दुर्गमको हिले गाउँ : जहाँ छ अर्ग्यानिक खुसी

दुर्गमको हिले गाउँ : जहाँ छ अर्ग्यानिक खुसी

बागलुङ : भुगोलका हिसाबले निकै दुर्गम । चारैतर्फ हरियो जंगले घेरेको बीचमा एक उपत्यका जस्तो गाउँ । जिल्लाको ताराखोला गाउँपालिकाको वडा नम्बर ५ ठुलो हिले गाउँ नपुग्दासम्म कहिले पुगिएला जस्तो सकस हुन्छ । पुगेपछि भने सबै थकान बिर्सिइन्छ । 

दुर्गममा भएकाले जिल्लाबाहिरका त कुरा छाडौं, जिल्लाभित्र र ताराखोला गाउँपालिकाका समेत अधिक मानिस यो गाउँ पुगेका छैनन् । जिल्ला सदरमुकामबाट यो गाउँ पुग्ने र राजधानी काठमाडौं पुग्ने दुरी र भाडादर एकै छ । सदरमुकामबाट कच्ची सडक हुँदै गाउँ पुगेको ७ सय ५० रुपैयाँ भाँडा पर्छ । गाउँका बालबालिका र युवा माध्यमिक शिक्षा हासिल गर्न दैनिक २ घण्टा पैदल हिँडेर स्कुल पुग्छन् । गाउँपालिकाको केन्द्रमा सेवा लिन आउनै तीन घण्टाको पैदल यात्रा गर्नुपर्छ । 

ठुले हिले गाउँमा २२ घर परिवार छन् । भौगोलिक दुर्गमता देखेर धेरैलाई लाग्छ, यो ठाउँमा बस्नेहरु कति दुःख, पीर र सकसमा बाँचिरहेका होलान् ? तर यहाँका स्थानीयमा शहर, परदेश, सुख सुविधा र बिलासिताको चाहना भेटिंदैन ।  

ढुंगा मेसिनले काटेर चिटिक्क बनाइएका सुन्दर घरहरु छन् । घर जस्तै सुन्दर गाउँ । गाउँ जस्तै सुन्दर छ गाउँलेको मन पनि । ‘यहाँ आउने धेरैलाई हामीहरु कयौं दुःख र अभाव झेलेर बाँचेका होलान् जस्तो लाग्ने रहेछ,’ स्थानीय बसन्ती घर्तीले भनिन्,‘हाम्रा ठुला सपना छैनन्, हामी त आफ्नै गाउँमा आनन्द र खुशीपूर्वक बाँचिरहेका छौँ।’ शहर र विदेश पुगेकाले जस्तो जर्बजस्त खुसीदेखिनु र देखाउनु पर्ने  बाध्यता आफूलाई नभएकोले पनि घर्ती आफ्नो गाउँघरको खुसीर आनन्द फरक भएको जिकिर गर्छिन् । 

स्थानीय बुढापाका मात्र होइन, युवामा पनि पछिल्लो समय १० पास गरे हलो छोड्ने र १२ पास गरे थलो छोड्ने सोच देखिंदैन । अरु गाउँघरमा मुश्किलले देख्न पाइने युवा ठुलो हिले गाउँमा धेरै छन् । सानो गाउँमा अहिले ३५ भन्दा बढी भर्खरका युवा रहेका स्थानीय मिर्मिरे युवा क्लबका अध्यक्ष रामबहादुर पाइजाले बताए । ‘विदेश जाने लहर चलेको छ भन्ने त सुनिन्छ, तर हामीकहाँ विदेश जाने हुटहुटी लहर कत्ति पनि छैन भन्दा हुन्छ,’ पाइजाले भने, ‘बरु यही आलु, च्याउ, भांगो, जडिबुटी उत्पादन, संकलन तथा ढुंगाखानी लगायतमा घरायसी श्रम गरेर आयआर्जन गर्ने र आत्मनिर्भर बन्ने बनाउनेमै बढि जोड छ । यसमै युवाहरु खुसीर सन्तुष्ट छन् ।’

उसो त यस गाउँमा पछिल्लो समय स्थानीय र प्रदेश सरकारको पनि नजर पुग्न थालेको छ । स्थानीय ताराखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा हालै मात्र होम–स्टे सञ्चालनमा ल्याइएको छ । यही गाउँमा गण्डकी प्रदेश सरकारको एक स्थानीय तह, एक खेल ग्राम अन्तर्गत २० लाख रुपैयाँको लागतमा आकर्षक खेलग्राम निर्माण कार्य अन्तिम चरणमा छ । ‘यातायातको असहजताबीच हामी पहिले पनि खुसीथियौँ, अहिले त झन सडक जोडिएको छ,’ स्थानीय सामाजिक अगुवा तथा होम स्टे सञ्चालक समितिका अध्यक्ष तेजेन्द्र श्रीसले भने, ‘सडकसँगै सुविधा पनि थपिन थालेपछि गाउँमै बसेर काम गर्ने गाउँलेको सोँच र सपनामा थप उत्साह मिलेको छ । यहाँका युवामा बाहिर या विदेश जाने साोच अबका दिनमा पनि आउन नदिन थप सम्भावना र अवसर सिर्जना गर्न लाग्छौँ ।’

अहिले ताराखोला गाउँपालिकाले सबै भन्दा दुर्गम मानिएको यस ठाउँको पर्यटकीय विकासका लागि साइकल ल्याण्डको नयाँ योजना अघि सारेको छ । ठुले हिले गाउँबाट प्राकृतिक हराभरा, बनजंगल, हिमश्रृखंलाका दृश्यका साथै म्याग्दीका विभिन्न स्थान, बागलुङको ढोरपाटन लगायतका स्थान पनि देख्न सकिन्छ । यो गाउँबाट करिब ४ घण्टा उकालो चढेर पुगिने डुडेलेक अर्को सम्भावनाको क्षेत्र हो । यहाँबाट सुन्दर दृश्य अवलोकन गर्न सकिने स्थानीय बताउँछन् । 

‘यो ठाउँ भौगोलिक रुपमा टाढा भए पनि प्राकृतिक हिसावले महत्वपूर्ण छ, यसमा अझ अर्को महत्वपूर्ण विषय यो गाउँमा अभाव र दुर्गमता भित्रको चुनौतिलाई पनि कसरी अवसरमा बदलेर सुखद जीवन व्यतित गर्ने भन्ने बुझ्न र अध्ययन गर्न पनि प्रेरक गाउँ हो,’ ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले भने, ‘यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँ आसपासको जंगलमा साइकलबाटै घुमेर प्रकृतिसँग रमाउने गरी साइकल ल्याण्ड बनाउन अहिले १५ लाख बजेट बिनियोजन गरिसकेका छौँ ।’ १० वटा साइकल खरिद गरेर सामुहिक रुपमा गाउँ, सुन्दर हराभरा बन जंगल र दृश्यहरुको अवलोकन गर्ने व्यवस्था गरिने अध्यक्ष घर्तिले बताए । अब गाउँपालिकाका सबै वार्ड र टोललाई स्थानीय सम्भावना अनुसार छुट्टाछुट्टै जोनको रुपमा विकास गरिने र सबै हिसावले दुर्गमता तोडिने अध्यक्ष घर्तिको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.