कोरोना संक्रमितको सम्पर्कमा आएका २ सय २९ जनाको स्वाब संकलन
कपिलवस्तु : जिल्ला सदरमुकाम तौलिहवामा कोरोना संक्रमितको संख्या बढ्न थाले पछि संक्रमितको सम्पर्कमा आएका घर परिवार तथा आफन्तजनको कोरोना परीक्षणका लागि नमूना स्वाब संकलन गरिएको छ ।
शुक्रबार तौलिहवास्थितश्री बुद्ध पद्म माविमा २ सय २९ जनाको स्वाब संकलन गरिएको कोरोना फोकल पर्सन कुमार थापाले बताए । संकलन गरिएको नमूना स्वाब बुटवलस्थित प्रादेशिक अस्पताल पठाइएको छ ।
नमूना स्वाब दिन बुधबार कोरोनाका कारण मृत्यु भएका व्यवसायी कृष्णकुमार अग्रहरीको परिवार तथा आफन्तजन र कोरोना संक्रमित भइ हाल उपचारमा रहेका अन्य व्यक्तिका परिवार तथा आफन्तजन आएका थिए । दिनहुँजसो कपिलवस्तु जिल्लामा संक्रमितको संख्या थपिँदै गएको छ ।
जिल्ला सदरमुकाम तौलिहवाको विभिन्न क्लष्टरमा कोरोना संक्रमण देखिएको र कोरोना संक्रमण फैलन नदिन क्लष्टर अनुसार नै कोरोना परीक्षणको काम अघि बढाइएको स्वास्थ्य कार्यालयका कोरोना फोकस पर्सन कुमार थापाले बताए ।
कोरोना संक्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भइसकेको छ । ३ जना गम्भीर अवस्थामा विभिन्न अस्पतालमा उपचार गराइ रहेका छन् । जिल्लमा हालसम्म ९ सय १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस !