दाहाल–नेपालको नझुक्ने नीति

दाहाल–नेपालको नझुक्ने नीति

काठमाडौं : दुई दिनअघि नेकपाका वरिष्ठ नेता माधव नेपाललाई भेट्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल निवास कोटेश्वर पुगे। झन्डै दुई घण्टा भएको छलफलमा  ज्ञवालीले प्रस्ताव राखे, ‘पार्टीको एकता महाधिवेशनसम्म दुई अध्यक्ष (प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल) मिलेर जानुको विकल्प छैन, तपाईंले मध्यस्थताको भूमिका खेलिदिनु पर्‍यो। पार्टीलाई जोगाउनुपर्‍यो।’

जवाफमा नेता नेपालले भने ‘मलाई पो बिचौलिया बनाउने  ? बिचौलियाहरू यहाँ बदनाम भइरहेका छन्, म एउटा यस्तो पात्र हुँ, जसले विधि र पद्धतिको कुरा उठाउँदै आएको छु। सक्दा सहमतिका आधारमा जानुपर्छ, नभए पनि विधानअनुसार बहुमतको निर्णयलाई सबैले मानेर जानुपर्छ।’ नेपालले संस्थागत निर्णय सबैले मानेरै जानुपर्ने विषय अथ्र्याउँदै ज्ञवालीलाई पठाए।

नेपालले मंगलबार फेरि पार्टी एकताका बेलाको आन्तरिक विधान दोहोर्‍याएर हेरे। खुमलटारमा अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनालसँगको छलफलमा उनले विधानमा व्यवस्था भएबमोजिम अध्यक्षको अधिकार र कर्तव्य, पार्टी एकताको घोषणा र विधानमा रहेको बहुमतको निर्णय पार्टी निर्णय हुने धारा ६० को व्यवस्था पल्टाएरै नेतालाई देखाए। बैठकबाट डराउने नेता र पानीबाट डराउने किसान काम नलाग्ने युक्ति अध्यक्ष दाहालको मोबाइलमा सन्देशसमेत पठाएर उनले विधान बनाउँदाका सक्कल कागजको खेस्रासहित देखाए। नेपालसँग भएको ओरिजिनल कागज ओलीले नै सच्याएको विधानको व्यवस्थाको धाराको थियो। 

त्यो पनि देखाएपछि दाहाल र खनाल दंग परे। दाहाल र खनाल प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटार जानु अगाडि खुमलटारमा नेपालले अब  पनि बालुवाटार धाएर ओलीलाई फकाउन खोजेर मात्र नहुने भन्दै विधानअनुसार अध्यक्षको अधिकार र कर्तव्य प्रयोग गरी अगाडि बढ्न सुझाए। जुन कुरा नेपालले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बताए।   
तर, दाहाल र खनालले ओलीसँगको छलफलमा ओलीसहितलाई सहमतिमा ल्याउने र बैठक बोलाउने प्रयासमै बालुवाटारमा छलफल केन्द्रित गरे। फेरि बुधबार साँझ छलफल गर्ने भन्दै कुरा नमिलेपछि उठेर हिँडेका खनाल र दाहाल बुधबार बालुवाटार पुग्दै पुगेनन्। बिहीबार बिहान वार्ता हुने खबर बालुवाटारले पठाएपछि तीन दिनयताको चार नेताको छलफलमा बुधबार ब्रेक लागेको छ। माधव नेपालको मत अध्यक्षलाई पनि निर्णयमा चित्त बुझ्दैन भने फरक मत राखेरै जानुपर्छ भन्ने देखिन्छ। उनले बुधबारको एक अनौपचारिक भेलामा त्यो प्रसंग पनि सुनाए। ‘म पनि यही कमिटीको एउटा महत्वपूर्ण व्यक्ति हुँ। हामी फरक मत राखेर बस्दा हुने अनि अध्यक्ष फरक मतमा रहन सक्दैन ? अध्यक्षको पनि फरक मत रहन सक्छ। सचिवालयमा पाँच जनाले गर्ने कमिटीको निर्णय हुन्छ’, नेपालले भने, विवाद भए स्थायी कमिटीमा जान्छ, स्थायी कमिटीको पनि बहुमत निर्णय पार्टीको  निर्णय हुन्छ। केन्द्रीय कमिटीमा जान्छ, केन्द्रीय कमिटी सर्वाेच्च निकायका रूपमा अन्तिम निर्णय गर्न सक्छ। तर, बैठक रोकिराख्न सक्दैन।’

ओलीका दर्जन बढी कार्यशैलीसँग नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्। 

पार्टी विधि, विचार र नीतिबाट चल्ने र त्यसका लागि अब तथ्य प्रमाणसहित पेस हुनुपर्ने अवस्था आएको नेपालको बुझाइ देखिन्छ। त्यसका लागि उनले अहिले नेकपाभित्र चर्किएको अन्तरसंघर्षमा काम लाग्ने ठानेर एकता गर्दादेखिका सबै  ओरिजिनल कागजपत्रसमेत खोजेर राखेका छन्। प्रधानमन्त्री ओलीको कायैशैली र व्यक्तिगत प्रवृत्तिका विरुद्ध अहिले नेकपाभित्र अध्यक्ष दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले आवाज उठाइरहेका छन्। 

मंसिर ४ यता वैशाख २० सम्मको एउटा टाइमलाइनमा ओलीले आत्मालोचना गरी रूपान्तरण हुने ठानिए पनि अब त्यो कालखण्ड सकिएको बुझाइ यी नेताहरूमा देखिन्छ। ओलीका एक दर्जन बढी कार्यशैलीसँग नेताहरूले असन्तुष्टि देखाएका देखिन्छन्। खासगरी प्रधानमन्त्री एवं अध्यक्ष ओलीका कारण पार्टी बैठक नियमित रूपमा बस्न नसकेको, बसे पनि गम्भीर र महत्वपूर्ण विषयमा छलफल नभएको, प्रधानमन्त्रीले गुटगत क्रियाकलाप जारी राखेको, पार्टी विधिसम्मत नचलाएको र कागजमा मात्रै पार्टीलाई सीमित बनाएको, पार्टी कमिटीका विभिन्न निकायदेखि जनसंगठनको एकताको टुंगो लगाउन नसकेको जस्ता आरोप असन्तुष्ट पक्षको छ। 

अब प्रधानमन्त्रीको कार्य शैलीगत र वैचारिक प्रवृत्तिलाई  दस्ताबेजीकरण गर्नुपर्ने बेला आएको वरिष्ठ नेता झलनाथ खनाल बताउँछन्। वैचारिक रूपमा हेर्दा उहाँ (प्रधानमन्त्री) मा अधोपतनको अवस्था देखियो, राजनीतिक रूपले दिशाहीनता, सैद्धान्तिक रूपले पनि पतनको अवस्था देखिएको छ। यस्तो अवस्था आएपछि अग्रगमनका रूपमा जान सकिन्न भन्ने निष्कर्ष हामीले निकाल्न थालेका हौं, वरिष्ठ नेता खनालले बुधबारको एक कार्यक्रममा भनेका थिए,– ‘अब प्रवृत्तिगत समस्यालाई डकुमेन्टेसन गर्न आवश्यक भइसकेको छ।’  ओलीसँगको संघर्ष पदको झिनाझम्टी मात्र नभएको इतर समूहको दाबी छ। 

दाहाललाई भने ४ मंसिरमा कार्यकारी अध्यक्षका रूपमा पार्टी काम गर्ने अधिकार प्राप्त गरेपछि दुईवटा सचिवालय, एकवटा स्थायी समिति र एउटा केन्द्रीय समिति बैठकको अध्यक्षता गर्न पाएको र त्यसपछि ओलीले काम गर्न नदिएको अनुभूति छ। त्यसलाई उनले ओलीले आपूmलाई सिध्याउन गरेको ‘पोलेसि सिफ्ट’ का रूपमा अर्थ्याउन थालेका छन्। हालै एक कार्यक्रममा दाहालको भनाइ थियो, –‘पूर्वएमाले एकातिर राख्ने र पूर्वमाओवादीमाथि आक्रमण गर्ने, पूर्वमाओवादीको असन्तुष्टलाई पनि आफूतिर तान्ने र प्रचण्ड र प्रचण्ड नजिकलाई मुख्य आक्रमणको तारो बनाउने गरी उहाँ (प्रधानमन्त्री) हरूले पोलिसी फिट गर्नुभयो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.