पहिरोमा वेपत्ता थप एक जनाको शव भेटियो, तीनजना सम्पर्कमा आए
बेनी : तीन दिनअघिको पहिरोमा वेपत्ता म्याग्दी, धवलागिरी गाउँपालिका–६ मराङका थप एक जनाको शव भेटिएको छ ।
कुम्रीका खिमबहादुर जुग्जालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धवलागिरी, मालिका र रघुगंगा गाउपालिकामा शुक्रबारको पहिरोमा परिएर मृत्यु हुनेको संख्या २८ जना पुगेको प्रहरी नायव उपरीक्षक किरनजंग कुँवरले जानकारी दिए ।
शनिबारसम्म २७ जनाको शव भेटिएको थियो । प्रहरीका अनुसार वेपत्ता भएका तीन जना जीवितै सम्पर्कमा आएका छन् । चार जना अझै वेपत्ता छन् । मराङका १९, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको छ ।
पहिरोले पुरिएका मालिका–७ बिमकी एलिसा केसी, धवलागिरी–६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखुखोलामा वेपत्ता भएकी मालिका–६ की गिता रोका भेटिएका छैनन् । प्रहरीका अनुसार पहिरोको जोखिममा रहेका धवलागिरी गाउँपालिकाका ५९०, मालिकाका १९६, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।
पहिरोमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्दार गरिएकोमा ७ जनाको बेनी अस्पताल, १ जनाको काठमाडौ र ४ जनाको मणीपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !