कोभिड अस्पतालको आइसोलेसनबाट

कोभिड अस्पतालको आइसोलेसनबाट

निदाएको थिएँ। सिरानी छेउमा राखेको मोबाइल बजेपछि निद्रा खुल्यो। आँखा पहिले भित्ताको घडीमा पुग्यो, रातिको १२ बजेर ५० मिनेट भएको रहेछ। मध्यरातमा कसले फोन गरेको होला भनेर मोबाइल हेरें। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले फोन गर्नु भएको रहेछ।

मेरो पीसीआर रिपोर्ट पोजिटिभ आएरै मध्यरातमा फोन गरेको हुनुपर्छ भन्ने लख काटें। कारण शनिबार (साउन १७ गते) साँझ पीसीआर परीक्षण गर्न स्वाब दिएको थिएँ। नभन्दै फोनमा मैले नमस्कार भन्न नपाउँदै डा. सा’बले भन्नुभयो, ‘ क्रान्तिजी ल पोजिटिभको लिस्टमा तपाईंको पनि नाम थपियो। गुडनाइट।’ त्यसपछि उहाँको फोन काटियो।

छेउमै सुतेकी  श्रीमतीतर्फ नजर लगाएँ। कतै उनले फोनमा भएको कुराकानी त सुनिनन् ?  झसंग भएँ। तर, मस्त निद्रामा थिइन्। मन ढुक्क भयो।

आफूलाई पनि कोरोनाले छोएको खबर पाउँदा केही बेर त मन बेचैन भयो। तर, सधैं यस्तै समाचार लेखिरहेका कारण त्यति आत्तिइनँ। चिन्ता यत्रि मात्र थियो कि भोलि बिहान  श्रीमतीलाई यो खबर कसरी सुनाउने ?  यो खबर सुन्दा उनको हाल कस्तो होला ?  कारण थियो–  श्रीमतीजी प्रायः बिरामी भइरहने, शारीरिक रूपमा कमजोर।

यस्तै सोच्दासोच्दै राति करिब डेढ बजे फेरि मोबाइलको घण्टी बज्यो। अभिन्न मित्र जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरको फोन रहेछ। फोन उठाएँ। उनले पनि त्यही खबर सुनाए। अब भन्ने पक्का भयो, मेरो रिपोर्ट पनि पोजिटिभ आएछ भनेर। जबरजस्ती निदाउन खोजे र निदाएछु पनि।

बिहान ६ बजे निद्रा टुट्यो।  श्रीमतीजी भान्साको कामतिर लागिसकेकी रहेछन्। म पनि उठेर सोझै भान्सातिर गएँ अनि भनें, ‘आज खाना जति सक्दो चाँडै पकाइ दिनू।’ उनले अचम्म मान्दै सोधिन्, ‘सधैं ११–१२ बजेपछि मात्रै खाना खानेले आज ६ नबज्दै खानाको किन हतारो ?  ’

मैले बनावटी जवाफ दिएँ, ‘आज बिहानै रिपोटिङमा वीरगन्जबाहिर जानु छ, त्यसैले।’ तर मलाई त जानु थियो वीरगन्ज हेल्थ केयर हस्पिटलको आइसोलेसनमा केही साताका लागि।

श्रीमती हतारहतार खाना पकाउन थालिन्। म भने नित्यकर्म सकाउनतर्फ लागे। त्यसपछि घरीघरी भान्सातिर गएँ तर भन्ने आँट आएन। मेरो पीसीआर पोजिटिभको खबर साथी र शुभचिन्तकले थाहा पाएछन् क्यारे। मोबाइलमा तारन्तार फोन आउन थाल्यो। श्रीमतीले थाहा पाउँलिन् कि भनेर फोन बज्नासाथ मोबाइल लिएर बार्दलीमा गएर कुरा गर्थे।

मोबाइलमा धेरै कुरा भइरहेको देखेर  श्रीमतीजीको प्रश्न तेर्सियो, ‘यो कफ्र्युमा वीरगन्जबाहिर कहाँ जानु छ ?  कहिले फर्किने ? ’ मैले भनें, ‘हेटौंडा। ४–५ दिनको लागि।’ उनले आँखा तरेर हेरिन्। म रुझेको बिरालोजस्तो भए।

मलाई कोभिड अस्पताल लैजान मध्यान्ह १२ बजेतिर एम्बुलेन्स आउने खबर प्रहरीबाट पाएँ। अनि लागें लुगाकपडा मिलाउन। खाना पाकिसकेको थियो।  श्रीमतीजी छेउमै बसेर सबै हेर्दै थिइन्। झोला तयार पार्न दुई छोराले पनि सघाइराथे। उनीहरूलाई भनिसकेको थिएँ आफ्नो रिपोर्टका बारेमा।

मेरो अनुरोधमा सबै जनाले सँगै खाना खायौ त्यो दिन। अरू दिन अघिपछि हुन्थ्यो। खाना खाएपछि पलङमा पल्टिएँ,  श्रीमतीजी छेउमै थिइन्। अचानक मेरो मुखबाट निस्क्यो, ‘सुन न म हस्पिटल पो जाँदै छु, मलाई त कोरोना लागेछ।’

यति के मात्र भनेको थिएँ श्रीमतीजीको त रिसको पारो चढिहाल्यो। थरथर काम्न थालिन्। भनिन्, ‘मलाई बिहानै शंका भइसकेको थियो। मलाई लुकाएर कुरा गर्ने ? मैले पहिले भनेको थिएँ यस्तो जागिर छोडी दिनुस्। ज्यान नै खतरामा पार्ने जागिर मलाई चाहिँदैन। मेरो कुरा कहिल्यै सुन्नु भएन।’

उनी डाँको छाडेर रुन थालिन्। छेउमै उभिएका दुई छोरा निरीहजस्तो बनेर आमालाई एकोहोरो हेरिरहेका थिए। रुँदै गरेकी  श्रीमतीजीलाई सम्झाउन कोसिस गर्न के थालेको थिएँ उनले म पनि सँगै जान्छु अस्पताल, सँगै बस्छु भन्दै दराज खोलेर आफ्नो कपडा झोलामा हाल्न पो थालिन्।

मिल्दैन, जान दिँदैनन् तिमीलाई भनेर सम्झाउन थालें। केहीबेर त मान्दै मानिन् सँगै हिँड्ने अड्डी कसेर बसिन्। छोराहरूले पनि आमालाई सम्झाउन थाले। करिब दुई घण्टा यही क्रम चलिरह्यो। उनको रुवाइ रोकिएको थिएन।

अन्ततः प्रहरीको फोन आयो, ‘एम्बुलेन्स तपाईंले भनेको ठाउँमा पुगिसक्यो।’  श्रीमतीजी झन् डाँको छाडेर रुन थालिन्। मन गह्रुंगो बनाएर झोला उठाएर घरबाट निस्किएँ।

पान गल्लीमा एम्बुलेन्स रोकिएको थियो। पछाडिको ढोकाबाट भित्र चढे अरु दुई जना पनि संक्रमित थिए , तीन जना कोच्चिएर बस्यौं। तीन सय मिटर अगाडि बढेको एम्बुलेन्स घण्टाघर चोकमा रोकियो। चालक नजिकैको रेडक्रस भवनमा गए।

टण्टलापुर घाम। प्रचण्ड गर्मी। चालक १० मिनेटसम्म फर्किएनन्। तीनै जना पसिनाले नुहायौं। खेप्न सकिएन। म पछाडिको ढोका खोलेर झर्न थाले। तर नजिकै तैनाथ ४–५ प्रहरीमध्ये एक जवानले परबाटै लठ्ठीको घोचो तेस्र्याउँदै भने, ‘ओ तँ किन झरेको ?  छिटो भित्र चढिहाल।’

तँ भनेर सम्बोधन गरेपछि मलाई झन् रिस उठ्यो। पसिनाले नुहाइसकेको मेरो पनि रिसको पारा चढ्यो। परैबाट जवाफ फार्कएँ, ‘तँ कसलाई भनेको ? के हामी मान्छे होइन् ?  यस्तो पाक्ने घाममा अलपत्र पारेर हराएको एम्बुलेन्स ड्राइभरलाई खोजेर ल्याऊ। हामीलाई छिट्ट हस्पिटल पुर्‍याऊ।’

म कड्किएपछि ती प्रहरी गले। अनि तपाईं तपाईं भनेर कुरा गर्न थाले। एम्बुलेन्स चालक पनि आए। केही भन्न मन लागेन उनलाई।

दिउँसो साढे २ बजे कोभिड अस्पताल बनाइएको वीरगन्ज हेल्थ केयरमा पुग्यौं। स्वास्थ्यकर्मीले मलाई बस्ने कोठा देखाइदिए। कोठामा छिरें। केही गर्न मन लागेन। एक गिलास तातो पानी पिएँ। अनि मोबाइलमा डाटा खोलेर आफू संक्रमित भएको खबर फेसबुकमा पोस्ट गरिदिए।

मोबाइलमा तारन्तार फोन आइरह्यो। सम्भव भए जति जवाफ फर्काउँदै गएँ। तर मन भने घरमा रुँदै गरेकी  श्रीमतीतर्फ नै थियो। अपराह्न ४ बजेतिर श्रीमतीजीको मोबाइलमा फोन गरें। कान्छो छोराले फोन उठायो। ‘मम्मी रोई रहनुभएको छ’ छोराले सुनायो। फोन काटिदिएँ।

मलाई कोरोना कसरी सरेको होला ?

श्रीमतीजीको बेहाल सुनेर मन बेचैन थियो। बेडमा पल्टिएँ अनि सोच्न थाले आखिर मलाई कोरोना सर्‍यो कसरी ?

तर यो प्रश्नको जवाफ भेट्न सकिरहेको थिइन्। अहिलेसम्म पनि मन छर्लंग हुने गरी उत्तर पाउन सकिरहेको छैन।

तर अड्कल भने २–३ वटा गरेको छु।

अड्कल १

लकडाउन सकिनुभन्दा एक महिना पहिलेदेखि नै वीरगन्ज सामान्यजस्तो भइसकेको थियो। मीना बजारस्थित तरकारी बजारमा ठेलमठेल भीड हुन्थ्यो। म पनि ४–५ पटक तरकारी किन्न त्यो भीडमा पुगेको थिएँ। कतै त्यही भीडमा करोना मलाई सरेको हुन्छ सक्छ। हुन त मास्क लगाएर नै जान्थे त्यहाँ। हुन सक्छ मास्कले मात्रै छेकेन होला।

अड्कल २

श्रीमतीजी गत हप्ता अचानक बिसञ्चो भएपछि नारायणी अस्पतालको आकस्मिक कक्षमा लिएर पुगेको थिएँ। त्यहा एक घण्टा बिताएर फर्किएको थिएँ। बिरामी र स्वास्थ्यकर्मीको ओहोरदोहोर थियो। कतै त्यही पो संक्रमण सरेको हो भन्ने पनि लाग्छ। तर ठोकुवा गरिहाल्न भने सक्दिनँ।

अड्कल ३

नारायणी अस्पतालमा श्रीमतीजीलाई उपचारपछि छोरासँगै घर पठाइदिएँ। म र सहकर्मी पत्रकार भाइ अमित अग्रवाल समाचार संकलन गर्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको कार्यकक्षतिर लाग्यौं। कार्यकक्षको मेन गेटमै डायलासिस सेवा लिइरहेका मिर्गौला रोगी र उनका कुरुवा धर्नामा बसेका थिए। अर्कै समाचार भेटियो भनेर उनीहरूसँग कुराकानी गर्न थाले। मैले त मास्क लगाएको थिएँ। तर उनीहरूमध्ये केहीले मात्र लगाएका थिए। त्यति बेला मैले सामाजिक दूरी भने जति बनाउन सकिनँ। उनीहरूसँग मोबाइलमा कुराकानी रेकर्ड गरेर मेडिकल सुपरिटेन्डेन्टको कार्यकक्षमा गयौं। दुई घण्टा त्यहाँ बिताएर फर्कियौं। भोलिपल्ट तिनै मिर्गौला रोगीमध्ये केहीमा कोरोना पोजिटिभ पुष्टि भएको खबर आयो। मनमा चिसो पस्यो केही क्षण। तर सरेकै होला भन्ने पत्यार लागेन। अहिलेसम्म पनि यो मेरो अड्कल अड्कलमा मात्रै सीमित छ।

यी ३ अड्कलमध्ये एउटा कुनै सत्य हो भन्ने लाग्छ। खैर केही छैन। आजदेखि   श्रीमतीजी पनि बिस्तारै सामान्य छिन् भन्ने फोनमा कुरा गर्दा थाहा पाएँ। म त एकदम बिन्दास छु। संक्रमण पुष्टि भए पनि स्वास्थ्यमा केही समस्या छैन। एक–दुई पटक हल्का ज्वरो आयो। सिटामोल खाएपछि ज्वरो हटेको छ। आइतबार त आइसोलेसनबाटै अन्नपूर्णका लागि एउटा समाचार पनि लेखेर पठाएँ।

अहिले यो आफ्ना कुरा पनि लेखें।

धेरै अग्रज, साथीभाइ , सहकर्मी, आफन्तलगायतबाट तारन्तार फोन र सामाजिक सञ्जालमा शुभेच्छा आइरहेको छ। यसले कोरोनालाई पछार्न झन् ऊर्जा मिलिरहेको छ। बेसार पानी खाइरहेको छु। डाक्टरले दिएका भिटामिनका गोली पनि सेवन गरिरहेको छु। यो कोरोनाले मसँग धेरै दिन पैठाजोरी खेल्न सक्दैन भन्नेमा विश्वस्त छु। धन्यवाद


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.