कपिलवस्तुको चन्द्रौटामा ३० बेडको आइसोलेसन सेन्टर
कपिलवस्तु : शिवराज नगरपालिकाले चन्द्रौटामा ३० वेड क्षमताको आइसोलेसन सेन्टर निर्माण गरेको छ । नगरपालिका क्षेत्र र आसपासका कोरोना संक्रमितको सघन रुपमा उपचार गर्नका लागि आइसोलेसन सेन्टरको निर्माण गरिएको नगर प्रमुख नेत्र राज अधिकारीले बताए ।
जिल्लामा कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा आ-आफ्ना स्थानीय तहले सम्भव भएसम्म आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय भएको थियो ।
सोही अनुसार २ महिनाभित्र शिवराज नगरपालिकाले नगरपालिकाको तर्फबाट ७२ लाख रुपैयाँ र यूनिसेफको १३ लाख रुपैयाँ सहयोग गरी करीब ८५ लाखको लागतमा आइसोलेसन सेन्टर निर्माण कार्य पूरा गरेको नगर प्रमुख अधिकारीले बताए ।
शिवराज नगरपालिकाका कोरोना संक्रमितहरुलाई बुटवलस्थित आइसोलेसन सेन्टरमा पठाउँदा राख्ने ठाउँ नहुँदा फर्काउनु परेको पीडा म कहिल्यै बिर्सन्न, नगर प्रमुख अधिकारीले भने, 'अब यस क्षेत्रका कोरोना संक्रमितहरुलाई उपचार गर्न सहज हुनेछ, यसमा हामी निकै खुशी छौं ।' आइसोलेसन निर्माणमा सहयोग गर्ने सवैमा नगर प्रमुख अधिकारीले धन्यवाद दिँदै कोरोना विरुद्धको नगरपालिकाको अभियानलाई सहयोग गर्न सबै राजनैतिक दलका प्रतिनिधि, संघ संस्था र नगरवासीहरुमा अपील समेत गरेका छन् ।
आइसोलेसन सेन्टरमा कोरोना संक्रमितहरुका लागि अक्सिजनसहितका ६ वटा विशेष कोठाहरु छन् । यसका अतिरिक्त स्वास्थ्यकर्मी तथा स्टाफहरुका लागि थप ३ वटा कोठाहरु निर्माण गरिएका छन् ।
यहाँ आएका लक्षणसहितका संक्रमितका लागि ४ वटा वेडसहितको सघन कक्ष निर्माण गरिएको छ । यसमा अक्सिजनलगायत आवश्यक पर्ने उपकरणहरुको व्यवस्थापन गरिएको स्वास्थ्य संयोजक चुरामणी भट्रराईले बताए ।
सेन्टरमा राखिएका संक्रमितको जटिल समस्या देखिए मात्रै बुटवलस्थित कोरोना विशेष अस्पतालमा पठाउँछौं, स्वास्थ्य संयोजक भट्टराईले भने, 'नगर क्षेत्रका प्राय सबै कोरोना संक्रमितलाई यहीबाट हामी सन्चो पार्छौ ।'
आइसोलेसन सेन्टरमा ४ जना स्वास्थ्यकर्मी, २ जना सुरक्षाकर्मी र २ जना स्वीपर खटाइएको छ । सेन्टरका हरेक गतिविधि सिसिटीभी क्यामेराबाट निगरानी हुन्छ । संक्रमितलाई सहज ढंगले समय विताउन सजिलो होस् भन्नका लागि फ्री वाईफाई सेवा प्रवाह गरिएको छ ।
शिवराज नगरपालिकामा हाल सम्म १ सय २८ जना कोरोना संक्रमित भएकोमा १ सय २५ जना उपचार पछि निको भइसकेका छन् । हाल ३ जनामा मात्र संक्रमण रहेको नगरपालिकाले जनाएको छ ।
शिवराज नगरपालिबाट चन्द्रौटामा निर्माण गरिएको नवनिर्मित कोरोना आइसोलेसन सेन्टर ।तस्बिर : अन्नपूर्ण
प्रतिक्रिया दिनुहोस !