मुर्छित नैतिकता, अर्धमुर्छित सिद्धान्त
![मुर्छित नैतिकता, अर्धमुर्छित सिद्धान्त](https://annapurnapost.prixacdn.net/media/albums/naitikta-policy_20200729030324_9EmcA2zbbc.jpg)
कुन तन्त्र र प्रणालीको अनुभव र प्रयोगशाला बनाउन बाँकी छ देशलाई ? गणतन्त्रको नाम जपेर गलगाणतन्त्रको अभ्यास त गरिरहेका छैनौं ?
समाजमा नम्रपन, भद्रपन, शालीनता, धैर्यभन्दा बढी उत्तेजना, आक्रोश र रोष छिटो बिक्छ, प्रभावित हुन्छ। धीरतापूर्वक दीर्घकालीन सोच र शैली अपनाएर गरिने सकारात्मक ऊर्जा र रचनात्मक कर्ममा विश्वास गर्ने र अवि श्रान्त यात्रा गर्ने पथिक पाउन मुस्किल छ। विनयी हुनु, सभ्य र सुसंस्कृत बन्नुलाई कमजोरीका रूपमा अथ्र्याइन्छ, बुझिन्छ। क्रोध, प्रतिशोध र आवेगलाई स्थान प्रदान गरिन्छ। भावावेशलाई तागतको दर्जा दिइन्छ। हाम्रो लोकतन्त्रले भीडको आवाज, बलजफ्ती र जोडबललाई प्राथमिकताको सूचीमा पहिलो नम्बरमा राखेको छ।
तसर्थ नैतिकता र इमान तथा निष्ठा र त्यागले बाटो बिराउने स्थिति सिर्जित हुन्छ। नैतिकताको यसरी हुर्मत लिइयो कि सिंहदरबारमा आगो लाग्दा स्वतः राजीनामा दिने कीर्तिनिधि विष्ट र बलात्कारको बात लागेर हायलकायल गराइएपछि राजीनामा दिने कृष्णबहादुर महराको नैतिकताको मानक एकै भनियो।
खेलकुद भइरहेको रंगशालामा हुरीबतासका कारण भागदौडमा च्यापिएर आफ्नो कारणले मान्छे मरेको ठहर गर्दै राजीनामा दिने तत्कालीन मन्त्री केशरबहादुर विष्ट र बहालवाला मन्त्री सामान खरिद र ठेक्काको घुस बोल-कबोलको अडियो सार्वजनिक भएर दबाबको भार थेग्न नसकेर निस्केर हिँड्ने गोकुल बास्कोटाको बहिर्गमनलाई उस्तै नैतिकताका तराजुमा जोखियो। नैतिकता भनियो तर अतुलनीय महानतालाई तुच्छ बहिर्गमनसँग दाँजियो। त्यसैले अहिले भन्ने गरेको नैतिकतामा क्षय छ, नैतिकता स्खलित छ। सिद्धान्त आफैंमा केही होइन तर जसले सिद्धान्तहीन सिद्धान्त बोक्यो त्यो बोक्नेको चरित्र आचरण र असंस्कृतिको कारण अर्धमुर्छित र बेहोस छ।
निरन्तर स्खलित र क्षय हुँदै गरेको सामाजिक प्रतिष्ठा र गुमेको इज्जतको शोधभर्ना लिने ठाउँ छैन, भेटिन्न। संरक्षण गरिदिने संरक्षणकर्ताको पनि अभाव छ। संरक्षक नै नबिटुलिएका चोखा भेटिएनन्। नेपालीको अहिले पछिल्लो चरणमा विभिन्न राजनीतिक परिवर्तनपछि सोच, शैली र प्रवृत्तिमा रूपान्तरण भएको छ तर नकारात्मक धेरै सकारात्मक कम। गज्जबको स्वभाव र अवधारणा भिœयाएका छौं। हल्ला, चर्चा र खुद्रा क्रियाकलाप र सस्तो लोकप्रियताका आधारमा कसैलाई देवता र कसैलाई रातारात दैत्य देख्ने दृष्टिविन्दु भरिएको छ। कसैका प्रति विनाआग्रह÷पूर्वाग्रह बोल्दै बोल्दैनौं। भोलिको परिणति के हुन्छ सकारात्मक÷नकारात्मक त्यसको पारख गर्दैनौं। सूक्ष्म र गहन विश्लेषणमा ध्यान दिँदैनौं। यो प्रवृत्ति र विशेषता माथिदेखि तलसम्म देशको कार्यकारी अधिकार प्रयोग गर्नेदेखि, देशका बौद्धिक, प्राज्ञिक र केही देखेसुनेका र जानेबुझेका आम मान्छेको प्रवृत्तिगत समानता हो।
कुनै पनि घटनाबारेमा पहिले रेडिमेड या कथित धारणा बनाउने अनि सो धारणा गलतै रहेछ भने पनि त्यसलाई सही प्रमाणित गराउन अविवेकी ढंगले मरिमेटेर निर्मम प्रहार गरिरहने खराब प्रवृत्तिको सिकार भइरहेका छौं। गलत रहेछ भने सच्याएर विवेकी परिचय बनाउनुको बदला बोलेको कुरा, गरेको समर्थन जुनसुकै हालतमा गलत नै रहे भए पनि ठीक छ भन्ने इगो प्रेरित बानीको विकास भइरहेको छ। आफ्ना कथित कुरा नै वास्तविक भएको देखाउन त्यो नै अन्तिम सत्य मान्न अनेकन तर्क र कुतर्कको सहारा लिन पातला र फितला माध्यम अपनाउँछौं।
विवेक, बौद्धिकता र इमानदारीका ठाउँमा कुनै पनि पार्टीका नीति, विचार र सिद्धान्तका चस्मा लगाएर कसैलाई बदनाम गर्नु, उसका सामाजिक इज्जत र प्रतिष्ठा धुलिसात गरिदिनु अनि त्यसमा सस्तो मनोरञ्जन लिनु हाम्रा दैनिकी भएका छन्।
कसैले कसैलाई कसुरदार ठान्यो भन्यो भने त्यसको सत्यापनामा जाँदैनौं। ऊ कसुरदाता हो या होइन हामी उसको मानमर्दन गर्न डिक्सनरी रित्याएर शब्द खर्च गर्छौं। घोक्रो सुकाएर कराउन निपुण छौं। सामाजिक सञ्जाल फोहोर गराउन अभ्यस्त बन्छौं। ऊ अपमान या सजायको भागीदार हो होइन त्यतातिर ध्यान केन्द्रित गर्दैनौं, सही÷गलत के हो छुट्ट्याउने समय निकाल्दैनौं। अध्ययन मनन गर्दैनौं। कुन उद्देश्य र प्रयोजनका खातिर कसले हल्लाको खेती गरेर सामाजिक सञ्जाल दुरुपयोग गरेको छ त्यतातर्फ हाम्रो ध्यान जाँदैन। प्रहरी, वकिल, न्यायाधीश सबै आफैं हुने क्षमता देखाउँछौं। साधु चोर र चोर साधुमा पलभरमै रूपान्तरण गरिदिने डाइरेक्ट डेमोक्रेसी र शीघ्र फैसला दिने न्यायालयको अभ्यासमा पारंगत छौं।
व्यक्ति एक भूमिका फरक-फरक गर्छौं। अभियोग आफैं दर्ता गर्छौं, फैसला आफैं गर्छौं, दण्ड आफैं दिन्छौं। ध्वंसात्मक अराजकता हाम्रो समाजको चरित्र र चिनारी बनेको छ। दोषीलाई अपमान र कारबाही अनौठो कुरा भएन तर निर्दोष अपमानित हुने र प्रताडित बन्ने प्रक्रिया भने खतरापूर्ण छ। निर्दोषलाई ताडना दिएर किन गर्व गर्दैछ मान्छे ? विवेक, बौद्धिकता र इमानदारीका ठाउँमा कुनै पनि पार्टीका नीति, विचार र सिद्धान्तका चस्मा लगाएर कसैलाई बदनाम गर्नु, उसका सामाजिक इज्जत र प्रतिष्ठा धुलिसात गरिदिनु अनि त्यसमा सस्तो मनोरञ्जन लिनु हाम्रा दैनिकी भएका छन्। गल्ती गरेपछि प्रायश्चित नगर्ने अराजक संस्कार निर्माण भएको छ। जे बोले भने पनि त्यसलाई प्रमाणित गर्नुपर्ने आवश्यकता छैन। आफूले लगाएको लाञ्छना र अभियोग गलत हुँदा पनि त्यसको जिम्मेवारी लिनु पर्दैन। जवाफदेही बहन गर्नु पर्दैन। अनाहकमा गिराइएको व्यक्तिको सामाजिक प्रतिष्ठाको क्षतिपूर्ति कसले दिने र कसरी लिने ?
अबको बहस र सामाजिक न्यायको जल्दोबल्दो विषय यो हुनुपर्छ। निर्दोषलाई दिने अपमान र लाञ्छनाको क्षतिपूर्ति स्वयं अपमानकर्ताले दिने र पश्चात्ताप गर्ने अनि दण्ड-सजायको भागीदार कुनै किन्तु, परन्तु र अधिकार इत्यादिको बहानाबाजीमा नअलमल्याउन समाजको ध्यान जान र सोमुताविक ऐन, नियम र कानुन तर्जुमा र पालना गराउन गम्भीर पहलकदमी आवश्यक छ। आकर्षक नियम-कानुन बन्छ तर त्यसको व्यावहारिक कार्यान्वयनको खाँचो अपरिहार्य छ। कानुन कागजमा बनेर व्यवहारमा कार्यान्वयन नभएका कारण आज पनि जातीय छुवाछूत जस्तो क्रूर असभ्यताको कलंक हाम्रा निधारमा र सामाजिक जीवनमा २०२० सालको मुलुकी ऐन लागू हँुदाकै हाराहारीमा छ भन्नुपर्दा लज्जाबोध हुन्छ। रैतीलाई अपराधबोध हुन्छ तर कथित नागरिक र राज्यको नीतिनिर्देशक सिद्धान्त एप्लाई गर्न-गराउन बस्नेलाई अपराधबोध हीनताबोध र लज्जबोध रहन्न, हँुदैन।
विडम्बना ! मौरी बनेर मह बनाएर खाऊ, बाँड, मौरी पाल्ने सीप सिकाऊ तर पतञ्जलीको मह हैन, आफ्नै देशको भीर मौरी र घर मौरीको महको ब्रान्डिङ गर भनेर कार्यकर्तालाई अर्ती, अनुमति र प्रशिक्षण गर्नुपर्ने प्रधानमन्त्री विपक्षीलाई मौरी बनेर, चिल, अरिंगाल बनेर धपाऊ भनेर निषेधको उर्दी जारी गर्छन्। आफूले देखेको, बोलेको र अपनाएको विचार मात्र अन्तिम सत्य अरू सब झूट या भ्रम भन्ने मान्यता जबसम्म उपल्लो चेतना भएका भनिएका मान्छेसम्म रहन्छ तबसम्म हामी जहाँ थियौं त्यहीं रहन्छौं वर्षौंवर्षसम्म। तिमी भ्रममा छौ, म भ्रममा छु, हामी भ्रममा छौं र हाम्रो समाज भ्रममा छ। हाम्रो समाज भ्रम पालेर, भ्रम हुर्काएर, बढाएर, भ्रमको मलजल गरेर बसेको छ। अध्यताको अध्ययनले मात्रै होइन; हामीले पढेको, हुर्कीबढेको र आफैंले भोगेको समाजको अभ्यासले यही भन्छ, देखाउँछ। हाम्रो समाज आज पनि कतिपय भ्रमयुक्त संस्कृति र परम्परा रीतिरिवाज र चालचलनको मनोवैज्ञानिक असरबाट बहुतै प्रभावित र शासित छ। जसका कारण यथार्थभन्दा पर वास्तविक धरातल र उद्देश्यमूलक चिन्तनभन्दा टाढा गएर रहस्यमय, जादुयी अनि तिलस्मी नायक र पात्रको अवतरणको अपेक्षा राख्छ।
रामायण, वेद, पुराण महाभारतजस्ता हिन्दु धार्मिक ग्रन्थमा रचित महापुरुष र महानायिकाको स्वैरकाल्पनिक आकर्षण र रहस्यले आजपर्यन्त सम्मोहनमा छ मान्छे। कसैप्रति विश्वास र आस्था राख्यो भने आँखा चिम्लेर विश्वास गर्छ र त्यसको अन्तर्यमा खोजी पस्ने, प्रश्न गर्ने र समाधानमा पुग्ने लेठो र मेसो गर्न अरुचि देखाउँछ। त्यसैले चतराधामका कृष्णबहादुर गिरीहरू प्रचण्डजस्ता भौतिकवादीलाई भैंसी पुज्ने बनाउन सामथ्र्य राख्छन् र बलात्कारी बनेर जेल पस्छन्। अनि लिटिल बुद्ध बन्दै बोधीसत्व महासंघका सम्बोधिमा परिणत भएर रामबहादुर बम्जनहरू हत्यारा र बलात्कारीको आरोपमा फरार बन्छन्। यद्यपि आफ्नो शक्ति र सामथ्र्यभन्दा पर कुनै अलौकिकजस्तो लाग्ने पात्रको तागतमा आस्था र भरोसा राख्ने मनोविज्ञानले मोहित छ मान्छे। भगवान् होइन तर मान्छेलाई भगवान् बनाएर, अवतार घोषणा गरेर, भगवान्को स्थानमा विराजमान गराएर भ्रम छरेर स्वार्थ सिद्ध गर्न तल्लीन छ मान्छे।
मान्छेलाई मान्छेकै दर्जामा राखेर, मान्छे हो मान्छेमा कमजोरी हुन्छन्, कमजोरीसहित नै मान्छेले सकारात्मक ऊर्जा दिने महानता पनि गर्छ। तर मान्छेलाई भगवान् सम्झेर सबै गुण र दोषमुक्त देख्ने भक्त परम्पराको अन्त्य गर्न सकिएन भने आस्थाको हिँउचुली बन्दै गरेका गोविन्द केसीहरू, समाजसेवाको पर्याय बन्दै गरेका धुर्मुस र सुन्तलीहरू, राजनीतिमा नयाँ नैतिक मूल्य स्थापित गर्न संघर्षरत सुसंस्कृत राजनीतिका पर्याय बन्दै गरेका दललगायत ज्ञात-अज्ञात हाम्रा पात्र र प्रतिनिधि एक दिन नामेट बन्ने छन्। तसर्थ आलोचनात्मक दृष्टिगोचर हुनुपर्छ।
आस्था ढलेको, विश्वास डग्मगाएको र प्रेम भत्किएको दिन दिग्भ्रमित मानसिकताले अकल्पनीय क्षति निम्ताउन पुग्छ। कसैमाथिको अन्धसमर्थन र विश्वास बेठीक हुन्छ, आलोचनात्मक समालोचनात्मक समर्थन गर्नु जायज र श्रेयस्कर हुन्छ। आफूले विश्वास गरेको पात्र र प्रवृत्तिमा देखा परेको विचलनलाई सकारात्मक ऊर्जा भरेर ट्र्याकमा हिँडाउने आलोचनात्मक शक्ति र अभ्यासको खाँचो छ। सच्चा अनुयायीले आलोचनात्मक चेत राख्नु जरुरी छ तर हामी भक्त बनेर भक्तिगान गर्छौं र आफूले विश्वास गरेको मान्छेको कमजोरी छोपिदिन्छौं। यसका कारण ऊ कमजोरी र लाचारी दोहोर्याउने गर्दागर्दा आफ्ना कमजोरी आदत बनाउन पुग्छ। नैतिक मूल्य खस्कँदै अर्धमुर्छित बन्दै मुर्छित बन्दै अन्त्यमा मृत्युवरण गर्न पुग्छ। सबै किसिमका सामाजिक मूल्यको अपहरण र नैतिक मूल्यको मृत्यु भएको समाज कस्तो होला ?
समाज परिवर्तनमा नेताको भूमिका मुख्य ठानेर जनताको भूमिका गौण सम्झँदा समस्या निम्तिन सक्छ। पृथ्वीनारायण शाहको नेपाल एकीकरणको सम्मान र मर्यादा गर्दा विषम परिस्थितिमा अर्थ संकलन गर्न सुझाउने अहिलेको भाषामा आर्थिक सल्लाहकार बिसे नगर्ची छुटे भने सामाजिक न्यायको क्षेत्र एकान्वित र असन्तुलनकारी हुन पुग्छ; जसको कारण आज देशमा समस्या छ। समस्या असन्तुलन र असमानताको खाडल गहिरो र फराकिलो भएको कारण छ। देश निर्माण गर्ने र बागडोर हातमा हुनेहरूमा फराकिलो छाती हुनुपर्ने हो। फराकिलो दृष्टिकोण मूल्य र मान्यता, दूरदर्शिता, नैतिकता र इमानदारी हुनुपर्ने हो।
विडम्बना फराकिलो असमानताको खाल्डो भएको छ। ढिलो जन्मेर गणतन्त्रका लागि योगदान नदिएका नागरिकले गणतन्त्रका योद्धाहरूको विकृतिको पर्दाफास गर्दा हामीलाई विरोध गर्ने तिम्रो नैतिक अधिकार छैन। कारण तिम्रो गणतन्त्र ल्याउन र यो व्यवस्था बनाउन कुनै योगदान छैन भन्ने गरिन्छ, के यही हो गणतन्त्र ? इनफ इज इनफ भन्दै सडकमा निस्कने नवीन पुस्ताले आफ्नो सत्ताबाट पाउने जवाफ यही हो ? कोही र कुनै पात्र अप्रश्नीय बन्नु र हुनु लोकतन्त्र हो ? यही हो स्वतन्त्रता ? लोकतन्त्रमा कोही र कुनै पनि पात्र अप्रशंसनीय बन्दैन भन्ने हेक्का नयाँ पुस्तामा भएकाले नै हजारांैहजार सडकमा निस्केका हुन नागरिक खबरदारी गरेका हुन्। जीवन दाउमा राखेर अन्नपानी छाडेका हुन्।
आज पनि भानुभक्त बाजेको कलम र बिसे नगर्चीको सियोमा समानता छैन ? रक्सी खाएर कहिलेकाहीं यो देश मैले पनि बनाएको हुँ भनेर बोल्दा बिसे नगर्चीहरू अराजक लाग्छन् ? आज पनि मान्छेहरू संविधान, कानुन र देशको विधानभन्दा माथि भएको हेर्न सत्तासीन पार्टीका कतिपय नेताहरूको अभ्यास देखिन्छ। विधानभन्दा माथि कोही बस्ने कस्तो गणतान्त्रिक प्रणाली हुर्काउँदै छौं हामी ? कानुनभन्दा माथि रहने पार्टी र परिपाटी आजको युगसुहाउँदो होला र ? देशमा थिति छैन, पद्धति छैन र जे नियम कानुन छन् तिनको धज्जी यसरी उडाउन पाइन्छ ?
अराजकता, हुलहुज्जत, छाडापनको नियन्त्रण नियमन कानुनले निर्धारण गर्ने हो; कुनै संघ-संगठनले हो र ? निषेध, प्रतिशोध र बदला राजनीतिक खेलाडीको कच्चा व्यवहार र उग्रता हो। कानुन उल्लंघन गर्नेलाई सजाय कानुन उल्लंघन गरेर होइन; कानुन पालना गरेर हुने हो। वैकुण्ठ बाजेको गीताको किताब र विष्णु विश्वकर्माको घनको सामाजिक भ्यालु उस्तै कहिले हुने ?
अब कुन तन्त्र र प्रणालीको अनुभव र प्रयोगशाला बनाउन बाँकी छ देश ? हामीले गणतन्त्रको नाम जपेर गलगाणतन्त्रको अभ्यास त गरिरहेका छैनौं ? संकटग्रस्त नैतिक धरातलमा आज बाँच्न नदिनेलाई भोलि आफू बाँच्न पनि मुस्किल हुनेछ भन्ने ख्याल राख्ने मति कहिले पलाउँछ ? राजनीतिमा सर्वत्र भेटिने र सताइने प्रदूषण छ, विशाक्त भाइरस छ। कोभिड- १९ कोरोनाभन्दा खतरा छ सत्तामोह। यसले धर्म र राजनीति सिध्याएको छ, व्यापार बिथोलेको छ, वातावरण र पर्यावरणलाई चौपट पारेको छ। समग्रमा राष्ट्रिय चरित्र र अस्तित्व नै खत्तम पारेको छ। नैतिकता पटकपटक मुर्छित बनेको छ। इमानमा डढेलो लाग्न थालेपछि त्यसले नभेट्ने, नडढाउने र नसक्ने केही हँुदैन। तसर्थ इमान र जमान जगाउन आजबाट सुरु गरौं। डढेलो लाग्न थालेको इमान जोगाउन थोपा-थोपा पानी हाल्दै गरौं। अन्यथा पछि पछुताउनुको विकल्प छैन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)