पृथ्वी राजमार्गमा हजारौँ यातायात मजदुर अलपत्र

पृथ्वी राजमार्गमा हजारौँ यातायात मजदुर अलपत्र

गोरखा : पृथ्वी राजमार्गको मौवाखोलामा पुल भत्किएपछि यातायात मजदुरहरु चारदिनदेखि सडकमै अलपत्र परिरहेका छन् । मौवाखोलादेखिको ट्रकको ताँती कुरिनघाटसम्म आइपुगेका थिए।सुदूरपश्चिमको कैलालीबाट काठमाडौंँका लागि चिनी ढुवानी गरेर आएका चार जना चालक सहचालकको समूह बिहानै बिहीबार कुरिनघाटबाट केही पर भेटिए । दुइटा ट्रकको बीचको खालि जग्गामा उनीहरु खाना बनाउँदै थिए । मिठो बासना आउने गरी खाना पकाइरहेका उनीहरुले नमिठो गुनासो पोखे ।

आफूहरु अप्ठ्यारोमा परेको मौका छोपेर स्थानीय व्यापारीले ठगेकोमा उनीहरुको ठूलो चित्त दुखाइ थियो । ‘हामीले सँधै किलोको ६० रुपैयाँ तिर्ने चामललाई यहाँ किलोका १३० तिर्नुपर्‍यो’, यातायात मजदुर केशवसिँह ठकुरीले भने, ‘नभै भएको छैन, के गर्नु, डेढसय भनेको भए पनि किन्नुपर्थ्यो ।’ 

पृथ्वी राजमार्गको कुरिनघाट, मौवाखोला सडकखण्डमा चारदिनदेखि जाममा परेका हजारौं ट्रकहरु । तस्बिर शिव उप्रेती

दुःखमा परेका बेला सहयोग गर्नुपर्छ भनेर लकडाउनका बेला यही सडकमा पैदल हिडेका सयौं यात्रुको उद्धार गरेको उनीसँगैका रामबहादुर बोगटीले सुनाए । ‘दुख परेको बेलामा मान्छेले मान्छेलाई सहयोग गर्नुपर्छ भनेर हामीले प्रहरीको छेकथुनको पर्वाह नगरी, रोग सर्ने डरलाई बिर्सिएर पैदल हिडेका मान्छेलाई बोक्यौँ।’ बोगटीले भने–‘सहयोगको पैसा लिनु हुन्न भनेर पैसा पनि लिएनौँ’, ‘चार दिन भयो सडकमा अलपत्र छौं । हामीलाई दुःख पर्दा कसैले हेरेनन् ।’ 

केही पर अर्का ट्रकका मजदुर रोडको कुनामा झरेको छाँगोमा लुगा धुने, नुहाउने काममा मस्त थिए । वीरगन्जबाट फलाम बोकेर ल्याएका उनीहरुले चारदिनदेखि खाना नखाएको बताए । ‘चारदिन भयो भात नभेटेको । जङ्गलको बीचमा छौं, चाउचाउबाहेक केही खाएको छैन’, २० बर्षका श्याम लामाले भने ।  ठेलामा बेच्न ल्याएको चाउचाउ खाएर भोक मेटेका उनले सनाए । यही चाउचाउ पनि ३५ रुपैयाँमा किन्नु परेको छ ।’ उनी भन्छन् ‘मान्छेलाई संकट परेको मौका छोपेर असुल्नेप्रति उनको पनि ठूलो चित्त दुखाइ छ ।

गत सोमबारको भीषण पहिरोले बगाएको पृथ्वी राजमार्गको मौवाखोला पुल । तस्बिर : शिव उप्रेती

राजस्थानबाट काठमाडौंका लागि मार्वल, टायल लिएर आएका सुरज चौधरी र देवीलाल मामाको पनि सडकमा बेहाल छ । ‘परेसानीका पहाड’, नेपाली बोल्न नजान्ने सुरज भन्छन्, ‘गाडीमे हमारा मकान ।’ एक बोत्तल पानीको ३५ रुपैयाँसम्म तिर्नुपरेको भन्दै उनले दुख व्यक्त गरे । कसैसँग पैसा हुने, कसैसँग नहुने भन्दै उनले दुःखमा परेका बेला उल्टै ठगिनु परेको नमिठो भोगाइ सुनाए । 

हेटौँडादेखि पाँच महिनाकी बिरामी छोरीको शल्यक्रिया गर्न काठमाडौं जाँदै गरेका असरत आलम दम्पती पनि राजमार्गमा अलपत्र भेटिए । हेटौँडाको अस्पतालले शल्यक्रिया गर्नुपर्ने भएकाले यथाशीघ्र काठमाडौं पठाएपछि उनीहरु जाँदै गर्दा बाटो खुल्ने आशामा मोटरसाइकलमै काठमाडौंका लागि हानिएका थिए । ‘तर आज खुल्ला छैन, भोलि खुल्ला छैन’, आलमले भने, ‘कहिले खुल्ने हो नि थाहा पाइएन । यस्तो शिशु लिएर अत्रपत्र परियो ।’

पाँच महिनाकी छोरीको शल्यक्रियाका लागि काठमाडौं जान लागेका असरत आखमका दम्पत्ति मौवाखोलामा अलपत्र । तस्बिर  : शिव उप्रेती

अबिरल वर्षापछि गत सोमबार पृथ्वीराजमार्गको मौवाखोला पुल भत्किएपछि हजारौं यातायात मजदुरको अवस्था निकै कष्ठपूर्ण बनेको छ। कुरिनघाटदेखि मौवाखोलासम्म १० किलोमिटर लामो जाममा पच्चीससयदेखि तीनहजार वटासम्म सवारीसाधन जाम भएको त्यहाँ ड्युटीमा खटिएका ट्राफिक सईले जानकारी दिए ।

घटनास्थलको निरीक्षण भ्रमणमा आइपुगेका डिआइजी वसन्तकुमार लामा भन्छन् ‘हामी त जतिसक्दो चाँडो पुल मर्मत गरी यातायात खुलाउने ध्याउन्नमा छौँ । यातायात मजदुरको अवस्थाका बारेमा सोच्नै भ्याएका छैनौं।’, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक लामाले सकेसम आज(शुक्रबार) रातीसम्म नभए पनि शनिबार एकातर्फी भनेपनि सडक खुलाउनका लागि लागि परिरहेको जानकारी दिए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.