आकाश हेर्दै, चउरतर्फ दौडिँदै
बागलुङ : निसीखोला गाउँपालिकाको हुल्दीका स्थानीय ३ वर्षदेखि वर्षायाममा एकै खालको नियतिमा बाँच्न विवश छन्। यहाँका बासिन्दा ठूलो पानी पर्नासाथ बस्ती छोडेर ज्यान जोगाउन जंगलको खुला चौरमा पुग्ने गर्छन्।
३ वर्षअघि साउन अन्तिम साताको पहिरोले १ जनाको ज्यान जानुका साथै निसीखोला गाउँपालिका १ हुल्दी गाउँका सबै बस्ती चिरा–चिरा परेको थियो। त्यसबेला हुल्दी गाउँका करिब ६५ घर विस्थापित भएको जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा भूगर्भविद्को टोलीले गरेको अध्ययनमा बस्ती स्थानान्तरण गर्न सुझाव दिएपछि स्थानीय मध्यवर्षाद्का बेला त्रासमा रहन्छन्।
विज्ञले बस्ती स्थानान्तरणको सुझाव दिएको ३ वर्ष बिते पनि सरकारले ठोस योजना ल्याउन नसक्दा स्थानीय ठूलो र निरन्तर वर्षाका बेला चौरमा जम्मा हुन्छन्। सामान्य वर्षा हुँदा पनि पहिरो झरिरहने भएकाले २४ सै घण्टा सतर्क रहनुपर्ने उनीहरूको भनाइ छ। वर्षाका बेला रातभर त्रासका साथ जाग्राम बस्नुपर्ने बाध्यता छ। लगातार ठूलो वर्षा हुन थालेपछि हुल्दी गाउँका अधिकांश आफ्ना पशु चौपाया लिएर गाउँभन्दा माथिको जंगल दह भन्ने स्थानमा पाल टाँगेर बस्ने गरेका स्थानीय हुमकुमारी मल्लले बताइन्। ‘भारी वर्षा हुँदा साथ घरबाट खाद्यान्न, बालबच्चा बोकेर ज्यान जोगाउन जंगलको चौरमा रात काट्न जान्छौ’, उनले भनिन्, ‘यस वर्ष त्यति धेरै वर्षा नभएकाले ठूलै सास्ती र पीडाबाट बचेका छौ, नत्र भगवान् जपेर बस्छौ।’
उनीहरू गत वर्ष दिनभर बस्ती झरेर बारीमा काम गर्ने र रात पर्न साथ दहनै पुग्ने गर्थे। ‘जंगलमा बसेर के खाने, बारी गाउँमा छ, खेतीपाती यही छ’, मल्ल भन्छिन् ‘डर लागेर के गर्नु ? बालबच्चा भोकले मर्नु भएन बारीमा काम गर्न त झर्नै पर्यो।’ पहिरोले गाउँलेलाई उठीबास लगाएकाले निकै ठूलो त्रासका बीच बस्नुपर्ने बाध्यता स्थानीय पवनकुमार सिञ्जाली गुनासो गर्छन्। सिंगो बस्ती जोखिममा हुँदा र वर्षौं बित्दासमेत यो समस्याबारे सरकारले चासो नलिएको उनको भनाइ छ। भन्छन्, ‘पहिरोले गाउँ नै जोखिममा परेको यतिका वर्षसम्म हामीलाई सरकारले पुनस्र्थापित गर्न सकेन, आखिर सरकार के का लागि, यस्तो संवेदनशील विषयमा रमिते बनेर बस्न मिल्दैन।’
निसीखोला गाउँपालिकाले पनि संघीय र प्रदेश सरकारसँगको समन्वयमा बस्ती स्थान्तरण गरी एकीकृत बस्ती निर्माण गर्नेबारे अझै ठोस कदम चाल्न सकेको छैन। जोखिममा रहेको बस्ती सुरक्षित गर्न केन्द्र सरकारको ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै सहयोग प्राप्त नभएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए। ‘हुल्दी गाउँको सबै ठाउँमा पुगेर स्थलगत अनुगमन गरेर सबै जानकारी केन्द्रमा गरायौं’, उनले भने, ‘यो सबै गाउँपालिकाले मात्र गर्न सक्ने अवस्था पनि छैन। केन्द्र सरकारबाट यस्तो गम्भीर विषयमा बेवास्ता गरिएको छ।’ गाउँपालिकाले स्थानीयलाई यो समयमा सतर्कता अपनाउन आग्रह गर्ने बाहेक तत्काल केही गर्न सक्ने अवस्था नरहेको पौडेलको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !