पहिरोले बगाउँदा एकजनाको मृत्यु
तानसेन : पाल्पामा पहिरोसहितको भलले बगाउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका १ हुगी अर्सदीका ३० वर्षीय दिनेश अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सोमबार राती १ बजेतिर आफ्नै खेतमा पानी हेर्न जाने क्रममा भलले बगाउँदा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्यालको शव १० मिटर तल भेटिएको प्रहरीले जनाएको छ ।
एक महिनाअघि मात्र वडा नं १ हुगीमै एक महिलाको खोलाले बगाएर मृत्यु भएको थियो । लगातार वर्षाको कारण सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक अवरुद्ध भएको छ ।
सडकखण्डको तानसेन नगरपालिका ८ गौडेपुल, तिनाउँ गाउँपालिकाको ३ सिद्धवावा क्षेत्र, पानी मिल क्षेत्र, पाल्पा पोखरा सडखकण्डको राम्दी क्षेत्रमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
पहिरो पन्छाउन डिभिजन सडक कार्यालय पाल्पाको डोजर स्काभेट प्रयोग गरिए पनि वर्षा नरोकिँदा पन्छाउन कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले बताए ।
पाल्पाको सिद्धवावा ड्याम क्षेत्रमा ठूलो ढुंगासहितको पहिरो खसेकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । लगातार वर्षा भइरहेकाले अवरुद्ध सडक सूचारु नहुँदासम्म यात्रा नगर्न र सवारी साधन संचालन नर्गन जिल्ला प्रशासन कार्यालय पाल्पाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस !