‘हाउगुजी’ रहेनछ कोरोना
बुटवल : बुटवल उपमहानगरपालिका–११ निवासी एक शिक्षकको परिवारका चार सदस्यमध्ये आमा, बुवा र छोरामा कोरोना संक्रमण देखियो तर छोरीमा भने देखिएन। एक आफन्तमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूले कन्ट्याक्ट ट्रेसिङमा स्वाब परीक्षण गराएका थिए।
‘सुरुमा डर लाग्यो, ज्वरो पनि आउला जस्तो भयो’, ती शिक्षकले भने,–‘नतिजा पोजेटिभ आएपछि भने डर हरायो।’ छोरीबाहेक तीनै जनामा संक्रमण देखिएपछि उनीहरू घरमै बसे। छुट्टाछुट्टै शौचालय प्रयोग गरी फरक कोठामा बस्न थाले।
कोरोना पोजेटिभ देखिएपछि अन्य आफन्त भने त्रासमा थिए। तर उनीहरू तनावमा थिएनन्। ‘यो त जति डरायो, त्यति कमजोर बनाउँदै लैजाने भाइरस पो रहेछ’, ती शिक्षक भन्छन्– ‘बेकार हाउगुजी बनाइएको रहेछ। बरु रुघाखोकीले गलाउँथ्यो।’
शिक्षकको परिवारमा संक्रमण देखिएको दुई साताभन्दा धेरै भयो। उनीहरू घरबाहिर निस्किँदैनन्। खाद्यान्नलगायत अन्य उपभोग्य वस्तु आवश्यक परे आफन्तले घरैमा लगिदिन्छन्। उनीहरू बिहान उठेर व्यायाम गर्छन्। गीत बजाएर नाच्छन्। गुर्जो, अमला, कागती, बेसारपानी खान्छन्। चिसो केही खाँदैनन्।
‘घरमा दूध ल्याइदिनेले ल्याउनै छाडिदिए। एकाध छिमेकीले गलत कुरा काटेछन्। उनले अनुभव सुनाए,– ‘कोरोनाभन्दा डरलाग्दो समाज देखेर चिन्ता लागेको छ।’ आफूलाई निको हुन्छ भन्ने आत्मविश्वासका साथ इम्युनिटी बढाउने खानेकुरा खाए कोरोना जित्न जटिल नभएको उनको अनुभव छ।
कोरोना संक्रमण र निको हुने दरको तथ्यांकले पनि उनको अनुभवलाई पुष्टि गर्छ। बुटवलको कोरोना विशेष अस्पतालमा पछिल्लो साता पाँच जनाको मृत्यु भयो। मृतकमध्ये सबै दीर्घरोगी र अन्य रोगबाट समस्याग्रस्त हुन्। कोरोना विशेष अस्पतालका फोकलपर्सन डा. सुदर्शन थापा भन्छन्–‘दीर्घरोगी र ज्येष्ठ नागरिकलाई अलि धेरै जोखिम हुन्छ।’ संक्रमितमध्ये अधिकांशमा लक्षण छैन। केहीमा सामान्य ज्वरो छ। दीर्घरोगी मात्रै आईसीयूमा पुगेका छन्।
बुटवल–११ कै अर्का एक पुरुषमा कोरोना संक्रमण देखियो। उनका सम्पर्कमा रहेका परिवारका सदस्यको स्वाब परीक्षणले आमा, श्रीमती र बहिनीमा समेत संक्रमण भयो। संक्रमण देखिएपछि टोल समितिले उनको घरअगाडि डोरी नै टाँगेर प्रवेश निधेष गर्यो। ‘कोरोना संक्रमणभन्दा पनि समुदायले किन अभद्र व्यवहार गर्यो भन्ने कुराले चिन्तित छु, ती पुरुषले भने। बुटवलमा केही संक्रमितलाई छिमेकीहरूले लखेटेरै आइसोलेसन केन्द्रमा जान बाध्य बनाए। एक महिला दुई नाबालक शिशुसमेत बोकेर जान बाध्य भइन्। संक्रमण नभएका ती १ र ६ वर्षे बालकमा आइसोलेसनमा पुगेपछि कोरोना संक्रमण भएको छ।
बुटवलमा कोरोना संक्रमितमध्ये १ सय ९० जना सक्रिय हुन्। तीमध्ये १ सय ४५ जना घरकै आइसोलेसनमा बसेका छन्। घरमै बसेकालाई ट्रेसिङ गरिएन भन्ने चिन्ता छ।
औषधि बोकेर घरघरमा जनप्रतिनिधि
बुटवलका जनप्रतिनिधिले नौलो अभ्यास थालेका छन्। कोरोनाका बिरामीका लागि कुनै औषधि छैन। तर आत्मबल र रोग प्रतिरोधात्मक क्षमता भने बढाउन सकिन्छ। त्यही उद्देश्यसहित नगर प्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमादेवी आचार्य पालैपालो संक्रमितको घरमा पुग्छन्।
‘केही आयुर्वेद औषधि छन्, ती पनि पुर्याउँछौं। उहाँहरूसँग कुरा गछौं, उपप्रमुख आचार्यले भनिन्,–‘घरमा एक्लै बसिरहेकाहरूमा एकैछिन भए पनि हौसला मिलेको छ।’ कोरोना संक्रमितको आत्मबल बढाउनुबाहेक अरू विकल्प नभएकाले आफूहरूले यो अभियान थालेको उनले बताइन्।
बुटवलको देवीनगरमा आइसोलेसन सेन्टर छ। जहाँ ४१ जना लक्षण नभएका संक्रमित छन्। उनीहरूलाई पनि नचाउने, योगा सिकाउने काम नगरपालिकाले गर्दै आएको छ। आर्युवेद औषधि खान दिँदा रोगप्रतिरोधात्मक क्षमता बढ्ने भएकाले तीसमेत वितरण गर्ने गरिएको छ।
बुटवल उपमहानगरका कोरोना फोकल पर्सन कुन्दनकुमार सिंहले व्यक्तिगत दूरी कायम र माक्स मात्रै लगाउने हो भने कोरोनाबाट डराउनु नपर्ने बताउँछन्। ‘मान्छे–मान्छे अलि टाढा रहने र मास्क लगाउने हो भने कोरोना सर्दैन , उनी भन्छन्,– ‘समाजमा अनावश्यक हाउगुजी बनाएर स्वास्थ्यकर्मी, संक्रमितमाथि अभद्र व्यवहार गरिएको छ। यो गलत हो।’ बुटवलमा कोरोना संक्रमितमध्ये ४५ जनाले १४ दिन अवधि पार गरेर निको भइसकेका छन्। ९५ प्रतिशतको अवस्था सामान्य छ।
प्रतिक्रिया दिनुहोस !