बारपाक सुलीकोटका जनप्रतिनिधि र कर्मचारीसहित ९९ जना क्वारेन्टाइनमा
गोरखा : एक स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र कर्मचारीसहित ९९ जना क्वारेन्टाइनमा बसेका छन्। गाउँ कार्यपालिकाको कार्यालयमा २२ जना, शैलपुत्री माविको क्वारेन्टाइनमा १४ जना र उपाध्यक्षसहित अरु होम क्वारेण्टाइनमा बसेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए।
गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीसहित २२ जना गाउँ कार्यपालिकाको कार्यालयमा क्वारेण्टाइनमा रहेका हुन्।
त्यस्तै शैलपुत्री माविको क्वारेण्टाइनमा वडा नम्बर ७ र ८ का वडाअध्यक्ष, स्वास्थ्य शाखाका प्रमुख, स्वास्थ्य चौकी इन्चार्जसहित १४ जना बसेको उनले बताए। उपाध्यक्षसहित अन्य जनप्रतिनिधि, कर्मचारी र केही सेवाग्राही होम क्वारेन्टाइनमा बसेका गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार त्यहाँका ९९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !