राहुघाटका ३० घर पहिरोको उच्च जोखिममा

राहुघाटका ३० घर पहिरोको उच्च जोखिममा

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका -३ राहुघाट बस्ती पहिरोको उच्च जोखिममा परेको छ । राहुघाट सल्लेरी बनको पाखोबाट पहिरो खस्न थालेपछि उक्त बस्ती जोखिममा परेको हो ।  सोमबार दिउँसोदेखि पहिरो खस्न थालेपछि राहुघाटका बासिन्दाले सामान सुरक्षित स्थानमा सार्न थालेको स्थानीय लक्ष्मण चालीसेले बताए । 'पाखोबाट खसेको पहिरो सिधै बस्तीमा पुग्ने भएकाले ज्यान जोगाउन विस्थापित हुनुपर्ने अवस्था आयो,' उनले भने, 'तीन घरले सामान सारिसकेका छन् । अरु पनि सर्ने तयारीमा छौं।'

राहुघाटमा करिब ३० घरपरिवारका १०० जनाको बसोबास छ । स्थानीयका अनुसार करिब ६० मिटर लम्बाई र ५० मिटर चौडाई भएको पाखोले ठाउँ छाडेर पाँच मिटर तल खसेको छ ।  सडक विस्तारका क्रममा डोजरले खनेको ठाउँमा टेवा पर्खाल नलगाएका कारण पाखो खसेर पहिरो जान लागेको राहुघाटका तमबहादुर छन्त्यालले बताए । पहिलो खसेको ठाउँ भन्दा माथि दुई वटा मुल फुटेर पानी बगिरहेको छ । 

'भूधरातल पहिल्यैदेखि कमजोर भएको ठाउँ हो । डोजर ड्राइभरले आफ्नै दंगले खनेको बाटो हो, उनले भने, 'भूगोल नबुझिकन अहिले बाटो विस्तार गर्दा पहिरोको जोखिम भयो ।'  पूर्वाधार विकास कार्यालय म्याग्दीले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तरगत गत वर्षदेखि राहुघाटदेखि पिप्ले-भगवति-बेगखोला जोड्ने सडक स्तरोन्नति सुरु गरेको थियो । सोही सडक भत्किएर गएको पहिरोले राहुघाटस्थित भरत मल्ल र बमबहादुर पुन लगायतको खेतबारी पुरिएको छ । 

म्याग्दीको रघुगंगा–३को राहुघाट सल्लेरी बनमा गएको पहिरो । तस्बिर :  सन्तोष गौतम

मल्लको करिब एक सय बाख्रा र आठ सय कुखुरा भएको कृषि फार्म पहिरोको जोखिममा परेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, जिसस प्रमुख देवेन्द्र केसीसहित सुरक्षा अधिकारीको टोलीले पहिरोको स्थलगत निरीक्षण गरेका थिए । 

स्थानीयबासीलाई घरका महत्वपूर्ण सामान सुरक्षित ठाउँमा सार्न र रातको समयमा त्यहाँ नबस्न आग्रह गरिएको सिडिओ ढकालले बताए । 'महत्वपूर्ण सामग्री, कागजात र गरगहना झोलामा स्ट्याडबाई राखेर जुनसुकै बेला भाग्न सक्ने अवस्थामा रहन आग्रह गरेका छौं, उनले भने, 'सबै घरमा प्रहरी पठाएर सतर्कता अपनाउन लगाएका छौं।'
 
पहिरोको जोखिममा रहेकालाई रातको समयमा राहुघाट पारी गलेश्वरको धर्मशालामा बस्ने व्यवस्था मिलाउने उनले बताए । पहिरोका कारण बेनी-जोमसोम र राहुघाट-पिप्ले-भगवति-बेग सडक जोखिममा परेको छ । राहुघाटहुँदै पिप्ले र गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक अवरुद्ध भएको छ । 

पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर ओमराज ढुङ्गानाले सडक विस्तारका क्रममा सावधानी अपनाइएको दावी गर्दै सडकको कारणले मात्र पहिरो नगएको तर्क गरे । नजिकै निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको सुरुङ खन्दा हुने बिस्फोटको कम्पन र सुरुङबाट निस्कने पानी सडकमा फालिएका कारण पहिरोको जोखिम बढेको उनको भनाइ छ ।  

कार्यालयका प्राविधिकको टोलीले समेत पहिरोको निरीक्षण गरेका थिए । थप क्षति हुन नदिन सडकबाट बगिरहेको भललाई व्यवस्थापन गरिएको उनले बताए । 

म्याग्दीको रघुगंगा–३को राहुघाट सल्लेरी बनमा गएको पहिरोको निरिक्षण गर्दै सुरक्षा अधिकारीहरुको टोली । तस्बिर : सन्तोष गौतम


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.