ओलीले अरुका कुरा सुन्नुपर्छ : नारायणकाजी
गोरखा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक मात्र बन्नुपर्ने पार्टीको औपचारिक प्रस्ताव नरहेको बताएका छन् ।
गृहजिल्ला गोरखाका पत्रकारहरुसँग कुराकानीमा मंगलबार नेता श्रेष्ठले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्रीले दुईमध्ये एक पद छाड्नुपर्छ भन्ने प्रस्ताव पार्टीको औपचारिक प्रस्ताव होइन । पार्टी र सरकार राम्रोसँग चलाउने उहाँको शैलीसँग असन्तुष्ट रहेकाहरुको व्यक्तिगत बिचार हो ।’
सरकारले सकारात्मक काम गरे पनि केही महत्पूर्ण मुद्दामा चुकेको भन्दै नेता श्रेष्ठले प्रधानमन्त्री ओली छलफलमा सहभागी नहुनु आलोचनाको विषय रहेको बताए । श्रेष्ठले अघि थपेका छन्, ‘स्थायी कमिटीको बैठक जारी छ । फेरि पनि बस्छ, बस्नुपर्छ, प्रधानमन्त्रीले आएर आफ्ना कुरा राख्नुपर्छ, अरुको कुरा पनि सुन्नुपर्छ । पहिलो अध्यक्ष भएको नाताले नेकपाभित्रको समस्यालाई निकास दिने जिम्मेवारी पनि उहाँकै हो । सरकार पनि आलोचनामुक्त बन्न सकेको छैन । विधि र पद्धतिबाट चलाउने गरी अघि बढ्नुपर्छ ।’
पार्टी गतिहीन भएको, निस्क्रिय देखिएको, आचरणको हिसाबले अरु भन्दा भिन्न हुन नसकेको स्वीकार्दै नेता श्रेष्ठले अहिले देखिएका विवादलाई बैठकबाट सामाधान गर्ने र पार्टी एकता कायम रहने दावी गरे ।
प्रतिक्रिया दिनुहोस !