारको बिचल्ली हुने भयो।’ बुढेसकालका सहारा तीन छोरीहरुको बिहे भइसकेको छ, दुर्ई छोरी र दुई छोरा घरमै छन्।

दुल्लु नगरपालिका-११ खागीतडाका ३५ वर्षीय कर्णबहादुर थापा पनि एक वर्षयता भारतमै थिए। उनी अहमदाबाद्स्थित एक होटलमा कार्यरत थिए। कोरोना संक्रमण बढ्दै गएपछि साथीहरुसँगै घर फर्किएका उनको क्वारेन्टाइनमै ज्यान गयो। घर पुग्न नपाउँदै जेठ १७ गते उनको निधन भयो। थापाकी पत्नी, एक छोरा र एक छोरी छन्। उनको मृत्युपछि बालबच्चाको पालनपोषणमा चिन्ता थपिएको छ। ‘भारतबाट फर्किदा बाटोमा सामान्य ज्वरो आएको थियो भन्ने सुनेका थियौ, यहाँ आइसकेपछि बेलैमा परीक्षण भएन’ मृतकका परिवारको गुनासो छ, ‘हामीले परिवारको सहारा गुमायौं, कोरोनाले प्राण लग्यो।’

यस्तै कोरोना त्राससँगै भारतबाट आएका दुल्लु नगरपालिका-१० गमौडीका २१ वर्षीय ऋषि जैसीले घरमै आत्महत्या गरे। उनमा पनि कोरोना संक्रमण देखियो। ती युवक जेठ ११ गते भारतको अहमदाबाद्बाट गाउँ आइपुगेको थिए। भारतबाट फर्र्किएका ती युवक पञ्चकोशी माविस्थित क्वारेन्टाइनमा बसेका थिए। क्वारेन्टाइनमा बसेको १४ दिनपछि आरडीटी विधिबाट गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि जेठ २५ गते घर पठाइएको थियो। क्वारेन्टाइनबाट फर्किएको १६ दिनपछि झुण्डिएको अवस्थामा ती युवकको शव फेला परेको थियो। आत्महत्यापछि गरिएको पीसीआर परीक्षणमा उनको कोरोना पोजेटिभ थियो।

ऋषिको मृत्युसँगै परिवार शोकमा डुवेको छ। दुई छोराको सहारामा बाँचिरहेकी मनसरा जैसीको जीवनको सहारा गुमेको छ। १२ वर्षअघि घर छोडेर हिँडेका उनका पतिले अहिलेसम्म घरको दैलोसम्म टेकेका छैनन्। ‘दुई दाजुभाई नै भारतमा थिए, १६ वर्षको कान्छो छोरा लकडाउन हुनु अघि नै घरमा आयो,’ उनले भनिन्, ‘जेठो छोरो दशैंमा घर आउँछु भन्थ्यो, कोरोनाले जेठमै घर फर्कियो।’ आत्महत्या गर्नैपर्ने घरायसी कुनै समस्या नभएको मनसरा बताउँछिन्। ‘भारतबाट फर्किएर केहीदिन क्वारेन्टाइनमा बस्यो, क्वारेन्टाइनबाट घर फर्किएपछि बिरामी पर्ला भन्ने डरले कुनै काममा लगाएको थिइँन, यो कारोना नभएको भए किन घरमा आएर आत्महत्या गथ्र्यो होला र ? ’ उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.