संक्रमण बढेपछि वीरगन्जमा अनिश्चितकालीन कर्फ्यू
वीरगन्ज : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगन्जमा शनिबार देखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरमा शनिबार बिहान ५ बजेदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । राजनीतिक दल, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ र अस्पतालका प्रतिनिधिसँगको सर्वपक्षीय छलफलपछि स्थानीय प्रशासनले वीरगन्जमा शनिबारदेखि अनिश्चितकालीन निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
वीरगन्जमा केही दिनयता कोरोना संक्रमितको संख्या, मृत्यु बढ्न थालेपछि कर्फ्यू लगाइएको बताइएको छ । साथै आइसोलेनशमा रहेका केही संक्रमितको अवस्था जटिल देखिएकोले संक्रमण थप फैलन नदिन निषेधाज्ञा लगाउनु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निषेधाज्ञाको अवधीमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेक अन्य कुनै पनि काममा घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
यस्तै अस्पताल, औषधि पसल, दुध र खानेपानीका पसल बाहेक सबै पसल र बजार बन्द रहने स्थानीय प्रशासनले जनाएको छ । यस्तै वीरगन्ज महानगरमा अब अन्य जिल्लाबाट र विशेषगरी भारतबाट प्रवेश गर्न पनि पूर्ण प्रतिबन्ध लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । निषेधाज्ञा अवधिमा सुरक्षा निकायले गस्ती पट्रोलिङ बढाउने, लु्कीछिपी प्रवेश गरेकालाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्ने निर्णय पनि भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !