दैलेखमा बाढीको बितण्ड: खेत बने बगर, सिंचाइ कुलो र तटबन्ध भत्कियो, ७ घरमा क्षति

दैलेखमा बाढीको बितण्ड: खेत बने बगर, सिंचाइ कुलो र तटबन्ध भत्कियो, ७ घरमा क्षति

दैलेख : आठबीस नगरपालिका-१ सात्तलाको चिनेज्यूँला फाँटको जमिन उर्वर थियो । धान उत्पादनका लागि प्रख्यात उक्त फाँटको छेउबाट चिनेखोला (खहरे खोला) बग्छ ।  लगातारको बर्षातका कारण चिनेखोला खेतमा पसेपछि यस क्षेत्रमा रहेका सबै खेत बगर बनेका छन् । त्यहाँको झण्डै ५ किलोमिटर क्षेत्रफलमा रहेको खेतहरु अहिले बगर बनेका छन् ।

गत आइतबार रातीदेखि परेको अविरल वर्षातका कारण आएको खहरे खोलाले खेत नोक्सान गरेको हो । खोलाले खेत कटान गरेपछि सयौ बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । झण्डै ३ हजार क्वीन्टल धान उत्पादन हुने खेत बगर बनेको स्थानीय किसानले बताएका छन् । उक्त क्षेत्रमा धेरै किसानले रोपाइँ सकाइसकेका थिए भने केहि रोपाइँ गर्ने तरखरमा थिए ।

वडासदस्य समेत रहेका स्थानीय महासिंह रावतले भने, 'बर्षभरी पुग्ने चामल उत्पादन हुन्थ्यो, सबै खहरे खोलाले बगायो, म जस्ता एक सय बढी किसानको खेत बगरमा परिणत भयो ।'  

असार अन्तिम सातासम्म स्थानीय डिल्लीप्रसाद उपाध्यायको २५ मुरी धान फल्ने खेतमा लगाएको धान लहलहाउँदो भइसक्थ्यो । गोडमेल गर्ने चटारोमा हुन्थे । तर, यो वर्ष भने असार दोस्रो सातामै खेत बगर बनेको छ। असार १४ गते राती खहरे खोलामा आएको बाढीले बगर बनाएको खेत हेर्न जाँदा खेतभरी ढुंगा र बालुवा मात्रै देख्दा उनको मन रोइरहेको छ।

भर्खरै रोपाइँ सकिएको सबै खेत पुरिएको उनले बताए । 'बाढीले धान खेत बगर बनायो, गुजारा कसरी चलाउने,' उपाध्यायले भने । खोलामा आएको बाढीले भर्खरै रोपाइँ सकिएको धान खेतीसहित सबै खेत बगाएपछि यहाँका किसान अब भोलिका दिनमा के खाने भन्ने पिरलोमा छन् । खेतीयोग्य जमिन बगाएपछि पुर्पुरामा हात राखेर बस्नुको विकल्प नभएको किसान बताउँछन् । बाढीले उर्वर खेत बगाएपछि स्थानीय किसानले सरकार गुहार्न थालेका छन् ।

स्थानीय लालबहादुर थापाको पनि परिवारको गर्जो टार्ने एकमात्रै स्रोत थियो, १० मुरी धान फल्ने खेत । उनका पनि सबै खेत बाढीले बढाएर बगरमा परिणत भयो । 'वर्षभरी खान पुग्ने एक मात्रै स्रोत खोलाले बगाएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउन थालेको थापाले बताए।

'यहाँका एक सय बढी किसान भूमिहीन हुने भएका छन्, 'स्थानीय बीरबहादुर नेपालीले भने, 'रोपाइँ सकिएको खेत नामनिसान नरहनेगरी बगरमा परिणत भएको छ, अब भोकमरी निम्तिने निश्चित छ, उनले भने, 'स्थानीय, प्रदेश र केन्द्र सरकारको बेलैमा ध्यान जाओस् ।'

झुझ हुँदै ठाटीकाँध गाउँपालिकाको केन्द्र जोड्ने कच्ची सडक र मध्यपहाडी राजमार्गबाट झुझ जोड्ने कच्ची सडकको भेल समेत सोहि खेतमा गएको नेपालीले बताए । उक्त खोलामा आएको बाढीले स्थानीय खोली बजारका ७ वटा घरहरु पूर्ण रुपमा क्षति भएको छ । त्यहाँ पसल थिए । पसलमा भएका सबै सरसामान पनि बगाएको छ । रामघाट बजारमा समेत क्षति पुर्‍याएको आठबीस नगरपालिका-१ का वडाध्यक्ष पर्वसिंह विश्वकर्माले बताए ।

बाढीले सिचाइँ कुलो र तटबन्ध बगाएको छ । निर्माण सकिएको र निर्माणाधिन अवस्थामा रहेको दुईवटा सिचाइँ कुलो र एउटा तटबन्ध बगाएको छ । वडाध्यक्ष विश्वकर्माका अनुसार सोहि खोलामा ३० लाखको लागतमा निर्माणाधिन अवस्थामा रहेको खहरे खोला नियन्त्रण गर्न निर्माणाधिन अवस्थामा रहेको तटबन्ध बगाएको हो । 'साना सिंचाइ अन्तगर्त ३८ लाखमा निर्माण सकिएको लेस्टेचौर सिंचाइ कुलो समेत बगाएको छ, वडाध्यक्ष विश्वकर्माले भने, 'कर्णाली प्रदेश सरकारमार्फत जिल्ला कृषि विकास कार्यालयद्धारा निर्माणाधिन अवस्थामा रहेको ७५ लाखको सिंचाइ कुलो समेत बगाएको छ ।'
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.