ओलीसमक्ष दाहाल, खनालको आक्रोश-‘भट्टको नियुक्तिले पार्टी र बालुवाटार गन्हायो’

ओलीसमक्ष दाहाल, खनालको आक्रोश-‘भट्टको नियुक्तिले पार्टी र बालुवाटार गन्हायो’

काठमाडौं : सत्तारूढ दल नेकपाका दुई अध्यक्ष छलफलमा बस्ने, आ-आफ्ना अडान कायमै राखेर उठने क्रम दोहोरिरहेकै छन्। बीचमा कहिले संवादहीनता हुने र फेरि छलफलको क्रम निरन्तर चल्ने नेकपाको नियति हो। आइतबार यता फेरि तीन दिन यही शृंखला चलिरहेको छ। मंगलबार पनि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल सहयोगी नेताहरू झलनाथ खनाल र सुवास नेम्बाङलाई साथमै लिएर साँझ एक घण्टा बालुवाटारमा छलफलमा बसे।

पार्टीभित्रको विवाद समाधानको सूत्र खोज्ने उद्देश्यले आइतबार यता यिनै चार नेता दिनहुँ छलफलमा छन्। तर मंगलबारको छलफल भने दुई अध्यक्षका बीचमा चर्को भनाभनबाट सुरु भयो। सहभागी एक नेताका अनुसार, लगानी बोर्डको सीईओ नियुक्तिका विषयमा ओली -दाहाल भनाभन भएको हो।दाहाल र खनालले छलफलको सुरुमै सीईओ सुशील भट्टको नियुक्ति पार्टीसँग परामर्श र सल्लाह बिनै गरिएको भन्दै बैठकमा आपत्ति जनाएपछि ओलीले पनि प्रतिरक्षा गरेका थिए। सोमबारको मन्त्रिपरिषद् बैठकले भट्टलाई लगानी बोर्डको सीईओ नियुक्तिकौ निर्णय गरेको थियो।दाहाल र खनालले भट्टको नियुक्तिले पार्टी र बालुवाटार गन्हाएको भनेपछि ओली प्रतिरक्षामा उत्रेका थिए। 

‘लगानी बोर्डमा कस्ता मान्छेलाई नियुक्ति गर्नुभयो, के यो पार्टीमा कुनै परामर्श गर्नुभयो, पार्टीसँग सल्लाह भयो ? ’ दाहालले सरकारले गर्ने यस्तै नियुक्तिले स्वेच्छाचारिताको सीमा नाघैकै नाघेको बताए।दाहाल र खनालले ठूला नियुक्तिहरूमा पार्टीलाई अटेर गर्ने संस्कार अझै नरोकिएको भन्दै विरोध गरेका थिए।

ओलीले आवेदन र सिफारिसका आधारमा सरकारले नियुक्ति गरेको भन्दै दाहालको आपत्ति माथि जवाफ फर्काएका थिए। त्यसपछि पनि दाहालसँगै वरिष्ठ नेता खनालले पनि प्रश्न गरे, ‘यो नियुक्तिले बालुवाटार पनि गन्हायो, पार्टी पनि गन्हायो। यस्तो खालको नियुक्ति बन्द गर्नुपर्‍यो। ’

ओली त्यसपछि झन् आक्रामक भए। ओलीले भने, ‘तपाईंहरूले के आधारमा त्यस्तो प्रश्न उठाउनुभयो ? तपाईंहरूलाई लागेको मान्छे भए ठीक अन्य भए सबै बेठीक, गन्हाउने ? ’

दाहालले प्रधानमन्त्रीले ‘कमिसन एजेन्ट’लाई लगानी बोर्डमा नियुक्त गरेको आरोप लगाए। ओलीले कुनै तथ्य प्रमाण त्यस्तो नभएको बताए। उनले भने, ‘प्रतिस्पर्धाबाटै आएका, योग्य र सक्षम व्यक्तिलाई नै आफूले नियुक्ति दिलाएको हुँ, विरोध गर्नुको तुक छैन।’

दाहालले थपे, ‘पत्रपत्रिकामा आएका छन् त बग्रेल्ती ? अनि यी विषयलाई वास्तै नगर्ने ? कि नियुक्तिमा झापाको खोज्ने , कि यस्तै विवादमा आएकालाई रोज्ने ? यसले पार्टी हित गर्दैन।’

पत्रपत्रिकाले स्वार्थ समूहका आधारमा भट्टको बारेमा समाचार लेखेको पनि ओलीको जिकिर थियो। ‘कुन मिडियाले कसरी के आधारमा स्वार्थअनुसार लेखेका छन् भन्ने मैले बताइरहनु पर्ला र ? त्यो स्वार्थमा आधारित रहेर लेखिएका छन्, पत्रपत्रिकाको पछि कुदेर हुँदैन’, ओलीले भने।

केही बेर निक्कै चर्काचर्की परेपछि दाहाल र खनालले पार्टी बैठक बोलाउने विषयमा मिति तोक्न ओलीसँग आग्रह गरे।

‘स्थायी समिति बैठक तुरुन्तै बोलाऔं, मिति तोक्यौं,’ दाहाल र खनालले ओलीसँग भने, ‘स्थायी समिति जारी छ। तुरुन्त बैठक आवश्यक पर्छ। स्थायी समितिको बैठक चालू छ, त्यसलाई सुचारु गरौं, त्यसको मिति तोकौं।’तर ओलीले स्थायी समिति बैठक बोलाउन मानेनन्। ‘स्थायी समिति अब चल्दैन, अहिले, तपाईंहरूले चलाए पनि म आउँदिनँ, त्यस्तो बैठक वैधानिक हुन्न, सचिवालय बैठक बोलाऔं, त्यहीँबाट एउटा खाका बनाएर सहमति खोज्ने गरी जाऔं’, ओलीले फेरि उही कुरा दोहोर्‍याए। ‘सचिवालय बैठक नै हो बसे पनि अहिले बस्ने, स्थायी समितिको कुरा छोडनुस्, सचिवालय बोलाऔं’, ओलीले भने।

दाहाल र खनालले ओलीको कुरा मानेनन्। उनीहरूले भने, ‘हामीलाई सचिवालयको बैठक बोलाउन आपत्ति छैन, तर चालू भइरहेको स्थायी समिति बैठकलाई स्थगित नगरी त्यसलाई सुचारु गरेर अनि आवश्यक पर्छ भने सचिवालयको बैठक पनि बीचमा राखे हुन्छ। तर पहिले स्थायी कमिटी बैठक राखेर जाऔं। ’ओलीले त्यसमा सहमति जनाउँदै जनाएनन्। ‘अहिले स्थायी समिति कुनै अर्थमा पनि बस्दैन, केन्द्रीय समिति त झन् बस्ने कुरै छैन, बसे सचिवालय हो’, प्रधानमन्त्रीले भने।दुवै पक्ष मंगलबार पनि उही तीन दिन यताकै विषयमा अडिइरहे।

बुधबार साझ ५ बजे फेरि छलफल गर्ने समझदारी गर्दै ओली दाहाल उठे। दाहालले प्रधानमन्त्रीसँगको छलफल अगाडि दिनभर पार्टी शीर्ष नेताहरूसँगको छलफल तीव्र बनाएका थिए।

बिहानै उनले आफ्नै निवास खुमलटारमा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापासँग छलफल गरे। त्यसपछि थप केही स्थायी समिति सदस्यहरूसँग पनि भेटे। आफ्नै भित्रका असन्तुष्ट नेताहरू टोपबहादुर रायमाझीसहित वर्षमान पुन, देवेन्द्र पौडेल, मात्रिका यादवलगायत नेतासँग पनि दाहालले बिहान भेट गरेका थिए। उनलाई ११ बजेबाट बालुवाटारमा प्रधानमन्त्रीले आयोजना गरेको कोभिड— १९ को रोकथाम र नियन्त्रणका लागि सरकारले बोलाएको विज्ञहरूसहित छलफल मा निम्तो आए पनि सहभागी भएनन्। बरु दाहाल उपाध्यक्ष वामदेव गौतम भेट्न उनकै निवास भैंसेपाटी पुगे।

ओलीले गौतमलाई भेटका लागि बालुवाटार बोलाएका थिए। बालुवाटार जानै लाग्दा आफ्नै निवासमा आएका अध्यक्ष दाहालसँग झन्डै पौने घण्टा गौतमले भेटवार्ता गरेर छोरा हरिशको नागपोखरीस्थित कार्यालयमा पुगेर गौतमले समय बिताए।

तर दाहालको दौडधुप भने रोकिएन। उनले आफ्नै निवासमा दिउँसो वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालसँग पनि छलफल गरे। झन्डै एक घण्टा लामो तीन नेताको छलफल पछि खनाललाई बोकेर दाहाल बालुवाटार ओलीसँगको छलफलका लागि पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.