निषेधाज्ञा हुने हल्लाले बजारमा किनमेल गर्नेको भीड
पोखरा : पोखरामा समुदायमा कोरोना संक्रमित भेटिन थालेपछि पून: लकडाउन गर्ने बहस चलेको छ । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बिहान बसेको बैठकले सोमबार राति १२ बजेबाट एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको थियो। स्थिति हेरेर निषेधाज्ञा थप्ने /नथप्ने निर्णय गर्ने पनि बताइएको थियो।
कोरोना संक्रमण रोकथाम मूल समितिको यही निर्णय सार्वजनिक भएसँगै आवश्यक सामान जोहो गर्न पोखराका मुख्य बजार महेन्द्रपुल, चिप्लेढुङ्गा, पृथ्वीचोक लगायतका बजारमा भिड लागेको हो।
यही निर्णय महानगरपालिकाले प्रदेश सरकारमा लग्यो। तर प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि एक हप्ताकालागि महानगरपालिकामा लगाउने निषेधाज्ञालाई अनुमति दिएन। यस विषयमा मंगलबा फेरि बैठक बसेर निर्णय गरिने गरी आजको बैठक टुंगिएको पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले बताए।
लकडाउन खुलेसँगै बहिरी जिल्लाबाट पोखरा आवतजावत गर्ने क्रम बढ्यो। यसैको कारण संक्रमितको दर निरन्तर उकालो लागेको मात्र होइन समुदायमै कोरोना फैलिएको छ। पोखरामा आइतबार २२ जनामा, शनिबार १२ जनामा कोरोना पुष्टि भएको थियो। सोमबार बिहानसम्म पोखरामा संक्रमितको संख्या २ सय ४ पुगेको छ। १ सय २५ जना निको भएर घर फर्केका छन्। पोखराका १ जनाको मृत्यु भएको छ।
गण्डकी प्रदेशभर १७ सय ३४ जनामा कोरोना पोजिटिभ देखिएकाका छन्। तीमध्ये १५ सय २९ जना निको भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले बताएका छन्। प्रदेशमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस !