कोरोना रोक्न कर्फ्यु

कोरोना रोक्न कर्फ्यु

युरोपको राजधानी मानिने बेल्जियममा ६६ हजारभन्दा बढी कोरोना संक्रमित छन्। यहाँ झन्डै १० हजार नागरिकको मृत्यु भइसकेको छ।


केजिन राई

ब्रसेल्स : बेल्जियममा कोरोना संक्रमितको संख्या बढेपछि संक्रमण रोक्न सरकारले कर्फ्यु लगाउने निर्णय गरेको छ। गत २४ घण्टामा मात्रै चार सय दुई संक्रमित बढेपछि बिहीबारबाट लागू हुने गरी अन्त्वेरपेन प्रान्तको सम्पूर्ण इलाकामा कर्फ्यु लगाइने भएको छ।

अनुमानित चारदेखि पाँच हजार नेपालीसमेत बसोबास गर्ने उक्त प्रान्तका सबै बासिन्दा बेलुका ११:३० बजेदेखि बिहान ६ बजेसम्म घरभित्रै बस्नुपर्नेछ। पुनः लकडाउन वा कस्तो रणनीति अपनाउने भन्ने विषयमा १० घण्टा लामो बैठक बसेको थियो। बैठकपछि अन्त्वेरपेनको प्रान्तीय गभर्नर क्याथी बर्क्सले १२ वर्षभन्दा माथिका सबै बासिन्दाका लागि सार्वजनिक स्थानमा फेस मास्क अनिवार्य गरिएको बताए।

पारिवारिक तथा अन्य जमघटमा पाँचजना मात्र भेला हुन पाइने राष्ट्रिय सुरक्षा परिषद्ले सोमबार सामाजिक सम्पर्कहरू घटाएर प्रत्येक घरपरिवारमा सीमित गरेको छ। त्यसैगरी विवाह, पिकनिक तथा पार्कमा १० जनाभन्दा बढी भेला हुन पाइन्न। त्यसमा पनि सधैं भेटघाट गर्ने आफन्त मात्र जमघट हुन पाइन्छ। ठूला कार्यक्रममा हलभित्र सय र बाहिर दुई सय मास्कसहित भेला हुन पाइनेछ। हरेक गाउँ सहरले आवश्यकता हेरी आफैं निर्णय गर्न सक्नेछन्।

सबै रेस्टुराँ, बार, क्याफे र अन्य प्रतिष्ठानले बेलुका ११ बजेसम्म आफ्ना ढोका बन्द गर्नुपर्नेछ। ग्राहकहरूबीच डेढ मिटरको सामाजिक दूरी कडाइसाथ लागू गर्नुपर्नेछ। नयाँ नियम आगामी चार साताका लागि राखिनेछ।

बजार पसलमा जाँदा एक्लै किनमेल गर्नुपर्नेछ। ३० मिनेटभित्र पसलबाट बाहिरिई सक्नुपर्छ। खेल खेल्न बन्द गरिएको छ। बेलुका १० बजेपछि रक्सी बिक्रीमा प्रतिबन्ध छ। १२ वर्षभन्दा माथिका प्रत्येक व्यक्तिले मास्क लगाउनु अनिवार्य छ। सहर र यस वरपरका सबै फिटनेस केन्द्र बन्द गरिएका छन्। सबै सार्वजनिक कार्यक्रम निषेधित छन्।

आन्ट्वर्प प्रान्तमा कोरोना भाइरसको दोस्रो लहर आउनसक्ने डर छ। अन्त्वेरपेन क्षेत्रमा मात्रै बेल्जियमका सबै नयाँ संक्रमणको ५६ प्रतिशत छ। ‘तपाईं आफ्नो स्वास्थ्य र आफ्ना प्रियजनका लागि आन्ट्वर्प प्रान्तमा नआउनुहोस् र प्रान्तबाट बाहिर जान नखोज्नुहोस्’, गभर्नर बर्क्सले भने।

कोरोना भाइरसको नयाँ संक्रमण एक सातायता लगातार बढेपछि अन्त्वेरपेन सहरका मेयर बार्ट दे वेवरले तीन महिनाको लकडाउनबाट बाहिरिने क्रममा धेरै जना भेला हुन पाउने अनुमति दिएर गल्ती भएको बताएका छन्।

युरोपको राजधानी मानिने बेल्जियममा ६६ हजारभन्दा बढी कोरोना संक्रमित छन्। यहाँ झन्डै १० हजार नागरिकको मृत्यु भइसकेको छ। यो तथ्यांक एक करोड १५ लाख जनसंख्याको अनुपातमा युरोपमै उच्च हो। झन्डै ४० हजार कोरोनाको उपचार गराइरहेको बेल्जियममा १७ हजार मात्र निको भएका छन्।

मास्क नलगाउँदा नेपालीलाई जरिवाना

लकडाउनभरि कैयौं उल्लंघनकर्ता जरिवाना र जेल गएका एचएनएल न्युजले बताएको छ। तर, सार्वजनिक स्थानमा मास्क नलगाउँदा दुई सय ५० रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था छ। होटल, रेस्टुराँ र क्याफेमा सात सय ५० युरो सरकारले तोकेको छ।

यो साता लागू भएको नियमअनुरूप स्याङ्जाका अर्याल थरका एक नेपाली एक लाख रुपैयाँभन्दा बढी जरिवाना तिर्न बाध्य भएका छन्। लुभेनको सहरको मध्य भागमा अवस्थित बेल्जियन रेस्टुराँमा वेटर काम गर्ने उनी स्थानीय भाषामा पोख्त छन्। जरिवानाबारे पनि उनी जानकार थिए। उनले भने, ‘रेस्टुराँ खोल्ने तयारी सकेर अब मास्क लगाउनु पर्‍यो भन्दै थिएँ, दुईजना ग्राहक आएर खाने कुर्सीमा बसिहाले। कुराकानी सुरु गर्दागर्दै निरीक्षकहरू आइहाले।’

उनले गर्मीका कारण एकछिन मास्क नलगाएको बताए। तर नियमअनुसार नचलेको भन्दै उनलाई सात सय ५० अर्थात् एक लाख तीन हजार रुपैयाँ जरिवानाको रसिद थमाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.