कटान र पहिरोबाट निर्माणाधिन प्रशारण लाइनमा क्षति
![कटान र पहिरोबाट निर्माणाधिन प्रशारण लाइनमा क्षति](https://annapurnapost.prixacdn.net/media/albums/Parsaran-line-ko-Tower-dhalako_20200813091348_xkTam7BWZ0.jpg)
बेनी : कटान र पहिरोका कारण म्याग्दीको अन्नपूर्ण-३ दानादेखि पर्वतको खुर्कोट जोड्ने निर्माणाधिन विद्युत प्रशारण लाइनको टावरमा क्षति पुगेको छ । कालीगण्डकी कोरीडोरअन्तर्गत नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालित २२० केभी क्षमताको दाना-खुर्कोट प्रशारण लाइनको एक वटा टावर ढलेको छ भने चारवटा जोखिममा परेका छन् ।
धाइरिङको डिलबाट ठूला ढुंगासहित खसेको पहिरोले कुनातर्फको दुईवटा लेग (खुट्टा)मा लागेर मिलनचोकस्थित १४ नम्बरको टावर ढलेको छ । नजिकका अन्य दुई वटा टावरमा असर पुगेको छ ।
टावर ढल्न तीन करोड पचास लाख रुपैयाँ बराबरको क्षति भएको ठेकेदार कम्पनी टाटा-चिन्ट जेभीका प्रतिनिधि केदार रेग्मीले बताए । थप चारवटा टावर पहिरो र कटानका कारण जोखिममा परेका छन् । जलजला गाउँपालिका-२ टमिलाखर्कको टावर जोखिममा परेको छ ।
'महभिर, धिरच्याङ र दाना सबस्टेशन नजिकै कालीगण्डकीले कटान गरेर जोखिममा परेका टावर संरक्षणको काम भइरहेको छ,' आयोजनाका उपनिर्देशक लक्ष्मण फुयालले भने, 'सबस्टेशनमा थप कटान हुन नदिन संरक्षणको योजनाका लागि टेण्डर आव्हान भइसकेको छ ।'
नेपाल विद्युत प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा चार वर्षअघि सुरु गरेको ३९.६ किलोटिर दुरिको दाना-खुर्कोट प्रशारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ ।
११४ वटा मध्य पोखरेबगरका दुई वटाबाहेक सबै ठाउँमा टावर ठडाएर तार समेत तानिएको छ । दुई अर्ब ९० करोड रुपैयामा ठेक्का सम्झौता भएको आयोजनाअन्तरगत दाना र खुर्कोटको सबस्टेशन समेत अन्तिम चरणमा पुगेको छ ।
कालीगण्डकी र आसपासका नदीमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन र सबस्टेशन बनाउन लागिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए ।
दोस्रो चरणमा खुर्कोट देखि नवलपरासी जोड्ने प्रशारण लाइन र सबस्टेशन समेत निर्माण सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)