बीपीमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित बिरामीका लागि प्लाज्मा थेरापी सुरु गरिएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा चिकित्सकले सोमबार राती धरानमा पहिलो पटक प्लाज्मा थेरापी सुरु गरेका हुन् ।
प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका धरान ८ का ६७ वर्षीय पुरुषलाई प्लाज्मा थेरापी गरिएको प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. संजिवकुमार शर्माले जानकारी दिए। कोरोना भाइरस संक्रमणबाट निको भएका मोरङको सुन्दर हरैचा नगरपालिकाका एक युवाले प्लाज्मा दान गरेपछि संक्रमित वृद्धलाई प्लाज्मा चढाइएको डा. शर्माले बताए ।
प्लाज्मा थेरीपी गर्न कोरोना संक्रमणबाट निको भएका व्यक्तिको रगत आवश्यक पर्दछ । कोरोना निको भएका व्यक्तिको शरीरमा भाइरससँग लड्न एन्टिबडी उत्पादन भएको हुनाले प्लाज्मा छुट्याएर संक्रमित बिरामीलाई प्लाज्मा चढाइएको डा. शर्माले बताए ।
संक्रमित भएर निको भएका व्यक्तिको शरिरमा बनेको एन्टिबडी संक्रमित व्यक्तिलाई प्लाज्मा चढाउँदा कोरोना भाइरसलाई मार्ने र संक्रमित व्यक्ति निको हुने डा. शर्माले बताए । उनले कोरोना जितेर घर फर्कएकालाई आफ्नो प्लाज्मा दान गरी अन्य बिरामीको जीवन रक्षा गर्न सबैमा अनुरोध गरेका छन् ।
कोरोना भाइरस संक्रमित जसको रोग प्रतिरोधात्मक क्षमता कम छ त्यस्ता बिरामीलाई प्लाज्मा थेरापी गर्दा निको पार्न सहज हुने डा. शर्माले बताए। उनले प्रतिष्ठानको सम्पर्कमा आएर प्लाज्मा दान गर्न आव्हान गरेका छन् । यस अगाडि विराट नर्सिङ होमका संचालक डा. ज्ञानेन्द्र कार्कीलाई पनि प्लाज्मा थेरामी गरिएको थियो । उनी हाल कोरोनामुक्त छन् ।
प्रतिक्रिया दिनुहोस !