स्याङ्जा भदौ ४ गतेसम्मका लागि बन्द
![स्याङ्जा भदौ ४ गतेसम्मका लागि बन्द](https://annapurnapost.prixacdn.net/media/albums/DAO-office_20200814052158_XUe0CNsUNM.jpg)
स्याङजा : जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्ला बन्दलाई तेस्रो पटक बढाएको छ । अर्का आदेश नभएसम्मका लागि भन्दै यसअघि जारी गरिएको निशेधाज्ञा कायम गर्दै शुक्रबारदेखि भदौ ४ गतेसम्मका लागि जिल्ला बन्दको निर्णय सार्वजनिक गरेको हो ।
कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले साउन २९ बाट पुनः भदौ ४ गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न निषेध गर्ने गृह मन्त्रालयको आदेश अनुसार जिल्लामा समेत प्रशासनले आवतजावतमा प्रतिबन्ध लगाएको छ । सूचनालाई अवज्ञा गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड विपरित भेटिएमा कारबाही गर्ने समेत जनाएको छ ।
प्रशासनले सार्वजनिकस्थलमा मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने नगराउने, भेला, गोष्ठी, सेमिनार, भोजभतेरलगायतका निषेधित क्रियाकलाप गरेको पाइए संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ ।
समुदायसम्म कोरोनाको सक्रमण बढेपछि यसअघि साउन २९ गतेसम्मका लागि गरिएको जिल्ला बन्द बिहीबार रातीदेखि सकिएसँगै केन्द्रको बैठकले पुन: ७ दिन बन्द लम्ब्याउने निर्णय गरेको हो ।
समुदायसम्म कोरोना संक्रमण फैलिनेक्रम बढेपछि कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले स्याङ्जामा साउन १३ देखि २९ र भदौ ४ गतेसम्म गर्दै क्रमश १०, ७ र ७ दिन गर्दै जिल्ला बन्द लम्ब्याउँदै गएको हो । यसैबीच, प्रशासन कार्यालय स्याङजाले सबै खालका पास उपलब्ध गराउने काम पनि बन्द गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)