धरानमा कोरोनाले एक महिलाको मृत्यु
धरान : कोभिड–१९ को संक्रमणका कारण धरान उपमहानगरपालिका वडा नम्बर १५ की एक महिलाको मृत्यु भएको छ। गत साउन २४ गते बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी ७१ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान ११:३० बजे निधन भएको हो।
दम र मुटुको बिरामी भएकी उक्त महिलामा साउन २३ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको बीपी प्रतिष्ठानका डा. निदेश सापकोटाले बताए। उनले मृतकको शव व्यवस्थापनका लागि पहल भैरहेको बताएका छन्।
मृतक महिला कोरोना संक्रमित भएपछि बुहारी र नातिसँगै प्रतिष्ठान भर्ना भएकी थिइन्। धरानमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढि रहेको छ। संक्रमितको संख्या वृद्धि भएपछि धरान उपमहानगरपालिकाले भदौ १० गतेसम्म लकडाउन थपेको छ।
प्रतिक्रिया दिनुहोस !