चौकीमै थन्किए एसईईका प्रश्नपत्र

चौकीमै थन्किए एसईईका प्रश्नपत्र

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका ७७ वटै जिल्लाका प्रहरी चौकीमा थन्किएका छन्। गत चैत पहिलो साताका लागि तय भएको उक्त परीक्षा स्थगित भएपछि प्रश्नपत्र चौकीमा थन्क्याइएको हो।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराजा खकुरेलका अनुसार परीक्षा केन्द्रको सबैभन्दा नजिक र सुरक्षित चौकीमा प्रश्नपत्र राखिएका छन्। लामो समयसम्म गोदाममा राख्दा मुसाले काट्ने तथा धमिरालेसमेत बिगार्न सक्ने भयले प्रश्नपत्र ठूलो ट्यांकाभित्र राखिएको छ। हरेक चौकीलाई ट्यांका किन्न बोर्डले छुट्टै रकम निकासा गरेको थियो। खकुरेलका अनुसार एसईईका लागि ८६ वटा विषयको प्रश्नपत्र छापिएको थियो। सबै विषयका लागि ५१ लाख थान प्रश्नपत्र छापिएका छन्।

एसईईमा सहभागी हुन मुलुकभरबाट चार लाख ८० हजारले विद्यार्थीले परीक्षा फारम भरेका थिए। प्रश्नपत्र छपाइ र सम्बन्धित जिल्ला तथा केन्द्रसम्म पुर्‍याउन लाग्ने ढुवानी खर्चसमेत जोड्दा करिब ३ करोड रुपैयाँ खर्च भएको खकुरेलले बताए। उनका अनुसार ती प्रश्नपत्र फेरि केन्द्रमै ल्याएर जलाउनुपर्छ। तर, ढुवानी समस्याका कारण फिर्ता ल्याउन सकिएको छैन। कक्षा १२ को परीक्षाको प्रश्नपत्र जिल्ला तथा सम्बन्धित केन्द्रमा पठाउँदा एसईईको प्रश्नपत्र पनि ल्याउने योजना बोर्डले बनाएको छ। खकुरेलले भने, ‘सुरुमा पनि एकतर्फी ढुवानी खर्च तिरेर प्रश्नपत्र जिल्लामा पठायौं। फेरि त्यो प्रश्नपत्र ल्याउन सवारी प्रयोग गर्दा एकतर्फी नै भाडा तिर्नुपर्ने हुन्छ। दोहोरो खर्च गर्नुभन्दा १२ कक्षाको प्रश्नपत्र बोकेर गएको गाडीबाट ल्याउने तयारी गरेका छौं।’

कोरोना भाइरसको संक्रमण त्रासका कारण कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निधो भइसकेको छैन। यो परीक्षा सुरुमा वैशाख पहिलो साता सञ्चालन गर्ने तालिका सार्वजनिक भएको थियो। कोरोना संक्रमण त्रासकै कारण एसईई र कक्षा ११ को परीक्षालाई विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा सम्पन्न गर्ने निर्णय सरकारले गरिसकेको छ। विद्यालयको मूल्यांकनलाई नै आधार मान्ने भएपछि दुवै कक्षाका विद्यार्थीको परीक्षा सञ्चालन गर्न छापिएको प्रश्नपत्र काम नलाग्ने भएका हुन्। कक्षा ११ र १२ को प्रश्नपत्र पनि छापिइसकेको छ। दुबै कक्षाका प्रश्नपत्र केन्द्रमै रहेको परीक्षा बोर्डका नियन्त्रक (कक्षा ११ र १२) कृष्ण शर्माले जानकारी दिए।

उनका अनुसार दुवै कक्षाका प्रश्नपत्र र उत्तरपुस्तिका तयारी अवस्थामा राखिएको छ। ‘११ को त केन्द्रमै नष्ट गरिन्छ। १२ को भने अवस्था सहज भए पनि जिल्लामा पठाउनुपर्छ’ शर्माले भने। एसईई परीक्षा सञ्चालन खर्चका लागि जिल्ला तथा परीक्षा केन्द्रमा पठाइएको रकम फिर्ता मागिएको छ। सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइले रकम फिर्ता मागेका हुन्। परीक्षा सञ्चालनका क्रममा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, सुपरिवेक्षक, सुरक्षाकर्मी तथा अन्य कर्मचारीको दैनिक भत्ता, खाजा तथा स्टेसनरी सामान किन्न निकासा गरिएको रकम फिर्ता मागिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.