अर्घाखाँची अस्पतालका सबै सेवा सूचारु

सन्धिखर्क : अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बन्द गरिएको सम्पूर्ण स्वास्थ्य सेवा आइतबारदेखि सूचारु भएको छ । अर्घाखाँची अस्पताल परिसरमा रहेको स्वास्थ्य कार्यालयमा कार्यरत २ जना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि सोमबारदेखि इमरर्जेन्सी र प्रसूति सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको थियो।
कोरोना आशंकामा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि सेवा सूचार गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए।
लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा गत सोमबार स्वाब संकलन गरि पठाइएको थियो। आइतबार २ जना स्वास्थकर्मी, १ जना सञ्चारकर्मी, १ जना कार्यालय प्रमुख गरी १३ जनामा संक्रमण पुष्टि भएको थियो ।
संक्रमितको सम्पर्कमा आएका १ सय ११ जनाको स्वाब संकलन गरी सोमबार पठाइएको मध्ये ९७ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए । अब १४ जनाको रिपोर्ट आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस !
