पहिरोले दोलखामा ९ घर विस्थापित, ४४ घर उच्च जोखिममा
दोलखा : चालु मनसुनको विभिन्न समयमा आएको पहिरोले दोलखाको ९ घर विस्थापित हुन पुगेका छन् भने ४४ घर उच्च जोखिम रहेका छन्। भीमेश्वर नगरपालिकाका ३, विगु गाउँपालिकाका २, गौरीशंकर गाउँपालिकाका २ र जिरी नगरपालिकाका २ मा गरी पहिरोले ९ घर विस्थापित भएका हुन्। पहिराको आसपासमा रहेका ४४ घरहरु उच्च जोखिममा परेका छन्।
भीमेश्वर–७, साखिनेमा वर्षाको कारण जमिन भासिएर ३ घर विस्थापित भएका छन् भने ८ घरपरिवार उच्च जोखिममा परेका छन्। लगातारको वर्षासँगै पहिरो खस्न थालेपछि साखिनेस्थित नेवार गाउँका रत्नबहादुर श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ र जयबहादुर श्रेष्ठको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए। सो पहिरो आसपासमा रहेका १५ घर उच्च जोखिममा रहेको पहिचान गरी आवश्यक सुरक्षा सर्तकता अपनाउन भनिएको उनले बताए।
विगु गाउँपालिका–९, खोपाचागुको थामीचागुमा पहिरोको कारण २ घर परिवार विस्थापित हुनु परेको कारण नजिकको गाउँमा रहेका छिमेकीको घरमा स्थानान्तरण गरिएको छ। सो क्षेत्रमा पहिरोले अन्य ५ घर उच्च जोखिममा रहेको विगु गाउँपालिकाले जनाएको छ।
गौरीशंकर गाउँपालिका–५, गुरुम्फीमा आएको पहिरोको कारण एकघर बगाएको र अर्को घरमा क्षति पुर्याएको कारण दुबै घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको प्रजिअ शर्माले जानकारी दिए। सो पहिरोको कारण गुरुम्फीमा करिब २० घर उच्च जोखिममा रहेको गौरीशंकर गाउँपालिकाका सुब्बा लिलाराज घिमिरेले बताए।जिरी नगरपालिका–४, लिंकनबजारमा गएको पहिरोले एक घर बगाएर अर्को घरमा क्षति पुर्याएपछि दुबै घर विस्थापित हुनु परेको छ भने सो पहिरोको कारण ४ घर उच्च जोखिममा पुगेको प्रजिअ शर्माले जानकारी दिए। पहिरोको कारण अन्नपात, नगद, लत्ताकपडा बगाउनु बाहेक ती घर बगाउँदा मानवीय तथा चौपायाको क्षति भने नभएको प्रजिअ शर्माले जनाए।
प्रतिक्रिया दिनुहोस !