आफ्नै गुट ब्युँत्याउन सक्रिय थापा
काठमाडौं : सत्तारूढ दल नेकपा गुट प्रभावी हुन थालेपछि निष्क्रिय रहेका समूह फेरि सक्रिय बन्न थालेका छन्। नेकपा भित्र प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूह सक्रिय रहिरहेका बेला नेकपाभित्र चौथो शक्तिका रूपमा देखिन सक्ने गृहमन्त्री रामबहादुर थापा (बादल) ले पनि आफ्नो समूह सक्रिय बनाउन खोजेका हुन्।
यसअघि देखिएका ओली, दाहाल र नेपालको समूह आन्तरिक राजनीतिमा दुई धुव्रमा विभाजित भएका बेला सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापा र उपाध्यक्ष वामदेव गौतमले पनि समूह संगठित गर्नुपर्ने आवश्यकता देख्न थालेका छन्।
त्यही क्रममा थापाले भने बिहीबार पुल्चोकस्थित मन्त्री निवासमै समूह भेला गरी आफू निकट दुई दर्जन नेतासँग बिहीबार झन्डै ८ घण्टा छलफल गरे। तत्कालीन एमाले माओवादी केन्द्रबीचको एकतापूर्व थापाको आफ्नो अलग्गै समूह थियो। माओवादी विभाजनका बेला मोहन वैद्य (किरण) सँगै लागेका थापा पाँच वर्षकै अन्तरालमा पुनः दाहाल नेतृत्वको माओवादीसँगै बहुमत नेता कार्यकर्तासहित एकता प्रक्रियामा सहभागी भएका थिए।
अहिले नेकपाभित्र पनि थापासँग त्यो समूह यथावत् छ। तर, पनि थापाले पार्टी एकता भएको २६ महिनामा आन्तरिक समूहको भेला, बैठक राखेका थिएनन्। तर, उनले बिहीबार भने आफ्नै निवासमा त्यसरी भेला गरी फेरि संगठित हुनुपर्ने समय आएको बताए। थापासँग अहिले नेकपाको केन्द्रीय समितिमा ३५ जना नेताहरू छन्। पछि विभिन्न राजनीतिक दलबाट एकता प्रक्रियामा थपिएका ४ केन्द्रीय सदस्यमध्ये किरण राई र पदम राई पनि थापासँगै निकट मानिन्छन्।
बिहीबारको छलफलमा भने थापासहित स्थायी समिति सदस्यहरू देव गुरुङ, पम्फा भुसाल, केन्द्रीय सदस्यहरू हितमान शाक्य, कुलप्रसाद केसी , सूर्य सुवेदी (पथिक), दिलीप प्रजापति, सावित्री काफ्ले, इन्द्र आङ्बो (मौसम), लेखनाथ न्यौपाने, युवराज भट्टराई, पार्वती थापा, अमृता थापा, ज्ञानु बस्नेत, दाबा लामा, हरि चुमान (अजित), मायाप्रसाद शर्मा, रामदीप आचार्य, नरेश भण्डारी, सुरेश आलेमगर, महेश्वर दाहाल, यशोदा सुवेदीलगायतका नेताहरू सहभागी थिए।
छलफलका लागि उनले मंगलबारदेखि नै गृहकार्य गरेका थिए। उपत्यका बाहिर रहेका तर विगतमा आफूसँग रहेका केन्द्रीय सदस्यलाई प्रतिनिधिमूलक रूपमा काठमाडौं बोलाएका थिए।
‘पार्टीभित्र अहिले गम्भीर खालको संकट आइपरेको छ, यसमा कसरी जान सकिन्छ, हाम्रो सामूहिक धारणा के बनाउन सकिन्छ भन्नेमा यो पहिलो चरणको प्रारम्भिक छलफल हो।’ छलफलमा सहभागी एक नेताले बताए।
पार्टी एकता जोगाउन सक्दो भूमिका निर्वाह गर्ने र अहिले देखिएको पार्टीभित्रको आन्तरिक समस्याको समाधान कसरी खोज्न सकिन्छ भन्नेमा नेताहरूले आ - आफ्नो धारणा बिहीबारको छलफलमा राखेको पनि उनले बताए। तर यसैगरी जाने भन्नेमा अहिले कुनै निष्कर्षमा नपुगेको पनि उनले बताए।
‘छलफलका क्रममा साथीहरूले तीन थरी धारणा राखेका छन्, पहिलो नेकपाभित्रको पूर्वमाओवादी धारका बीचमै धुव्रीकरण गरेर दाहाललाई सहयोग गरेर जानुपर्ने, दोस्रो ओली र दाहाल दुवैको बीचबाट अलग छुट्टै धार बनाएर जाने र तेस्रो एकता प्रक्रिया टुंगोमा नपुगिसकेको कारण तुलनात्मक रूपमा ओलीसँगै मिलेर महाधिवेशनसम्म जानुपर्र्ने मत आएको छ,’ ती नेताले अन्नपूर्णसँग भने, ‘धेरैजसो साथीहरूको पूर्वमाओवादी धारका नेताहरू एक ठाउँमै उभिनुपर्छ। यो समूहका नेताहरू अहिले छिन्नभिन्न भएका छन्, त्यसलाई एकीकृत गर्ने गरी पहलकदमी लिनुपर्ने मत राखेका छन्।’
नेकपाभित्रको अन्तरविरोधमा खास खुल्न नचाहेका थापाले भने छलफलका विषयवस्तुका क्रममा अध्यक्ष एवं प्रधानमन्त्रीले अगाडि सारेको अर्लि महाधिवेशनलाई तयारी गरेर सकभर छिटो आयोजना गर्ने, महाधिवेशनबाट सहमतिकै आधारमा दाहाललाई अध्यक्ष बनाएर जाने र भावी प्रधानमन्त्रीको रूपमा पनि घोषणा गराउने, पार्टीलाई विधि र पद्धतिका आधारमा चलाउने, पार्टी मातहत सरकार र सरकारका दीर्घकालीन महत्वपूर्ण निर्णय र नियुक्तिलगायतका विषय पार्टीको संस्थागत निर्णयका आधारमा मात्र गर्ने गरी जान सकिने धारणा राखेका थिए।
थापाले पार्टी एकता अहिले महत्वपूर्ण भएको भन्दै विचारका हिसाबले प्रचण्डसँगै रहने तर पार्टीभित्र देखा परेका विवाद समाधानको अचुक सूत्र महाधिवेशनबाट खोज्नुपर्ने बताएका थिए। तर, उनले एमसीसी, संसद् विघटन, राष्ट्रपति शासन, अध्यादेशलगायतका विषयमा ओलीको कदम साग सहमत हुन नसकिने बताएका थिए। पार्टी दुर्घटना रोक्नै नसक्ने अवस्था आएमा मात्र आफूहरूले पोजिसन क्लियर गरेर जानुपर्ने मत थापाले राखेका थिए।
‘प्रचण्डसँग पनि छलफल चलिरहेको छ, ओलीसँग पनि छलफल चलिरहेको छ। अहिले ठ्याक्कै यही भन्नेमा पुगिहाल्ने अवस्था बनिसकेको छैन। भरसक पार्टी विभाजन हुन नदिने गरी जानुपर्ने हुन्छ, दुर्घटना रोक्नै नसक्ने अवस्था आएमा मात्र पोजिसन क्लियर गर्नुपर्छ,’- थापाको भनाइ उद्धृत गर्दै ति नेताले भने। तर, उनलाई कतिपय नेताले भने नेकपाभित्र माओवादी तितरबितर भएकोले पूर्वमाओवादी धारका नेताहरको धुव्रीकरणको पहलकदमी लिएर अगाडि बढ्न सुझाव दिएका थिए।
थापाले सरकारको राम्रो काम प्रभावकारी नदेखिएको र भ्रष्टाचार बढेको, राजनीतिक नियुक्तिहरूमा प्रधानमन्त्रीको हस्तक्षेप रहेको र कतिपय अवस्थामा सरकारमा आफूले रहेर प्रधानमन्त्रीसँगै मिलेर जानुपर्ने अवस्थासमेत रहेको धारणा पनि राखेका थिए। उनले कतिपय अवस्थामा दुवै अध्यक्षले अप्रत्यक्ष रूपमा आफ्नो पद खोस्न भूमिका खेल्न खोजेको पनि बताएका थिए। आफूहरूले राजीनामा दिएर समस्याको समाधान हुने भए आफूलाई सुझाव दिन पनि उनको आग्रह रहेको सहभागी अर्का एक नेताको भनाइ थियो।
स्थायी समिति सदस्य देव गुरुङ र पम्फा भुषालले भने अहिले नेकपाभित्रको माओवादीको धुव्रीकरणबाहेक अर्को विकल्पै नभएको धारणा राखेका थिए।
‘प्रचण्डसँगै बसेर छलफल गरेर टुंग्याएर लैजानुपर्छ। बीचमा बस्ने अवस्था अहिले होइन। पार्टी दुईतिर गइरहेको छ। संगठनात्मक ढंगले एकताका क्रममा प्रचण्डले पेलेकै हुन्, त्यो साँध्ने बेला अहिले होइन। अहिले मुख्य कुरा विचारको हो। विचारमा प्रचण्डसँगै कुरा मिल्ने भएकोले त्यतै सोच्नुपर्छ,’ गुरुङको भनाइ थियो, ‘प्रचण्ड र माधव नेपालको टिम यथास्थितिवाद हुन्, ओली प्रतिगामी। अग्रगमनतिर जान सकिन्न भने बरु यथास्थितिमा बसेर जुध्न सकिन्छ। प्रतिगमनतिर बसेर जुध्न सकिँदैन।’
केही नेताले भने दाहालले एकताका क्रममा जसलाई बढी पेलेका थिए, अहिले उनैले मात्र दाहाललाई साथ दिएको पनि बताएका थिए। ‘उहाँहरूले विगतमा हामी (थापा समूह) लाई पार्टी विभाजन गरेर गएको भाग खान आएको जस्ता आरोप लगाउनुभयो, तर अहिले प्रचण्डलाई साथ दिने मात्रिका, पम्फा र देव गुरुङ नै देखिए, हिजो हामीलाई अनेक आरोप लगाउनेहरू अहिले आफैं कताकता टहसिए,’- एक नेताले भनेका थिए।
हितमान शाक्यले एकताका क्रममा सबैभन्दा बढी अन्याय आफूलाई भएको बताएका थिए। ‘जुनियर साथीहरूलाई स्थायी समितिमा लगियो, ममाथि अन्याय गरियो, तर पनि अहिले अन्यत्र सोच्नेभन्दा प्रचण्डसँगै नजिक भएर जानुपर्छ,’ शाक्यले भने। कुलप्रसाद केसी, सूर्यप्रकाश सुवेदीलगायत नेताहरूले भने महाधिवेशनसम्म प्रधानमन्त्री ओलीप्रति पनि नरम नीति अवलम्बन गरेर जानुपर्ने मत राखेका थिए। लेखनाथ न्यौपानेलगायत केही नेताले भने पार्टीभित्र अहिले देखिएका दुवै अध्यक्षका प्रवृत्ति ठीक नरहेको भन्दै अलग्गै धार निर्माणको कोसिस गर्नुपर्ने बताएका थिए।
फेरि छलफललाई अगाडि बढाउने र अहिले नेताहरूका धारणा के रहेछन् भन्ने मात्र सुन्न खोजिएको थापाले बताएका थिए। नेकपामा १ सय ५२ केन्द्रीय नेताले केन्द्रीय समिति बैठक बोलाउन गरेको माग कि नेताहरूका बीचमा राजनीतिक सहमति केही जुटेमा बोलाइने कि पार्टी दुर्घटना भएर ब्रेक भएमात्र बोलाउने अवस्था अहिले निम्तिएको पनि थापाले विश्लेषण सुनाएका थिए। ‘केन्द्रीय समितिको बैठक बोलाउने कुरा ठीक हो। तर एउटा राजनीतिक सहमति नभई कसरी बोलाउँलान् ? स्थायी समिति यसरी अल्झेर बसिरहेको छ। केन्द्रीय समिति अल्झिने विषयमा पक्कै नजाला। यो बीचमा एउटा राजनीतिक सहमति गर्नुपर्छ या पार्टी ब्रेक भएर केन्द्रीय समिति हुन्छ होला, नत्र कसरी होला र ? ’ थापाको भनाइ थियो। छलफलमा नेताहरूले पार्टीभित्रको समूहगत समीकरणमा माधव नेपालको समूह विकेन्द्रित, ओलीको केन्द्रीकृत र दाहालको छिन्नभिन्न देखिएको निष्कर्ष भने निकालेका छन्।
दाहालले गरे असन्तुष्ट नेतासँग छलफल
नेकपामा दुई अध्यक्ष ओली र दाहालका बीचमा संवादहीनता छ। १३ गते ओली स्थायी समिति बैठक रोक्ने र दाहाल नेपाल समूहले बैठक राख्ने दोहोरी खेलेपछि विवाद उत्कर्षमा थियो। स्थायी समितिले अब कसरी टुंगो पाउला भन्ने अन्योलताका बीच दाहाल नेपाल समूहले ओलीसँग समेत संवाद गरेर सहमतिमा स्थायी समिति बैठक बोलाउने जिम्मा दाहाललाई दिए पनि दुई दिन दुवै अध्यक्ष आ-आफ्नो निवासमै बसेर आन्तरिक छलफलमा मात्रै रहे।
दाहालले बिहीबार आफ्नै समूहभित्र असन्तुष्ट बन्दै जान थालेका नेताहरूसँग पनि छलफल गरेका छन्। १३ गतेको बैठकमा सहभागी नै नभएका टोपबहादुर रायमाझी र मणि थापासहित जनार्दन शर्मा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल र चक्रपाणि खनालले दाहालसँग छलफल गरेका थिए। शिष्टाचार भेट गर्न आएको भन्दै नेताहरूले दाहाललाई पार्टी एकता जोगाएर जाने विषयमा मात्र सोच्न सुझाव दिएर फर्केको स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले बताए।
‘तपाईंहरू (दुई अध्यक्ष) के- कसरी मिल्ने मिल्नुस्, तर पार्टी एकता भत्काउन पाउनुहुन्न। कसरी एकता जोगाउने त्यस दिशामा मात्र सोच्नुहोस्, तलमाथि हुँदैन। हाम्रो सुझाव यही छ भन्ने कुरा हामीले राख्यौं,’ रायमाझीले अन्नपूर्णसँग भने,‘उहाँ (दाहाल)ले म मेहनत गर्न खोजिरहेकै छु भन्नुभएको छ। अस्ति मिटिङ राख्ने र स्थगित गर्ने कुरामा दुई अध्यक्ष दायाँबायाँ फर्किनुभएको थियो, अहिले अलिक छलफल गर्नुपर्छ भन्नेतिर जाँदै हुनुहुन्छ।’
दाहालसँग बिहान महासचिव विष्णु पौडेलले पनि छलफल गरेका थिए। दाहालसँगको छलफलपछि महासचिव पौडेलले ओलीसँग पनि छलफल गरेका थिए। महासचिव पौडेलले गरेको छलफलपछि शुक्रबार दुई अध्यक्षका बीचमा छलफल हुन सक्ने सम्भावना देखिएको छ।
प्रतिक्रिया दिनुहोस !