लापरवाहीले समुदायमै संक्रमण
धनगढी : कैलालीको गौरीगंगा नगरपालिका १ लठैयाका चन्द्र विक र भीम विक दाजुभाइ हुन्। दुबै जना भारतको नयाँ दिल्लीबाट लकडाउनकै बीच जेठ ११ गते गौरीफन्टा नाका हुँदै घर फर्र्किए। उनीहरूलाई स्थानीय पशुपति माविको क्वारेन्टाइनमा राखियो। क्वारेन्टाइनमा जेठ १८ गते गरिएको आरडीटीमा परीक्षणमा उनीहरु सहित ५० जनामा कोरोना पोजेटिभ देखियो।
त्यसपछि जेठ २१ गते उनीहरूको थ्रोट स्वाब संकलन गरियो। एक हप्ता बितिसक्दा पनि रिपोर्ट नआएपछि उनीहरुले क्वारेन्टाइनमै विरोधस्वरुप नारा लगाए। उनीहरु २८ गते क्वारेन्टाइन छाडेर घर गए। उनीहरुको रिपोर्ट असारको ४ गते मात्रै आयो। स्वाब संकलन भएका ५० जना मध्ये चन्द्र विक र भीम विकसहितका १८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आयो।
चन्द्र र भीमलाई क्वारेन्टाइनबाट आन्दोलन गरी घर आएकोमा पछुतो पनि छ। चन्द्रको परिवारमा ५ जना छन् भने भीमको परिवारमा ७ जना। फुपू गोला विकको घर पनि उनीहरुको सँगै जोडिएको छ। हाल वडा कार्यालयले रातो रिवन लगाएर उनीहरुको घर क्षेत्र सिल गरेको छ। ‘परिवारमा पनि संक्रमण भयो कि भन्ने चिन्ता छ’ चन्द्र विकले भने।
वडा कार्यालयले लगाएको रातो रिवन शुक्रबार मात्रै वडाध्यक्ष जयराम चौधरी र स्वास्थ्यकर्मीहरू गएर हटाए। ‘उनीहरुले थर्मल गनले हाम्रो ज्वरो नापेर कोरोना मुक्त भएको जानकारी गराए।’ चन्द्रले भने, ‘पिसिआर नगरी हामी कसरी कोरोना मुक्त भयौं ? राज्यले लापरवाही गरिरहेको छ।’
गौरीगंगा नगरपालिका १ झीलका कृष्णबहादुर रम्तेललाई पनि क्वारेन्टाइनमा आरडीटी पोजेटिभ देखिएपछि जेठ १८ गते स्वाब संकलन गरियो। १३ दिनसम्म पनि रिपार्ट आएन। त्यसमाथि वडा कार्यालयले जेठको ३० गते रम्तेलसहितका भारतबाट फर्केका व्यक्तिहरूलाई घर पठायो। असार ४ गते आएको रिपोर्टमा रम्तेलको पिसिआर पोजिटिभ देखिएको छ।
‘घरमा आमा र बहिनी छन्। रिपोर्ट आउनु अघि धेरै सँग घुलमिल भइयो। अहिले रिपोर्ट पोजेटिभ देखिएपछि सबैमा त्रास छ। वडा कार्यालयले कसैको पनि स्वाब लिन मानिरहेको छैन। अब परिवारका सबैको पिसिआर गर्नुपर्छ।’
यस्तै लापरवाहीका कारण डोटीको शिखर गाउपालिकामा समुदायमा संक्रमण फैलिएको छ। श्रीमान संक्रमित भएपछि सोही नगरपालिकाको ३ का तीन जना महिला र ६ का एक जना महिला संक्रमित भएका छन्।
‘हामीले घरमा पठाएर गल्ती गयर्यौं। निर्देशिकामा जे भनिए पनि, उनीहरुका परिवारको स्वाब परीक्षण हुनुपर्छ।’ डोटीबाट प्रदेश सभा सदस्य पूर्णा जोशीले भनिन्, ‘१५ जना संक्रमितका श्रीमतीहरूको मात्रै स्वाब संकलन भयो, ती मध्ये ४ जनामा कोरोना पुष्टि भएको छ। यसलाई चरम लापरवाही भन्नुपर्छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा व्यवस्थापन इकाइका प्रमुख डा. गुणराज लोहनीले जेठको २० गते सबै कोभिड अस्पताललाई परिपत्र गरी आइसोलेसनमा रहेका संक्रमित मध्ये लक्षण नदेखिएकालाई १४ दिन र लक्षण देखिएकालाई लगातार तीन दिनसम्म लक्षण नदेखिएमा पिसिआर परीक्षण नगरी घर पठाउन निर्देशन दिएको छ।
सरकारको यस निर्णयको त्यतिबेलादेखि विरोध हुँदै आइरहेको छ। सर्वोच्च अदालतको न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले असार ८ गते आइसोलेसनमा रहेका कोरोना संक्रमितको पिसिआर जाँच गरी नेगेटिभ भएपछि मात्र घर पठाउन अन्तरिम आदेश जारी गरेको छ।
सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले पनि समुदायमा कोरोना तीव्र रुपमा फैलिएको भन्दै निर्णय सच्याउन आग्रह गरेका छन्। साथै प्रतिपक्षी दलले यो निर्णय सच्चाउन माग गर्दै असार ११ गतेदेखि संसद अवरुद्ध नै गरेको छ।
प्रतिपक्षी दलले कैलालीका विभिन्न स्थानको अनुगमन गर्दै स्थानीयमा त्रास कायमै रहेको र संक्रमितका परिवार माथि भेदभाव भइरहेको बताएको छ। संक्रमितलाई छिमेकीले गर्ने व्यवहार नै फरक छ, त्यसैले संक्रमितको पुनः पिसिआर गर्नुपर्ने माग गरेका छौं।’ प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले। त्यसैगरी वडाध्यक्ष जीतराम चौधरीले पनि गाउँमा कोरोना संक्रमित पुगेपछि सबैमा त्रास फैलिएको बताए।